यो तिहारमा नेपाली महिला क्रिकेट कप्तान रुबिनालाई दिँदैछन् दाइले सप्राइज

नेपाली क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री यसपटक तिहार आएसँगै फुरुङ्ग बनेकी छिन् । पहिलो पटक नेपालमा आयोजना गरिएको महिला लिग च्याम्पियन्समा रुबिना तिहारको मुखैमा प्लेयर अफ द टुर्नामेन्ट पनि भएकी थिइन् । अनि उनले नेतृत्व गरेको टिम क्याट क्विन्स काठमाडौं दोस्रो पनि भयो । 

सधैं खेलको सफलताले रुबिनालाई जति खुसी दिन्छ, यसपटक तिहारले उनलाई अझ बढी खुसी दिँदैछ ।

किनकि रुबिना यसपटक आफ्ना दाइसँग तिहार मनाउँदै छिन् । ‘दुई वर्ष भयो दाइसँग तिहार मनाउन नपाएको,’ रुबिनको आवाजमा नै अहिले दाइसँग तिहार मनाउन पाउँदाको खुसीयाली प्रष्ट बुझ्न सकिन्छ, ‘यसपटक त दाइ आउनु भएको छ, तिहारको मज्जा नै बेग्लै हुन्छ ।’ 

रुबिनाका दाइ वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका थिए । उनी तिहारकै लागि भने काठमाडौं आउने थाहा पाएपछि नै रुबिनाको यो खुसी पलाएको हो । 

‘फेरि तिहार भनेकै भाइटीका हो नि,’ रुबिनाले भनिन्, ‘यसअघिका दुई वटा तिहार दाइ विदेश भएकाले मनाउन पाएकी थिइनँ, यसपटक त दाइ आउनुभयो, खुसी लागेको छ ।’

यतिमात्र होइन, रुबिनाले यसपटक विशेष खुसी हुनुको अर्को कारण पनि खोलिहालिन् । भनिन्, ‘यसपटक त दाइले सप्राइज दिन्छु पनि भन्नुभएको छ । यसले सुनमा सुगन्ध थपेको छ, सप्राइज के होला भनेर सोच्न थालिसकेकी छु ।’



रुबिनालाई खासमा दशैंभन्दा तिहार बढी मनपर्छ । ‘सबैतिर झिलिमिली, सबैको घरमा फूल र बत्ती, देउसी भैलोका गीत र त्यो माहोलले गर्दा पनि मलाई निकै रमाइलो लाग्छ,’ रुबिनाले भनिन्, ‘अझ तिहार त हिंसारहित पर्व हो । यसले जनावरलाई बुझ्न पनि सहयोग गर्छ । त्यसैले पनि मलाई तिहार अझ बढी मनपर्छ ।’ 

अहिले महिला क्रिकेट टिम सागको तयारीमा जुटिसकेको छ । तर, नेपाली महिला टिमले तिहारका लागि तीन दिन छुट्टी पाएको छ । त्यसैले, यसपटकको तिहारमा थप खुसी हुने मौका पाएको रुबिनाले सोचेकी छिन् । ‘तर, सानोको जस्तो खुसी त के भइन्थ्यो र ?’ रुबिनाले भनिन्, ‘सानोमा त दाइबाट दक्षिणा पाइन्छ भन्दैमा खुसी भइन्थ्यो, अहिले चाहिँ भेटघाट हुने मौका मिल्ने भएकाले नै खुसी लाग्छ ।’ बाल्यकालका तिहारका अनेक सम्झना छन्, रुबिनासँग । तर, उनी तिहारमा कहिल्यै पनि देउसी भैलो खेल्न गइनन् । 



‘देउसी भैलो राती खेल्थे,’ उनले भनिन्, ‘मलाई घरबाट नै निस्किन दिनुहुन्थेन । मैले त सानोमा देउसी भैलो नै खेलिनँ ।’

बरु तिहारमा चाहिँ रुबिना सेल रोटी पकाउन अगाडि बढिहाल्छिन् । ‘आमाकै जस्तो सेलरोटी बनाउन नआए पनि प्रयास चाहिँ गर्न छाड्दिनँ,’ रुबिनाले भनिन्, ‘अनि आफूले पकाएको राम्रो हुँदैन, आमाहरुले पकाएको नै खान्छु र चित्त बुझाउँछु ।’

पछिल्लो समय नेपाली समाजमा तिहार मनाउने चलन पनि भड्किलो बन्दै गएको रुबिनाको बुझाइ छ । यसमा नै उनको गुनासो पनि छ । ‘यो त प्रतिस्पर्धा जस्तो पो बन्न थालेको छ,’ रुबिनाले भनिन्, ‘यो राम्रो होइन । हामीले विकृति हटाउँदै मौलिक परम्परालाई बढी ध्यान दिनुपर्छ ।’

  • प्रकाशित मिति : कात्तिक ९, २०७६ शनिबार ७:५८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया