अभियुक्तको गलत रिपोर्ट दिने अस्पतालमाथि किन हुँदैन छानबिन ?

काठमाडौं– संसद सचिवालयमा नै काम गर्ने कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महरा दशैंअघि बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परे । 

तर, लगत्तै उनको स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई अस्पतालमा भर्ना गरियो । उनी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भए । प्रहरीले पटक पटक उनलाई नर्भिक अस्पतालबाट नै अदालत पुर्याउँदै म्याद थप्दै गर्न थाल्यो । 

जब उनलाई १८ कार्तिकमा डिल्लीबजार कारागार चलान गरियो, उनको स्वास्थ्यमा कुनै समस्या नभएको कारागार प्रशासनले बतायो । यसअघि उनले प्रहरी हिरासत छल्न २४ दिन नर्भिक अस्पतालमा बिताएका थिए । 

उनले अस्पतालमा बिताएका ती २४ दिनमा अस्पतालका चिकित्सक तथा प्रशासनले उनको स्वास्थ्यबारे बाहिर भन्न चाहेनन् । सार्वजनिक रुपमा केही नभने पनि उनीहरुले अनुसन्धानमा रहेका प्रहरीलाई नै गलत रिपोर्ट दिए । उनीहरुको गलत रिपोर्ट वा उल्टो डिस्क्रिप्सन किन प्रमाणित हुन्छ भने अस्पतालमा बस्दा महरालाई जे जे रोग लागेको वा समस्या देखिएको भनिएको थियो, त्यो सबै अचानक डिल्लीबजार कारागार पुग्दा हराएको थियो  ।

फरक धारले अस्पतालका चिकित्सक र प्रशासनले हाइप्रोफाइल अभियुक्तमाथि किन गलत रिपोर्टिङ गर्छन् भन्ने बुझ्न केही चिकित्सक, नर्भिक अस्पतालकै केही कर्मचारी तथा प्रहरी अधिकारीहरुसँग कुरा गरेका छौँ ।

नेपालमा हाइप्रोफाइल अभियुक्त पक्राउ परेलगत्तै अस्पताल पुग्छन् । अस्पताल प्रशासन र त्यहाँ भएका चिकित्सकहरुले सहजै उनीहरु बिरामी भएको कागज बनाइदिन्छन् । यो खासमा चिकित्सकीय आचारसंहिता विपरित हो । तर, हाइप्रोफाइल अभियुक्त खासमा बिरामी हो या होइन भनेर प्रहरी वा अदालतले छानबिन गर्ने अर्को कुनै उपाय छैन । त्यसैले अस्पतालले बनाइदिएको कागजलाई नै अन्तिम आधार बनाएर अदालतले पनि उनीहरुलाई अस्पतालमा नै रहन दिन्छ ।



बिरामी हुँदा जोकोहीले पनि उपचार गर्न पाउनु पर्छ । तर, पैसा र पहुँचको आधारमा, अस्पताल प्रशासन र अस्पताल निर्देशकहरुसँगको विशेष सम्बन्ध भएकै कारण अभियुक्तलाई अस्पतालको सुविधासम्पन्न कोठामा बस्न दिनु कति जायज हो ? 

‘बिरामी हुँदा त सबैले उपचार गर्न पाउनु पर्छ,’ महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले फरक धारसँग भने, ‘हामीले अनुसन्धानका क्रममा जो अभियुक्त भए पनि स्वास्थ्य परीक्षण गर्न पाउने अधिकारबाट वन्चित गरिनु हुँदैन ।’



तर, अब अस्पतालले नै गलत रिपोर्ट दिएको हो या होइन भन्नेबारे चाहिँ अनुसन्धान अहिलेसम्म नगरिएको उनले बताए । ‘बल्ल यस विषयमा कुरा आयो,’ उनले भने, ‘अस्पतालले नै गलत रिपोर्ट दिएको हो भने अभियुक्तमाथि मात्र होइन, अस्पतालमाथि पनि कारवाही गर्नु पर्छ ।’

अर्कोतिर, अर्का एक प्रहरी अधिकारीले चाहिँ हाइप्रोफाइल व्यक्तिहरुलाई अस्पतालमा राख्न राजनीतिक दबाब आउने, अस्पताल प्रशासनसँग पैसा र पहुँच भएकाहरुले नजानिँदो किसिमले सम्झौता गर्ने र यसले अनुसन्धानमा समेत प्रभावित गर्ने बताए । ‘यो गलत हो,’ उनले भने, ‘तर, नेपालमा यस्तो ट्रेन्ड छ कि यसलाई अहिले तत्काल के गर्ने भन्ने विषयमा प्रहरीभित्र पनि कुरा उठेकै छैन ।’

थापाथलीमा रहेकाे नर्भिक अस्पतालले हाइप्राेफाइल अभियुक्तकाे स्वास्थ्यबारे गलत रिपाेर्ट दिने गरेकाे छ ।

महरा नर्भिकमा भर्ना हुँदा अस्पतालले उनको मुटुमा समस्या देखिएको रिपोर्ट दिएको थियो ।

केही दिनअघि एन्जियोप्लास्टी समेत गरिनु पर्छ भन्दै अस्पतालले बताएको थियो तर डिल्लीबजार कारागारमा पुग्दा उनको सबै स्वास्थ्यअवस्था सामान्य देखियो । 

के केही दिनअघि मुटुमा गम्भीर समस्या देखिएको बिरामीको कुनै अपरेसन नगर्दै ठिक हुने सम्भावना हुन्छ ? हामीले यही प्रश्न सहिद गंगालाल राष्ट्रिय केन्द्रका सिनियर कन्सल्टेन्ट डा. रामेश कोइरालालाई सोध्यौँ । 

‘त्यस्तो हुँदैन,’ उनले भने, ‘खासमा त्यति बेला महराको मुटुसम्बन्धी जे रिपोर्ट सार्वजनिक भएको थियो, मैले बुझेसम्म त्यो सामान्य नै थियो । तर, नेपाल हो, त्यसलाई गलत ब्रिफिङ गरियो ।’ डा. कोइरालाले ६० वर्ष कटेकाको हकमा महराको जस्तो मुटुको रिपोर्ट आउनु सामान्य भएको बताए । 

तर, गम्भीर अपराधमा मुछिएका महराको यही रिपोर्टलाई अस्पतालले गलत ब्रिफिङ गर्यो । त्यही गलत ब्रिफिङलाई प्रहरीले पत्याउनु पर्यो । अनि हिरासतमा रहनु पर्ने महरा अस्पतालको ‘फाइभ स्टार’ रुममा बसे । पैसा र पहुँच हुनेले यसरी आफ्नो स्वास्थ्यको रिपोर्टलाई नै अस्पतालसँग मिलेर तोडमोड गर्ने हो भने प्रश्न उठ्छ, के हिरासत गरीबहरुका लागि मात्र बनेको हो ?

अर्कोतिर, हाइप्रोफाइल व्यक्तिहरुलाई यसरी हिरासत छलेर अस्पताल राखिँदा प्रहरी अनुसन्धान पनि प्रभावित हुन्छ । ‘अस्पतालमा रहने अभियुक्तले आफ्नो पहुँच वा पैसाको थप प्रयोग गरेर आफूमाथि लागेको आरोपलाई कमजोर बनाउन प्रयास चाहिँ गरिरहेकै हुन्छन्,’ एक प्रहरी अधिकारीले भने, ‘यसबारे सबैभन्दा पहिले अस्पताल प्रशासन वा उपचारमा संलग्न चिकित्सक सचेत हुनु पर्ने हो ।’

उता, नर्भिकमै कार्यरत एक कर्मचारी भन्छन्, ‘यसबारे अस्पतालले प्रेस रिलिज जारी गर्दा वा यस विषयमा बोल्दा खासमा प्रशासनको बढी भूमिका हुने मैले अनुभव गरेको छु ।’ नर्भिकका सिनियर चिकित्सकमध्येका उनले हाइप्रोफाइल व्यक्तिको स्वास्थ्यबारे चाहिँ चिकित्सकहरु अलिक बढी सचेत हुने जनाए । 

अर्कोतिर, प्रहरी अनुसन्धानमै रहेका अभियुक्तको स्वास्थ्य रिपोर्ट गलत दिने अस्पतालले अन्य सर्वसाधरणबारे दिने रिपोर्ट कति विश्वसनीय भन्ने प्रश्न पनि चिकित्सकहरुबी उठ्न थालेको छ । 

यता, नाम चलेका अस्पतालले अभियुक्तलाई सुविधासम्पन्न कोठा दिएर राखिरहेका हुन्छन् भने छिमेकी मुलुक भारतमा चाहिँ नयाँ नजीर स्थापित भएको छ । त्यहाँका पूर्वगृहमन्त्री पी चिदम्बरमले यसबीचमा प्रहरी हिरासत छलेर अस्पतालमा रहन स्वास्थ्यमा गडबडी भएको कारण देखाएका थिए । तर, त्यहाँ उनलाई अस्पतालले भर्ना गर्न अस्वीकार गरेको थियो ।

  • प्रकाशित मिति : कात्तिक २८, २०७६ बिहीबार २१:४८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया