Wed, 13 Nov, 2019


कमनरकाे कथा
[कमनरको कथा] नातीले बारम्बार भन्छ– अब नाङ्लोमा बदाम नबेचे हुन्न आमा !
मनिषा पाैडेल
फरकधार / कात्तिक १८, २०७६

मेहेजु शाहीले सानैदेखि ‘ठूला’ सपना बनाइनन् । उनको घरमा खान लाउन नपुग्ने थिएन । बाबुआमा र दाजुभाउजू किसान थिए । उनीहरुसँगै उनी पनि खेतबारीमा काम गर्न थालिन् । 



तर, यो क्रम उनी १६ वर्षको हुँदासम्म मात्र रह्यो । 

त्यसपछि ? 

त्यसपछि मेहेजुको विवाह भयो । जीवनमा अनेक टर्निङ आए, सुखदुःख बराबरी भए । तर, पनि मेहेजुले ठूला सपना देखिनन् । घरमा खानलाउने वातावरण भए पुग्छ भन्ने सोच नै उनको अन्तिम सोच रहिरह्यो । 

फेरि विवाहपछि किसानी गर्न उनको श्रीमानको खेतबारी थिएन ।

च्यामासिङमा जन्मिएकी मेहेजुको सिद्धपोखरीमा विवाह भयो । मध्यमवर्गीय परिवारमा जन्मिएकी मेहेजुले त्यसपछि अभावको सामना गर्न थालिन् । ‘माइतीमा जस्तो पुग्दो खेतबारी थिएन घरमा,’ सिद्धपोखरीमा घुमफिर गर्न आउनेका लागि नाङ्लोमा बदाम र मकै, चना र पानीपुरी लिएर बेच्न बसेकी मेहेजुले विगत स्मरण गरिन्, ‘सानो हुँदा त केही पनि अभाव भएन, विवाह भएपछि चाहिँ अभाव भनेको के हो भन्ने थाहा भयो ।’

तर, यसलाई सहज रुपमा लिइन् मेहेजुले । किनकि उनका श्रीमान र उनी मिलेर पसल गरेका थिए । पसलले घरलाई पुग्दो कमाइरहेको थियो । 

नौ वर्षअघि त्यो क्रम पनि टुट्यो । मेहेजुको जीवनमा थप संघर्ष निम्तियो । उनका श्रीमानको मृत्यु भयो । 

‘मुटु रोगी हुनुहुन्थ्यो,’ नौ वर्षअघि पसल गर्दा गर्दै श्रीमान गुमाएपछि मेहेजुले जीवनमा यस्तो अनुभूत गरिन्, जुन यसअघि उनले कहिल्यै गरेकी थिइनन् । 

आँखा रसिलो बनाउँदै मेहेजुले मनमा गाँठो परेको पीडाको पोयो फुकाइन्, ‘छोराछोरीको विवाह भइसकेको थियो । बुहारी पनि घरमै थिइन्, काम नगरी बस्दा आफैंलाई नराम्रो लाग्न थाल्यो ।’ मेहेजुलाई यो नरमाइलो आफ्नो विगतले दिएको थियो, काम नहुँदा महसुस हुने त्यो दिग्दारीले दिएको थियो जसले उनी आफैंलाई कमजोर बनाइरहेको आभास गराएको थियो । उनी बुहारीसँग ‘पकेट खर्च’ माग्न सक्दिनथिन्, पहिले पसल गरिरहेको सानलाई झट्ट बिर्सन सक्दिनथिन् । यही कुराले उनलाई झस्कायो । 

अनि एक दिन उनी नाङ्लो लिएर बजारमा निस्किइन् । भटमास र चना किनिन्, प्याकेट बनाइन्, नाङ्लोमा राखिन् अनि बेच्न थालिन् ।

खासमा यो व्यापार गर्न मेहेजुको मनले मान्थेन । तर, उनी बाध्य भइन् । ‘खेती गर्ने जग्गा भएको भए त्यतै भुल्थेँ होला,’ मेहेजुले भनिन्, ‘खेती गर्ने जग्गा भएन, ठूलो पसल गर्ने आँट भएन, त्यसैले यो नाङ्लो व्यापार सुरु गरेँ ।’

मनले नमानी नमानी सुरु गरेको यही व्यापारले पनि मेहेजुलाई अहिले सन्तुष्ट बनाएको छ । व्यापार राम्रो भएको छ, असनसम्म पुगेर उनी आफैं सामान ल्याउँछिन् ।

अनि विस्तारै यो पसललाई पनि उनी एक्सपान्ड गर्दै छिन् । कहिले यसमा नयाँ नयाँ आइटम थप्छिन् त कहिलेकांही एउटै आइटमलाई सबैभन्दा बढी बिक्री गर्छिन् । 

‘पछिल्लो पटक चटपटे र पानीपुरी थपेँ,’ उनले भनिन्, ‘ग्राहकको रुचिलाई ध्यान दिनु पर्यो नि ।’

अनि आफैं मुसुक्क हाँसिन्, मेहेजु । अनि थपिन्, ‘फेरि यो पानीपुरी र चटपटेमा लगानी थोरै हुन्छ, फाइदा धेरै हुन्छ ।’ र, पानीपुरी र चटपटे शनिबार सबैभन्दा बढी बेच्छिन्, मेहेजु । 

‘अरु दिन तीन चार सयको व्यापार भयो भने शनिबार,’ एकैछिन रोकिएपछि मेहेजुले भनिन्, ‘आठ नौ सयको व्यापार हुन्छ ।’

यति भनिसकेपछि मेहेजु आफ्नो वरपर भएको सामान मिलाउन लागिन् । पानीपुरी राखिएको प्लास्टिकलाई अझ कसिन्, पैसा राख्ने सानो बाकसलाई छामछुम पारिन् । 

फेरि यता फर्किएर भनिन्, ‘मलाई नेपाली बोल्नै आउँदैन, नेवारीमा कुरा गर्दा हुन्छ ?’

खासमा मेहेजुले यो ठाउँमा खासै धेरै नेपाली बोल्दै पर्दैन । उनका अधिकांश ग्राहक कुराकानी गर्ने खालका हुँदैनन् । झटपट चटपट खाएर उनीहरु फर्किहाल्छन् । 

‘ल, ल नेपालीमै भन्छु,’ मेहेजु फेरि हाँसिन्, दुवै हातले कपाल मिलाइन् अनि भनिन्, ‘म त काम नगरी बस्नै सक्दिनँ ।’ यही कारणले पनि मेहेजुले प्रण गरेकी छिन्, हात खुट्टा चलुन्जेल उनी आफ्नो केही न केही काम गरिरहिन्छिन् । 

तर, उनको यो प्रण र चाहनामा तगारो बन्न आइपुगेका छन्, उनका आफ्नै नाती ।

उनलाई उनका नाती हरेक दिन विहान व्यापार गर्न निस्किने बेलामा भन्छन्, ‘अब नाङ्लोमा बदाम नबेचे हुन्न आमा !’ प्रत्येक दिनजसो घरमा फर्किने बेलामा पनि नातीले यही कुरा दोहोर्याउँछन् । 

यसले गर्दा मेहेजुको मनमा नरमाइलो होइन, दिग्दारी भाव उत्पन्न भएको छ । 

‘अहिले मान्छेलाई काम पनि सानो र ठूलो हुन्छ,’ उनले खुइय गर्दै भनिन्, ‘नातीले भन्छ– उसका साथीहरुसँग मैले बदाम बेच्छु भन्दा लाज हुन्छ रे !’

मेहेजुले एक शब्दमा कुराकानी अन्त्य गरेर पोकापुन्तारा कस्ने तरखर गरिन्– बदमासहरु !


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्