ललितपुर - नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ‘एक मधेस एक प्रदेश’मा जान नहुने बताएका छन् । गोदावरी नगरपालिकाले आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा’ बाेल्दै गच्छदारले मुलुकलाई विभाजन गर्न नहुने बताए ।
उनले भने, 'मभन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेस हो । मधेसभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन ।'
आफू थारु र जनजातिको हकमा लडेको मान्छे भएकाले समग्र मुलुकको हितमा लड्नुपर्छ भनी यस पार्टीमा लागि परेको बताए । गच्छदारले भने, 'यस पार्टीमा रहेर महँगी र भ्रष्टाचारलगायत नियन्त्रण गर्न रचनात्मक भूमिका निर्वाह गर्दै छु ।'
गत चुनावमा नेपाली कांग्रेसले हार बेहोरेकोमा आगामी चुनावमा विजय हासिल गर्न लागिपरेको उनले जानकारी दिए । गच्छदारले आफ्ना कार्यकर्तालाई उच्च मनोबल र दृढताका साथ प्रजातान्त्रिक लोकतन्त्रमा अघि बढ्न आग्रह गरे ।
ललितपुर कांग्रेस सभापति मदनबहादुर अमात्यले पञ्चायती र व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर लोकतान्त्रिक प्रवृत्तिमा लाग्न कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले पनि शुभकामना व्यक्त गरेका थिए ।
नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सबै नगरवासीको साथमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सो नगरपालिकाका उपप्रमुख मुना अधिकारीले नेपाली कांग्रेसको जागरण अभियानले मुलुकमा ऊर्जा भरेको दाबी गरिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।