विधवा आमाका लागि योग्य वर खोजिरहेका एक युवा

एजेन्सी– ‘मलाई मेरी विधवा आमा डोला अधिकारीका लागि एक योग्य वर चाहिएको छ । म रोजगारको सिलसिलामा धेरै समय घरबाहिर रहन्छु । यस्तो समयमा मेरी आमा घरमा एक्लै बस्नु परेको छ । मलाई लागेको छ कि एक्लो जीवन बिताउनुभन्दा सबैलाई राम्रो तरिकाको जीवन बाँच्ने अधिकार छ ।’

भारतको पश्चिम बंगालको हुगली जिल्लामा फ्रेन्च कोलनी खासमा पूजा र बिजुलीको उज्यालोका कारण बारम्बार चर्चामा आइरहेको हुन्छ । 

तर, यसपटक यो स्थान एक युवकका कारण चर्चामा आएको छ । ती युवा हुन्, गौरव अधिकारी । उनले आफ्नो फेसबुकमा जे लेखेका छन्, त्यसका कारण उनी चर्चामा आएका हुन् । 

यही महिना आस्था नामकी एक युवतीले पनि आफ्नी आमाका लागि एक ५० वर्षका सुन्दर व्यक्ति खोजी गर्दै ट्विट गरेकी थिइन् । त्यो ट्विट पनि निकै भाइरल भएको थियो । 

आस्थाले आफ्नी आमाका लागि जो युवक खोजेकी थिइन्, ऊ शाकाहारी हुनु पर्ने सर्त राखेकी थिइन् । ती युवाले मदिरा पनि नपिउने हुनुपर्ने उनले बताएकी थिइन् । 

पाँच वर्ष पहिले गौरवको पिताको निधन भएको थियो । त्यसपछि उनकी ४५ वर्ष आमा घरमा एक्लै बस्दै थिइन् । आखिर फेसबुकमा गौरवले किन यस्तो लेखे ? 



‘म मेरा बाआमाको एक्लो सन्तान हुँ,’ गौरबले बिबिसीका लागि भनेका छन्, ‘म विहान सात बजे जागिरका लागि निस्किन्छु र राति घरमा फर्किँदा निकै अबेर भइसकेको हुन्छ । यो सब समय आमा एक्लै बस्नुहुन्छ, मलाई लाग्यो आमालाई पनि साथी चाहिन्छ ।’

गौरवले आमासँग यो कुरा गरिसकेका छन् । ‘मैले आमासँग कुरा गरेको थिएँ,’ उनले भनेका छन्, ‘म चाहन्छु कि आमाको जीवनको बाँकी दिन पनि राम्रोसँग नै बितुन् ।’



गौरवले फेसबुकमा लेखेका छन्, ‘मेरी आमा डोला अधिकारी हुन् । मेरो पिताको निधन पाँच वर्ष पहिले भएको थियो । जागिरका कारण म अधिकांश समय घरबाहिर नै रहन्छु । यस्तोमा आमा एक्लै हुन्छिन् । मेरी आमालाई किताब पढ्न र गीत सुन्न अत्यन्त मन लाग्छ । मलाई लाग्छ कि पुस्तक र गीतले कुनै साथीको स्थान लिन सक्दैनन् । एकांकी जीवन गुज्रनुभन्दा राम्रोसँग जीवन बाँच्न जरुरी छ । म अब फेरि पनि भविष्यमा व्यस्त नै हुनेछु । मेरो विवाह हुनेछ, घरपरिवार हुनेछ । तर, मेरी आमा ? हामीलाई सम्पत्तिको कुनै लोभ छैन । तर, ऊ आत्मनिर्भर हुनुपर्छ । आमालाई खुसी राख्न सक्नुपर्छ । आमाको खुसी नै मेरो खुसी हो । हुनसक्छ, केही मानिसहरुले मेरो खिल्ली उडाइरहेका छन् । तर, मेरो यो निर्णय बदलिँदैन ।’

गौरवले यो पोस्ट लेखेपछि केहीले आफूलाई फोन गरेर विवाहका लागि इच्छा राखेको बताएका छन् । त्यसमा केही शिक्षकसमेत रहेको उनले बताएका छन् । 

उनी अब योग्य पात्र छनोट गरेर आमाको विवाह गर्ने नै आफ्नो लक्ष्य भएको बताएका छन् । उनले यो फेसबुकका कारण आफूलाई कसैले पनि नराम्रो केही नभनेको पनि बताएका छन् ।

‘फेरि मैले प्रचारका लागि यो पोस्ट लेखेको होइन,’ उनले भनेका छन्, ‘यो मेरोे मनले चाहेको कुरा हो ।’

अर्कोतिर, पश्चिम बंगालमा विधवा विवाहको परम्परा पनि नयाँ वा नौलो होइन । त्यहाँ त १६ जुलाई १८५६ मा नै पहिलो विधवा विवाहलाई कानुनी मान्यता दिइएको थियो । 

  • प्रकाशित मिति : कात्तिक २८, २०७६ बिहीबार ०:५५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया