पुरुष क्रिकेट हुँदा भरिभराउ टियु ग्राउन्ड महिला लिगमा पिन ड्रप साइलेन्स !

काठमाडाैं– त्रिभुवन विश्वविद्यालयको क्रिकेट ग्राउन्ड । नेपाली क्रिकेट प्रेमीलाई यो स्थानको धेरै माया छ, पक्कै पनि धेरैले यो ग्राउन्डका आआफ्ना कथाहरु बटुलेका छन् । 

एउटा समय हुन्छ, जब यहाँ पुरुष क्रिकेट हुन्छ, तब टिकट पाउन पनि हम्मे हम्मे पर्छ । अनि मिडियामा छापिन्छन् वरपरका रुखमा चढेर क्रिकेट हेरिरहेका क्रिकेट प्रेमीका तस्वीरहरु । 

हजारौँ दर्शकलाई एकैपटक क्रिकेटको मायामा पार्न सक्ने यो क्रिकेट मैदानमा कुनै खेल भइरहेको छ तर औंलामा गन्न सकिने दर्शकमात्र छन् भन्दा कसलाई विश्वास होला र ? 

विश्वास नगर्नुको कुनै अर्थ छैन । किनकि अहिले यही मैदानमा महिला च्यम्पियनसिप लिग सुरु भएको छ । अनि जति खेलाडी र आयोजक छन्, त्यहाँभन्दा दुईचार जनाबाहेक अरु दर्शक नै छैनन् । 

बरु आयोजकले त्यहाँ सहज बनाएको छ । पुरुष क्रिकेट हेर्न पुग्दा टिकट काट्नु पर्ने यही मैदानमा महिला क्रिकेट हेर्न जाँदा निःशुल्क प्रवेश पाइन्छ । तैपनि महिला च्याम्पियनसिप लिगमा दर्शक छैनन् । 

बुधबार दिउँसो च्याम्पियनसिपको पहिलो खेल चलिरहेको थियो । हामी मैदानमा पुग्यौँ । दर्शकदीर्घामा वरपर हेर्दा दर्शक नै देखिएनन् । 



‘आज बिदाको दिन पनि होइन, त्यसैले पनि हुनसक्छ,’ त्यहाँ क्रिकेट हेर्न पुगेका अभियान श्रेष्ठले भने, ‘आफ्नै मैदानमा महिला क्रिकेट हेर्न पाउँदा मलाई पनि खुसी त लागेको छ । तर, दर्शक नै नहुँदा अलिक खल्लो हुँदो रहेछ ।’



हुन पनि क्रिकेट त्यस्तो खेल हो, जहाँ जब चौका र छक्का प्रहार हुन्छ, दर्शकबाट आउने हुटिङले त्यसलाई अझ सानदार बनाइदिन्छ । अथवा बोल्ड हुँदा वा विकेट जाँदा नै किन नहोस्, दर्शकदीर्घाको हुटिङले माहोल नै फरक बनाइदिन्छ । 

तर, बुधबार अभियानसँग हुटिङ गर्ने दर्शक त्यहाँ खासै कोही थिएनन् ।

औंलामा गन्न सकिने केही दर्शकमध्ये एक थिए, विशाल अधिकारी । ‘भर्खर सुरु भएको हो यो महिला लिग,’ उनले भने, ‘तर, आजको खेलमा पनि यति थोरै दर्शक आउनु त निराशाजनक नै हो नि ।’ 

  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १६:३१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया