Sun, 15 Dec, 2019


क्यान्सरसँग लड्दा दीपिकाले भाेगेका अप्स एन्ड डाउन्स
फरकधार / कात्तिक २६, २०७६

आत्मविश्वास हुने हो भने जीवनमा जित कति नजिक छ भन्ने कुरा कसैले बुझेको छ भने पनि उसले दीपिका श्रेष्ठको जस्तो प्रष्टसँग बुझेको पक्कै छैन । किनकि त्यही आत्मविश्वास हो, जसले दीपिकाको जीवनको ट्विस्ट एन्ड टर्न्सलाई पछाडि नेपथ्यमा धकेलेर अगाडि ल्याइदिएको छ । 



दीपिका आम मानिस हुन्, तर उनको कथा आम मानिसको कथा होइन । दीपिकाको जीवनको यी मोड र भङ्गालाहरु त्यस्ता क्षण हुन् जसले आम मानिसलाई पनि उत्प्रेरित गर्न सक्छन् ।

किनकि उनले जितेकी छिन्, क्यान्सरलाई ।

२२ वर्ष पहिले खोटाङमा जन्मिएकी हुन् दीपिका । बाबु नेपाली सेनामा भएकाले उनको बाल्यकालदेखि बस्नकै लागि स्थायी ठेगाना चाहिँ भएन । बाबुको काठमाडौं ट्रन्सफर भयो, दीपिका पनि काठमाडौं आइपुगिन् ।

‘त्यति बेला म चार वर्षकी थिएँ रे,’ दीपिकाले भनिन्, ‘त्यही भएर त्यति बेलाको त कुनै पनि कुरा सम्झनामा छैन ।’

हुन त, दीपिकालाई जीवनले एउटा यस्तो मोड दिएर गएको छ कि उनी चाहेर पनि त्यो कुरालाई चाहिँ बिर्सन सक्दिनन् । र, त्यो मोड हो उनी १७ वर्षको हुँदाको ।

यतिबेला दीपिकाको जीवनमा जे भयो, त्यो त्यसअघि सोचिएको थिएन । जे सोचिएको थिएन, त्यही भयो । जे नहोस् भन्ने मनमा थियो, त्यही भयो । 

दीपिकालाई क्यान्सर भयो । याे कुरा न उनलाई, न उनको उपचारमा संलग्न चिकित्सकलाई नै थाहा भयो– दीपिकाको ओभरीमा क्यान्सर विकसित हुँदैछ । 

खासमा दीपिका त १२ कक्षाको परीक्षाको तयारीमा थिइन् । जनप्रेमी कलेजमा म्यानेजमेन्ट पढिरहेकी दीपिका आफ्नो अध्ययनलाई म्यानेज गर्न दिनरात कस्सिएकी थिइन् । 

परीक्षाको तयारी गरिरहेकै एक दिन उनको पेट सहनै नसक्ने गरि दुख्यो । परिवारमा यो कुरा भनिन् उनले । ‘त्यो सामान्य होला, ठीक भइहाल्छ नि भन्ने कुरा भयो,’ दीपिकाले भनिन्, ‘तर, पेट दुख्न रोकिएन । एक सातापछि फेरि त्यस्तै सिभियर पेन भयो ।’

दीपिकाकी आमाले त्यसपछि भनिन्– हिँड छोरी जचाउन जाऔँ ।

दीपिका आमासँग सिभिल अस्पताल पुगिन् । ‘त्यहाँ हामीले होल बडी चेकअप गर्यौँ,’ दीपिकाले भनिन्, ‘सबै रिपोर्ट नर्मल आयो ।’

तर, दीपिकाको एउटै अल्ट्रासाउन्डको रिपोर्ट चाहिँ ठिक आएको थिएन । चिकित्सकले रिपोर्ट हेर्दै भने– तपाईंको यो रिपोर्ट राम्रो छैन, तपाईं धेरै बिरामी हुनुहुन्छ । यहाँ बेडको पनि अभाव छ, तपाईं अर्को हस्पिटलमा जानुहोस् । 

दीपिकाको मनमा चिसो पस्यो । उनकी आमा र बुबा दुवै आत्तिएको जस्तो देखिए । त्यो रिपोर्ट हेरेका ती डाक्टरले दीपिकालाई ठ्याक्कै के भएको हो भनेर पनि भनेनन् । ती चिकित्सकले उनीहरुलाई अर्को अस्पतालमा जानु त भनेका थिए, तर कुन अस्पतालमा जाने भन्ने निक्र्योल दीपिकाको परिवारले लगाउन सकेन । त्यो दिन त्यहाँबाट उनीहरु घर फर्किए । 

भोलिपल्ट आफन्त पर्ने एकजनाको सल्लाहमा दीपिकाको पूरै परिवार जोरपाटीमा रहेको नेपाल मेडिकल कलेज पुग्यो । त्यहाँ फेरि सुरुदेखि नै टेस्ट गरियो । दीपिकालाई ठ्याक्कै के भएको हो भन्ने त्यो अस्पतालमा गरिएका टेस्टले पनि पत्ता लाग्न सकेन । ‘त्यहाँ डाक्टरहरुले चाहिँ मलाई सम्झाउनु भयो– हामी तपाईंको सबै रोग निकालेर फालिदिन्छौँ,’ दीपिकाले ४ वर्षअगाडि माघ ३ गतेको घटना सम्झिइन्, ‘हामी झन् अलमलमा पर्यौँ, रोग पत्ता नै लागेको थिएन, डाक्टरहरुले अपरेसन गरेर ठिक पारिदिने कुरा गर्न थाल्नुभएको थियो ।’

‘केको अपरेसन ?’ दीपिकाकी आमाले सोधिन् । 

अब बल्ल थाहा भयो, दीपिकाको रोग नै पत्ता नलगिसकेकाले चिकित्सहरु पनि दोधारमा परे । उनीहरुले कुनै जवाफ दिएनन् । 

त्यसपछि दीपिकाको परिवार र अस्पताल परिवार मिलेर केही चिकित्सकहरुलाई त्यहाँ नै बोलाए । ‘आठ नौ जना डाक्टरहरु भेटिएपछि उहाँहरुले निष्कर्ष निकाल्नुभयो– मेरो देब्रे ओभरीमा ट्युमर रहेछ ।’

त्यसपछि बल्ल दीपिकालाई महसुस भयो– उनको अपरेसन जुनसुकै कस्टमा गर्नु नै पर्छ । 

‘ओहो, त्यो दिन म कति आत्तिएँ भने,’ उनले लामो सास तानिन्, ‘अब के होला, किन यस्तो भएको होला, उपचार सफल हुने हो कि होइन, अपरेसन गर्दा केही होला कि जस्ता प्रश्न मनमा उब्जिए ।’ दीपिका यति धेरै किन पनि अत्तिएकी थिइन् भने त्यसअघि उनले सम्झिने गरि एकपटक पनि अस्पताल पुगेकी थिइनन्, अपरेसनको कुरा त परै छाडौँ ।

तर, रोग शरीरमा पालिरहनु राम्रो होइन भन्ने दीपिकालाई थाहा थियो । उनी अपरेसनका लागि तयार भइन् । 

उनको अपरेसन भयो, ओभरीको ट्युमरमात्र होइन, उनको ओभरी नै फालियो । 

‘ब्यूँझिदा त म आइसियुमा थिएँ,’ दीपिकाले भनिन्, ‘त्यसपछि मेरो अपरेसन सक्सेस भएको भन्ने थाहा पाएँ ।’

दीपिकालाई अब आफू ठिक हुने कुराले खुसी बनायो । उनले सोच्न थालिन्– अब त मेरो रोग हट्यो, म ठीक हुने भएँ । 

बेलाबेलामा आइसियुमा दीपिकालाई भेट्न आमा गइरहेकी हुन्थिन् । टिलपिल टिलफिल आँखा बनाए पनि आमा छोरी दुवैको अनुहारमा अब ठिक हुन्छ भन्ने भाव हुन्थ्यो ।

‘अब त ठिक भयो भन्ने भएको थियो,’ दीपिकाले भनिन्, ‘त्यसैले पेटमा अत्यन्त दुख्दा पनि त्यो दुखाइलाई बिर्सन खोज्थेँ ।’

अलिक ठिक भएपछि दीपिकालाई तीन दिनमा आइसियुबाट जनरल वार्डमा सारियो । त्यहाँ उनले पाँच दिन बस्नु पर्ने भयो । नवौं दिनमा उनी घरमा नै फर्किइन् । 

अस्पतालको जनरल वार्डमा बस्दा खासमा दीपिकाले धेरै बुझ्न पाइन्, जीवनप्रतिको आश फेरि जगाउन पाइन् । ‘त्यहाँ पुगेपछि मात्र मलाई थाहा भयो, मजस्ता बिरामी अरु पनि हुँदा रहेछन्,’ दीपिका पीडा भुलेर हाँसिन्, ‘अरु पनि बिरामी छन् भन्ने थाहा पाउँदा अलिक सहज महसुस हुँदो रहेछ ।’

तर, अस्पतालमा दीपिकालाई देख्दा सबैले दया देखाउन खोज्थे । उनीहरु भन्थे– विचरा यो उमेरमा नै रोग लाग्यो तिमीलाई ? सुरुमा यस्ता प्रश्न सुन्दा दीपिकालाई रिस उठ्थ्यो । तर, विस्तारै उनले यसलाई पनि बुझ्न थालिन् । अनि त अरु सबै बिरामीलाई पनि आफ्नो परिवारजस्तै सोच्न थालिन् । 

पेटमा २४ वटा टाँका बोकेर अस्पतालबाट घर फर्किइन् दीपिका । उनमा आत्मविश्वास निकै बढिसकेको थियो । ‘विस्तारै ठिक हुँदै छ भन्ने मनमा थियो,’ दीपिकाले भनिन्, ‘डाक्टरले टाँका निकाल्न पाँच दिनपछि बोलाएका थिए । हामी पाँचौ दिनमा अस्पताल गयौँ ।’ अस्पतालमा उनको घाउमा लगाइएको टाँका निकालियो । 

त्यसपछि फेरि घर फर्किइन् दीपिका । उनलाई चिकित्सकले केही समय आराम गर्न भनेका थिए । उनी पनि आराम गर्दै थिइन् । ठिक हुँदैछ भन्ने कुरा मात्र मनमा थियो, सकारात्मक सोच्नु पर्छ भन्ने दीपिकाले थाहा पाइसकेकी थिइन् । 

यति बेला पनि दीपिकाले जे सोचेकी थिइन्, त्यो भएन । 

विस्तारै उनको घाउ दुख्न थाल्यो, घाउ फाटेको जस्तो उनलाई महसुस हुन थाल्यो । यही कुरा उनले परिवारमा भनिन् । सबैजना फेरि आत्तिन थाले । भोलिपल्ट दीपिका फेरि अस्पताल पुगिन् । त्यहाँ डाक्टरले फेरि उनको घाउमा टाँका लगाइदिए ।

त्यसपछि ती डाक्टरले दीपिकालाई भने– अब आत्तिनु पर्दैन, ठिक हुन्छ । ड्रेसिङका लागि चाहिँ समयसमयमा आउनु पर्ने ती डाक्टरले दीपिकालाई सुझाव दिए ।  

डाक्टरले बोलाएअनुसार नै दीपिका त्यसको केही दिनपछि अस्पताल पुगिन् । फेरि पनि उनको घाउमा टाँका लगाउनु पर्ने भयो । यो क्रम चलिरह्यो । ‘एक महिनासम्म कहिले टाँका लगाउने, कहिले टाँका झिक्ने काम मात्र भयो,’ दीपिकाले फेरि पनि लामो सास फेरिन्, ‘त्यति बेलाको त्यो दुःख अहिले पनि म बिर्सन सक्दिनँ ।’ 

एकातिर यो दुःखसँग लडिरहेकी थिइन्, दीपिका । अर्कोतिर उनीको चिन्ता बढेको थियो– १२ कक्षा अब पास हुन सक्दिनँ होला । ‘पढ्न केही पाएकी थिइनँ,’ उनले भनिन्, ‘बरु बेलाबेलामा म बिरामी छु भन्ने बिर्सन्थेँ, तर पढाइको कुराले मनमा झस्का हानिरहन्थ्यो ।’ उनले अब बरु अस्पताल नजाने, शिक्षकहरुसँग सल्लाह गर्ने निधो गरिन् । 

‘सरहरुले मलाई त्यति बेला हौसला थप्नुभयो,’ उनले भनिन्, ‘प्रिबोर्ड पनि देउ, तिमीलाई केही भएको छैन, सबै ठिक हुन्छ भनेर सरहरुले भन्नुभएको थियो । यसले मेरो मनमा ठूलो हौसलाको काम गर्यो ।’ कलेजमा शिक्षकहरुको यही कुराका कारण उनले विस्तारै रोगलाई बिर्सन थालेकी थिइन्, परीक्षाका लागि तयारी सुरु गरिन्  ।

उनले परीक्षा दिइन् । नतिजा राम्रो आयो । यो प्रिबोर्ड थियो । त्यसमा राम्रो नम्बर आएपछि उनको हौसला बढ्यो– बोर्ड इक्जाममा राम्रो गर्न सक्छु भन्ने मनमा लिन थालिन् ।

मनमा यही कुरा भएकाले हुनुपर्छ, दीपिकाले रोग त पूरै बिर्सिसकेकी थिइन् । फेरि उनको दुखाइ पनि कम हुँदै थियो । 

अचानक एक दिन अस्पताल पुग्दा उनलाई चिकित्सकहरुले भने– तिम्रो ट्युमरको रिपोर्ट राम्रो छैन, एकपटक भक्तपुर क्यान्सर अस्पताल पनि जानू !

दीपिका कापिन् । मन चिसो भयो, अगाडि अन्धकार देखिन् । अगाडि सबै अन्धकार देखिरहेकी दीपिकाले त्यति बेला नै चिकित्सकले भनेको सुनिन्– अब केमो सुरु गर्नुपर्छ होला । 

दीपिकालाई खासमा अब अस्पताल जान मन थिएन । तर, बाध्यता थियो । त्यही बाध्यताले धकेलेर उनलाई भक्तपुर क्यान्सर अस्पताल पुर्यायो । त्यहाँ पुगेपछि बल्ल उनले पहिलो पटक जीवनमा अस्पतालको नराम्रो अनुभव सँगालिन् । ‘त्यो त अस्पताल हो जस्तै लागेन,’ उनले भनिन्, ‘त्यहाँका डाक्टरहरु निकै रुखा रहेछन् ।’

यसो भन्दै गर्दा आँखा रसायो दीपिकाको । उनले आँसु पुछिन् । अनि भनिन्, ‘त्यहाँ त डाक्टरहरुले सोझै भने– तिम्रो पाठेघर फाल्नुपर्छ ।’

यति सुन्दा नै कुनै ठूलो दलदलमा भासिएको जस्तो आभास भएको थियो, दीपिकालाई । त्यसमाथि फेरि उनले सुनिन्– केमो पनि चलाइहाल्नु पर्छ । सँगसँगै चिकित्सकहरुले भने, ‘तिमी अब आमा बन्न सक्दिनौँ, तिम्रो कपाल पनि पूरै झर्छ ।’

दीपिकाले मनमा फरक फरक विकल्पको कल्पना गर्न थालिन् । उनले भनिन्, ‘बरु मर्छु नि भन्ने भयो, तर केमोको लागि वा अपरेसनका लागि म तयार हुनै सकिनँ ।’

यो त उनको मनको भाव मात्र न थियो, रोगसँग उनले सम्झौता गर्न सक्ने अवस्था नै थिएन । उनी अस्पताल भर्ना भइन् । उनलाई केमो दिइने भयो । जब केमो दिने दिन एक चिकित्सक उनीकहाँ आए र भने– अहिले त त्यस्तो समस्या खासै रहेनछ, तर केमो दिँदा खासै केही हुँदैन, दिएर हेरौँ न !

दीपिकाको मन फेरि झसङ्ग भयो । ‘खासै दिनु पर्ने नै हो जसरी ती चिकित्सकले भनेनन्,’ दीपिकाले भनिन्, ‘अनि हामी त्यहाँबाट बाहिरियौँ ।’ अस्पतालबाट घर फर्किएका थिए दीपिका र उनका बाबुआमा । र, सँगै फर्किएको थियो उनको मनको पीडा, त्यो दुःख र बेचैनी । दीपिकालाई अब लाग्न थालिसकेको थियो– मेरो पाठेघर नबच्ने भयो । ‘तैपनि ठिक हुन्छ कि भन्ने एउटा आश मनमा थियो,’ उनले भनिन्, ‘त्यसैले हामीले भोलिपल्ट नै थापाथली अस्पताल जाने निर्णय गर्यौँ ।’

त्यहाँ पनि चिकित्सकले उनलाई पाठेघर नै फाल्नुपर्छ भने । यो सत्यता हुनसक्थ्यो, तर दीपिकाको मनले मानेन, दीपिकाको बाबुको विश्वासले मानेन । उनीहरुले पाठेघर फाल्ने सोच्न नै सकेनन् ।

‘हामी राम्रो अस्पताल कुन होला, जहाँ एउटा युवतीले पाठेघर गुमाउनै नपरोस् भन्ने सोचिन्छ भन्ने खोजी गर्न थाल्यौँ,’ दीपिकाले भनिन्, ‘मलाई थाहा थियो, मेरो पाठेघरमा होइन, ओभरीमा समस्या थियो । आखिर ओभरी त काटेर फालिइसकिएको पनि थियो । डाक्टरहरु हाम्रो भावना केही नबुझी, सोझै पाठेघर फालौँ भन्थे ।’

दीपिकाको पेट दुख्न छोडेको थिएन । शरीरमा जति दुखाइ भए पनि उनको आत्मविश्वास चाहिँ डगमगाएको थिएन । अब उनीहरुले फेरि सिभिल अस्पतालमा उपचारका लागि जाने निधो गरेका थिए । त्यहाँ उनको भिडिओ एक्सरे गर्न थालियो । तीन महिना बिराएर भिडियो एक्सरे गरिन्थ्यो, समस्या केही देखिँदैनथ्यो । 

‘२०७५ सालको सुरुवातमा एक दर्जनभन्दा बढी भिडियो एक्सरे गरेपछि पत्ता लाग्यो,’ दीपिकाले भनिन्, ‘मेरो ओभरी निकालेको ठाउँमा गिर्खाहरु देखिए ।’

ती गिर्खा अब ट्युमरमा विकसित भए । त्यसपछि फेरि एकपटक दीपिकाले आश मारिन् । 

यो आश जीवनको आश थियो, उनको सपना र भविष्यको आश थियो । एउटा लामो यात्रा तय गर्ने सोच बनाएकी थिइन् दीपिकाले जब उनी प्लस टुमा भर्ना भएकी थिइन् । उनको सपना थियो एउटा बैंकर बन्ने । बैंकको म्यानेज गर्नसक्ने दृढ विश्वास लिएर अगाडि बढेकी थिइन् दीपिका । जब उनले आफ्नो ओभरी फाल्नु पर्ने अवस्था आएको थियो, त्यति बेला यो सपना थोरै डगमगाएको थियो । फेरि आफ्नो लयमा लाग्न थालिसकेकी थिइन् । 

२०७५ सालमा जब फालिसकेको ओभरीमा गिर्खा देखियो, दीपिकाले त्यो सपनालाई तिलान्जली दिनुपर्छ सोच्न थालिन् । यही सोचले मात्र पनि उनलाई ठूलो पीडा भयो । त्यही पीडाहरु लिएर उनी बस्न थालिन् । 

मनमा त दीपिकालाई लाग्थ्यो, त्यो पीडालाई कतै क्षितिजपारि फालिदिऔँ र त्यसलाई फर्केर हेर्न नपरोस् । सोच्न त उनी पनि सोच्थिन्, कुनै एउटा टाइम मेसिन होस्, यी पीडाहरु सबै त्यसले लिएर जाओस् । 

जीवनमा त्यस्तो इरेजरको खोजीमा थिइन् दीपिका जसले मेटाउन सकोस् सबै दुःखपीडा । 

त्यसैले त उनी अस्पताल पुग्नेवित्तिकै चिकित्सकलाई चिच्याएर भन्थिन्, ‘अहँ, आउन मन छैन मलाई यहाँ ।’

अनि सानो स्वरमा दीपिकाको उपचारमा संलग्न चिकित्सक उनलाई भन्थे, ‘अहिलेसम्मको मेरो सबैभन्दा ज्ञानी प्यासेन्ट नै तिमी हौ ।’ अँध्यारो भइसकेको दीपिकाको अनुहारमा थोरै उज्यालो देखिन्थ्यो । मानौँ, उनले त्यति बेला कतै टाढा देख्थिन् एउटा सानो दियोबाट आएको मधुर उज्यालो । अनि लक्ष्य बनाएकी थिइन्– त्यो मधुरो उज्यालोमा उनी पुगेरै छाड्नेछिन् । 

त्यही आशा र चाहनाले उनलाई अब अगाडि बढ्न सहयोग गर्ने भयो । 

अब पछाडि नफर्किने आशमा दीपिका अगाडि बढेकी थिइन्, अस्पताल त टेक्दै नटेक्ने अठोट गरेकी थिइन् । ‘पहिलो स्टेजको क्यान्सर भइसकेको थियो, ओभरीमा,’ उनले भनिन्, ‘त्यो फालिसकेका थियौँ, अपरेसन गरेको ठाउँमा आएका गिर्खाहरुको उपचार भइरहेको थियो । अस्पताल जान मलाई मनै लाग्दैनथ्यो ।’

फेरि पनि दीपिकाले सोचेजस्तो भएन । 

पहिले ससाना गिर्खा देखिएको ठाउँमा मासु पलाउन थाल्यो, ट्युमर देखिन थाल्यो । 

‘अनि हामीले फेरि अपरेसन गर्ने र त्यो ट्युमर फालिदिने निर्णय गर्यौँ,’ दीपिकाले भनिन्, ‘मलाई सिभिल अस्पतालमा डाक्टरहरुले यस्तो राम्रोसँग कन्भिन्स गर्नुभयो कि यो अपरेसनका लागि म सहजै तयार भएँ । पहिले मैले अपरेसनपछि के हुने हो भन्ने चिन्तामा आफूलाई डुबाएकी थिएँ, यसपटक चाहिँ अब यो नै मेरालागि अन्तिम अपरेसन हो भन्ने मनमा आउन थालेको थियो । अपरेसन हुँदै छ भन्दा पनि म खुसी भएकी थिएँ ।’

खासमा यो अपरेसन पनि दीपिकाको ओभरी भएको ठाउँमा फैलिएको क्यान्सरको अपरेसन थियो । त्यहाँ पलाएको ट्युमर चिकित्सहरुले झिकेर फालिदिए । 

संयोग यसपटक पनि अपरेसनपछि उनको पेटमा २४ वटा टाँका नै लगाइयो । त्यो ट्युमर जाँच गर्न पठाइयो । 

त्यसको रिपोर्ट आयो– यो क्यान्सर नै हो । 

अब दीपिकाले जीवनसँग जिद्दी गर्न छाड्ने निर्णय गरिन् । चिकित्सकको सल्लाहमा उनी केमोका लागि तयार भइन् । हो, एउटा मोडसम्म मानिसले आफ्नो अडानलाई लिएर अगाडि बढ्न सक्छ । त्यही अडान सधैंका लागि रहिरहन्छ नै भन्ने छैन । ‘मेरो केसमा पनि त्यही भयो,’ दीपिकाले भनिन्, ‘अब केमो नदिनुको कुनै विकल्प अरु भएन । म केमोका लागि तयार भएँ ।’

खासमा दीपिकाले आफू केमो पद्धतिबाट उपचार गराउनुभन्दा पहिले केमोबारे धेरै कुरा सुनिसकेकी थिइन् । कति ती कुरा भ्रम थिए, कति ती कुरा सत्य थिए । तर, दीपिकाले सुनेको एउटा सत्य कुरा उनको जीवनमा असत्य प्रमाणित भयो । 

त्यो हो– केमोले उनको कपाल झारेन ।

‘म एकदम डराएकी थिएँ,’ निधारमा आएको कपाललाई सपक्क मिलाउँदै उनले भनिन्, ‘केमोले मेरो पूरै कपाल झारिदिन्छ भन्ने थियो । मेरो पहिचान नै सकिन्छ भन्ने थियो ।’

सौभाग्य भनौँ कि दुर्भाग्य, केमोले दीपिकाको कपाल झारेन । 

अनि यसले उनीमा भएको आत्मविश्वासलाई पनि थोरै सहयोग पुर्यायो– उनी पनि अरुजस्तै नर्मल युवती हुन् । 

‘केमो दिन सुरु गर्दा त मनमा यस्तो लाग्थ्यो मानौँ मेरो जीवन नै सकियो,’ उनी हाँसिन्, ‘त्यति बेला सोच्थेँ, अब म अरुजस्तै हिँडडूल गर्न सक्दिनँ, अरुजस्तै हाँस्न सक्दिनँ, अरुजस्तै कामहरु गर्न सक्दिनँ ।’

ती सब उनले साेचेका कुराहरु असत्यमा प्रमाणित भए । ‘अस्पतालमा नै भेटिएका अरु बिरामी, आफूभन्दा साना बिरामीहरुलाई हेरेपछि मेरो चित्त बुझ्थ्यो,’ दीपिकाले भनिन्, ‘अनि केमोपछि अस्पतालबाट फर्किएर घर आउन थालेँ ।’ २१ दिनको अन्तरालमा उनलाई दोस्रो केमो दिइने तय थियो । 

‘त्यो २० औं रात कहिल्यै नसकियोस् भन्ने सोचेर रातभर निदाउन सकिनँ,’ दीपिकाले भनिन्, ‘प्रत्येक दिन नकटोस्, अर्को केमो लिने समय नआओस् भन्ने लाग्थ्यो ।’

यस्तो किन भने केमो दिएको भोलिपल्ट सबैभन्दा पीडादायी दिन हुन्थ्यो दीपिकाका लागि । ‘केही खायो वान्ता हुन्थ्यो, हात झमझमाइरहन्थ्यो,’ दीपिकाले भनिन्, ‘पानी त छुनै हुँदैनथ्यो, करेन्ट लागेजस्तो हुन्थ्यो ।’

यही तरिकाले दीपिकामाथि केमोका केमो दिन थालियो । तेस्रो केमोसम्म पुग्दा उनी निकै ठीक भइसकेको सोच्थिन् । तर, तेस्रो केमो दिएको भोलिपल्ट उनलाई असह्य पीडा भयो । 

‘पहिलो पटक मैले अब त म मर्छु होला भन्ने त्यही बेला सोचेकी थिएँ,’ दीपिकाले भनिन्, ‘केमो दिएर घर आएपछि भोलिपल्ट मलाई बेस्सरी पेट दुख्न थाल्यो । पेट दुखाइ कम नभएपछि अस्पतालमा नै भर्ना हुनुपर्यो । मैले हार खाएँ ।’

खासमा यो दीपिकाको भ्रममा परिणत भयो । केही दिन अस्पतालमा बसेपछि उनलाई ठिक भयो । चौथो केमो पनि दिइयो । 

त्यसपछि मरिसकेको आश फेरि ब्यूँतियो । दीपिकाले आफूलाई केही भएको छ भन्ने महसुस गर्न नै छाडिन् । प्रत्येक विहान उठेपछि ऐनामा उनी आफ्नो कपाल हेर्थिन् । कपाल झरेको थिएन, त्यसले दीपिकाको खुसीमा थप अर्को एउटा इँटा थप्थ्यो । 

उनको केमो उपचार सकिएको अब त चार महिनाभन्दा बढी भइसकेको छ । अहिले दीपिका आफ्नो शरीरमा छुट्टै स्फूर्ति पाउँछिन्, छुट्टै आत्मविश्वास र सपनाले डोर्याएको छ उनलाई । 

उनले अब क्यान्सरलाई जितिसकेकी छिन् । त्यसैले उनी भक्तपुरस्थित आफ्नो घरको बरन्डामा निस्किन्छिन् र पर क्षितिज हेर्दै बनाउँछिन्, सपना– त्यहाँ पुग्नु छ । 

दीपिकाले क्यान्सरलाई त पराजित गरेकी छिन् । उनको यो संघर्षले उनलाई केही मीठा, केही नमीठा सम्झनाहरु पनि दिएर गएको छ ।

‘योबीचमा कोही आफन्तहरु नै भेट्न आउनुहुन्थ्यो,’ दीपिका भन्छिन्, ‘अनि भन्नुहुन्थ्यो– यस्तो हुँदा पनि बाँच्यौ है तिमी ।’ दीपिकाले आँखा चिम्लिइन्, अनि विस्तारै खोल्दै भनिन्, ‘मलाई अचम्म लाग्छ, रोगसँग लडिरहेको मान्छेलाई आएर बाँचिस् है पो भन्छन् !’ यस्ता कुराले दीपिकालाई नमीठो त महसुस गरायो तर मनमा अझ बलियो गरि अगाडि बढ्नु पर्छ भन्ने सपना पनि देखायो । 

त्यसैले उपचारकै क्रममा हुँदा पनि दीपिकाले कहिल्यै हरेस खाइनन्, उनी निरन्तर अगाडि बढिरहिन् । पढाइ छोडिनन्, आफूलाई अगाडि बढाउनु पर्छ भन्ने चेतनालाई कतै छाडिनन् । 

‘अब त मेरो अर्को जन्म भइसक्यो,’ दीपिकाले भनिन्, ‘परिवारको साथ र साथीहरुको मायाले मलाई यहाँसम्म पुर्याएको हो ।’

क्यान्सरलाई पराजित गरिसकेकी दीपिका हार मान्ने पक्षमा कहिल्यै छैनन् । उनी क्यान्सरसँग लडिरहेका अरु बिरामीलाई पनि भन्न चाहन्छिन्– यो हार मान्ने कुरै होइन, यसलाई हामीले जित्न सकिन्छ । उदाहरणमा आफ्नै नाम लिन्छिन् दीपिका ।

दीपिकाले ‘दोस्रो जीवनमा’ पनि सपना त्यही बनाएकी छिन्, बैंकर बन्ने ।

यी चार वर्षमा उनले जुन जित हासिल गरेकी छिन्, त्यसले पक्कै प्रमाणित गर्छ– दीपिकाले देखेको सपना पूरा गरेरै छाड्छिन्, चाहे यो सपनाको यात्रामा क्यान्सर नै किन तगारो नबनोस् !


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्