२०० पटक विषालु सर्पले डस्दा पनि जीवित छन् यी युवक

एजेन्सी– प्रत्येक पाँच मिनेटमा विश्वको एउटा कुनामा सर्पले डस्दा एक जनाको मृत्यु भइरहेको हुन्छ । यही समयमा अन्य चार जना गम्भीर घाइते र स्थायी रुपमा अपाङ्ग हुने विभिन्न अध्ययनले देखाएका छन् । 

तर, यही संसारमा एक युवा यस्ता पनि छन् जो सर्पसँग खेल्छन् । अथवा उनलाई सर्पले डस्दा अहिलेसम्म खासै केही भएको छैन । त्यो पनि २ सय विषालु सर्पले डस्दा । त्यस्ता व्यक्ति हुन्, अमेरिकाका टिम फ्रिडे । उनी त विषालु सर्पलाई आफैंले डसाउँछन् र भिडियो बनाएर युट्युबमा अपलोडसमेत गर्छन् । 

एउटा यस्तै भिडियोमा माम्बा नामको सर्पलाई उनले दुई पटक डसाएका छन् । तर, उनी क्यामेरासँग कुरा गरिरहेका छन् । उनको हातबाट रगत निस्किएको छ तर उनलाई त्यसको कुनै वास्ता छैन ।

बरु उनी नै भनिरहेका छन्, ‘माम्बा नामको यो सर्पले डस्दा तत्काल निकै ठूलो दुखाइ हुन्छ । यस्तो लाग्छ कि हजारौँ अरिङ्गालले टोकेका हुन् । अरिङ्गालमा त एक वा दुई मिलिग्राम विष हुन्छ तर माम्बामा कम्तिमा पनि ३ सय वा पाँच सय मिलिग्राम विष हुन्छ ।’

तर, टिमको बायाँ हात विस्तारै सुनिएको थियो । ‘मलाई दुखेको पनि थियो,’ टिमले भनेका छन् ।

टिमलाई एउटा आरोप लागेको छ– उनी आफ्ना प्रशंसक बढाउन यस्तो गरिरहेका छन् । तर, टिमले यसलाई अस्वीकार पनि गरेका छन् । बरु उनले भनेका छन्, ‘म युट्युब भिडियो बनाउन यस्तो गर्दिनँ, म मानिसहरुको जीवन बचाउन चाहन्छु र एउटा परिवर्तन होस् भन्ने चाहन्छु ।’



सर्पहरुको करिब तीन हजार प्रजाति हुने विश्वास लिइएको छ । यसमध्ये करिब २ सय सर्पहरु विषालु हुन्छन् । जसले डस्दा मानिसको मृत्यु हुन्छ वा उनीहरु सधैंका लागि अपाङ्ग हुन्छन् । तर, यस्ता धेरैजसो सर्पबाट आफूलाई डसाएका छन्, टिमले । 

उनले बितेका २० वर्षमा दुई सयभन्दा धेरै पटक सर्पहरुबाट डसाएका छन् । अनि आफूलाई ७ सयभन्दा धेरै पटक विषालु इन्जेक्सन पनि दिएका छन् ।



सर्पले डसाउने यी टिमले भनेका छन्, ‘यो निकै खतरानक हो । विष तपाईंको रगतमा मिसिएपछि नसोचेको नतिजा आउँछ, फोक्सो र अन्य अंगले नै काम गर्न छाड्छन् ।’

टिमले आफ्नो घरपछाडि नै कयौँ विषालु सर्प पालेर राखेका छन् । उनी भन्छन्, ‘मसँग अफ्रिकामा पाइने वाटर कोब्रा पनि छ । यसले डस्दा निकै दुख्छ । निकै समस्या पनि पर्छ ।’

५१ वर्षका टिम पहिले ट्रक चलाउँथे । उनलाई सर्पले टोक्ने सम्भावनाका कारण निकै डर हुन्थ्यो । त्यसैले उनले यो असामान्य प्रयोग गर्न थालेका हुन् ।

‘अब म यो संसारमा पाइने सबै विषालू सर्पले डस्दा पनि बाँच्नेछु,’ टिमले भनेका छन्, ‘मैले आफ्नो शरीरलाई सबैभन्दा विषालू सर्पले टोक्दा पनि प्रतिरक्षा गर्ने बनाएको छु ।’ उनले त अरुको शरीरभन्दा आफ्नो शरीरले दुई गुणा बढी विष सहन सक्ने दाबी पनि गरेका छन् । त्यसो त उनले यो कुरा ल्याबमा प्रमाणित भएको पनि बताएका छन् ।

  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार २१:३७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया