Sun, 15 Dec, 2019


काठमाडौंकी एक युवतीको दर्दनाक कथाः ‘... अनि चार महिने छोरो लिएर गर्दै छु डिर्भोस’
फरकधार / कात्तिक २९, २०७६

काठमाडौं– काठमाडौंमा विस्तारै चिसो बढ्दै छ । तर, अहिले नै काठमाडौंको चिसो ठिहिर्याउने भइसकेको छैन । तर, सुगारिका (नाम परिवर्तन), २३, लाई यही चिसो पनि अत्यन्त पीडादायी हुन थालिसकेको छ । किनकि उनको मन यसअघि नै चिसोका कारण बरफ झैं जमिसकेको छ । बिहिबार फरक धारको कार्यालयमा आइपुगेकी सुगारिकाका आँखाको डिलमा आँसुको टिलपिल कतिबेलै छुटेन । २ वर्षअघि प्रेम विवाह गरेकी उनले तिनै आँखामा इन्द्रेणी सपना सजाएकी थिइन्, जसमा अहिले आँसुको स्थायी बसोबास भइरहेको छ । 



सुगारिकाले ऐँठन हुँदाहुँदै आफ्नो कथाको बेलिविस्तार लगाइन् । उनले आफू कसरी घरेलु हिंसाको शिकार भइन् र डिभोर्स गर्ने निर्णयमा पुगिन् भन्ने सुनाउँदा अनेक पटक रोकिइन्, बोल्दाबोल्दै उनको आवाज दबियो । मनमा गाँठो परेर रहेको ४ वर्षको प्रेम र त्यसपछिका विवाहका दुई वर्षबारे सम्झिँदा सुगारिकाले कयौँ पटक लामो सास तानिन् । 

उनको दर्दनाक कथा, उनकै शब्दमाः 

 

म मोरङमा जन्मिएँ, हुर्किएँ । मोरङकै स्कुलमा पढ्न थालेँ । म पढ्ने स्कुलमा नै ऊ पढ्थ्यो । खासमा उसको घर मेरो घरभन्दा अलिक पर थियो । उसको घर भएको ठाउँमा राम्रो स्कुल थिएन । त्यसैले मेरो घर नजिकै मामाघरमा बसेर ऊ पढ्न थाल्यो । 

घर नजिकै भएकाले र एउटै स्कुलमा पढ्ने भएकाले हाम्रो चिनजान सानैमा भयो, बोलचाल भयो । 

उसले एसएलसी दिइसकेको थियो । त्यसपछि ऊ फर्किएर घर गयो । तर, मामाघर आइरहन्थ्यो । मैले एसएलसीको परीक्षा दिएको केही दिनपछि नै उसले मलाई प्रेम प्रस्ताव राख्यो । 

त्यति बेला म १८ वर्षकी थिएँ । 

उसको प्रेम प्रस्तावको जवाफ मैले तत्काल दिइनँ । तर, योबीचमा पनि हाम्रो बोलचाल चलिरहेको नै थियो । सानैदेखि चिनेकाले मलाई उसको आनीबानी मन पथ्र्यो, केटा राम्रै छ भन्ने मेरो मनमा परेको थियो । जब उसले प्रेम प्रस्ताव नै राख्यो, मेरो मनमा पनि ऊप्रति प्रेम पलाउन थाल्यो । 

केही दिनपछि मैले उसलाई भनेँ– आइ लभ यु टु । 

हाम्रो प्रेम झाङ्गिदै गयो । मैले १२ कक्षासम्म मोरङमा नै पढेँ । उसको १२ कक्षामा एउटा विषयमा ब्याक लाग्यो । मैले १२ कक्षा पास गरेँ । उसले त्यो विषयमा अरु दुई चार वर्ष पनि कटाउन सकेन । म चाहिँ ब्याचलर्स पढ्न काठमाडौं आएँ ।

योबीचमा पनि हामी दुई एकअर्कासँग भेटिरहेका हुन्थ्यौँ । 

म काठमाडौंमा अंकलको घरमा बस्न थालेँ । एउटा कलेजमा भर्ना भएँ, ब्याचलर्समा बिबिएस पढ्न थालेँ । म काठमाडौं आएको केही दिनपछि ऊ पनि काठमाडौं आयो । हामीबीच फोनमा कुराकानी भइरहेको हुन्थ्यो ।

काठमाडौंमा हामीले एकअर्कासँग भेट्न थाल्यौँ । केही दिनपछि उसले भन्यो, ‘तिमीविना म एक्लै मोरङमा बस्न नसक्ने भएँ, म पनि अब काठमाडौंमै पढ्छु ।’ ऊ कलाकार बन्न चाहन्थ्यो, फिल्म स्टडिज पढ्छु भनिरहेको थियो । मैले पनि यसलाई सकारात्मक रुपमा नै लिएँ । उसको र मेरो सुन्दर भविष्य कल्पना गरेर म बसिरहेको हुन्थेँ ।

अब ऊ पनि काठमाडौंमा नै बस्ने भएपछि हामीबीच भेटघाट अझ बाक्लिन थाल्यो । मेरो स्नातक प्रथम वर्षको परीक्षा दिइसक्दा त हामीले अब विवाह गर्नेबारे सल्लाह गर्न थालिसकेका थियौँ । 

त्यति बेलासम्म मलाई ऊ एकदमै सकारात्मक लाग्थ्यो । जे कुरालाई पनि उसले पोजिटिभ्ली लिनुपर्छ भनिरहेको हुन्थ्यो । मेरो पहिलो वर्षको परीक्षा सकिँदासम्म मलाई मन नपर्ने उसको एउटै बानी थियो– ऊ गाँजा खान्थ्यो । 

त्यति बेला मैले सोचेकी थिएँ, उसले मसँग विवाह गरेपछि गाँजा छोड्छ होला । आखिर प्रेमका अगाडि अरु सबै कुरा छायामा पर्दा रहेछन्, नेपथ्यमा धकेलिँदा रहेछन् ।

दोस्रो वर्ष सुरु हुँदा नहुँदै मेरो बुवा ममी पनि काठमाडौं नै बसाइँ सरेर आउने हुनुभयो । अब म पनि बुबाममीसँग नै बस्ने भएँ ।

उहाँहरुसँग बस्न थालेपछि नै उहाँहरुले मेरो र उसको प्रेमको विषयमा थाहा पाइसक्नु भयो । तर, यो कुरा उहाँहरुलाई मन परेन । बुवा र ममी दुवैजनाले उसलाई मन पराउनु भएन । उसको बानी राम्रो छैन भनेर मलाई पनि सम्झाउनु हुन्थ्यो । उसँग मेरो सम्बन्ध छ भन्ने थाहा पाएपछि बुबा ममीले मेरो विवाह गरिदिने हुनुभयो– अर्कै केटा खोजेर ।

मैले उसलाई प्रेम गरेको थिएँ । प्रेमको अगाडि अरु केही कुराको पनि अर्थ नहुँदो रहेछ । प्रेमले बुबा र ममीलाई पनि बिर्साइदिँदो रहेछ, परिवार बिर्साइदिँदो रहेछ, आफ्नो काम र कर्तव्य, आफूले सोच्नु पर्ने भविष्य सबै बिर्साउने रहेछ । 

मैले पनि उसलाई मात्र सम्झिएँ, अरु सब कुरा बिर्सिएँ । त्यसैले बुबा ममीले अरु कोहीसँग विवाह गरिदिन्छु भन्दै गरेको कुरा पनि बिर्सिएँ र उसँग एक दिन सल्लाह गरेँ– हामी अब विवाह गरौँ, भागौँ । 

उसले सुरुमा मलाई प्रेम प्रस्ताव राखेको थियो । हामीले एकअर्कालाई माया गर्न थालेको र एकअर्काको सपनाको चोकमा रमाउन थालेको चार वर्ष भइसकेको थियो । मलाई यो प्रस्ताव राख्दा लाग्यो, मैले आफ्नो प्रेमलाई न्याय गरेँ । 

उसले पनि सहजै स्वीकार्यो– हामीले विवाह गर्यौँ । तर, यो कुरा सुरुमा मैले मेरो घरमा भनिनँ, उसको घरमा चाहिँ थाहा थियो । हामी मोरङ गयौँ र विवाह गर्यौँ । म उसको घरमा बुहारी भएर भित्रिएँ । त्यो रात मैले सोचेँ– मेरो प्रेमको जित भयो, अरु सबै कुराको हार भयो । 

त्यो २०७४ साल फागुन महिनाको कुरा थियो ।

बिहेभन्दा पहिले उसलाई कत्ति मन नपराउने मेरो ममीले पनि विवाह गरिसके पछि हाम्रो प्रेमलाई स्वीकार गर्नुभयो । घरमा बुबाले पनि छोरीलाई बोला भन्नुभएछ । हामी विवाहपछि मोरङमा नै बस्न थालेको थियौँ । बुबा ममीले पनि बोलाएपछि हामी काठमाडौं आयौँ, घरमा टिकाटालो गर्यौँ । 

अब त हामीलाई दुवै परिवारले स्वीकार्न थाल्नुभयो । यो मेरालागि झन् ठूलो सफलता थियो । मैले र उसले भविष्यको कल्पना गर्न थाल्यौँ, सुन्दर संसारको कुरा गर्न थाल्यौँ । 

फेरि ऊ फिल्म मेकिङ पढिरहेको थियो । मलाई अब उसले राम्रो पढेर राम्रो काम पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । मैले मोरङको एउटा स्कुलमा पढाउन पनि थालेँ । उसलाई पढ्नका लागि काठमाडौंमा पठाएँ । 

बीचबीचमा ऊ मोरङ आइरहेको हुन्थ्यो । मैले स्यालरी बुझेको पैसा पनि उसका लागि काठमाडौंमा सहज होस् भनेर दिएर पठाउँथे । 

म पनि स्कुलमा छुट्टी लिएर एक दुई दिनका लागि काठमाडौं आउँथे । त्यति बेला हामी काठमाडौंमा बुबाममीको घरमा नै बस्थ्यौँ । म काठमाडौंमा नहुँदा पनि ऊ मेरै घरमा बस्थ्यो । 

म दोस्रो वर्षको परीक्षा दिन काठमाडौं आएँ । फेरि मोरङ नै फर्किएर पढाउने योजनासाथ म काठमाडौं आएकी थिएँ । यता, उसले खासै केही गरिरहेको थिएन । ‘म काम गर्दैछु, मेरो काम हुँदैछ, ठूलो प्रोजेक्टमा हात हाल्दैछु,’ उसले मलाई भनिरहेको हुन्थ्यो । म उसका कुरा निर्धक्क पत्याउँथे ।

शंका पनि कसरी गर्नु ? आफूले मन पराएको मान्छे, आफूले प्रेम गरेको मान्छे, आफ्नो सपनालाई साकार बनाउने मान्छे नै उही हो भन्ने सोच्थेँ । 

यता, परीक्षा दिएर म मोरङ फर्किएँ । म गएको केही दिनपछि ऊ पनि मोरङ आयो । भन्थ्यो– तिमी काठमाडौं हुँदा काठमाडौंमा नै बस्न मन लाग्छ, मोरङमा हुँदा मोरङमा नै । 

एक रात मैले उसलाई सुनाएँ– तपाईं बाबा हुँदै हुनुहुन्छ । यो कुरा मैले त्यो साँझ नै सोचेकी थिएँ, उसलाई सुनाउँछु, ऊ खुसी हुन्छ । म उसको प्रतिक्रिया सुन्न आतुर थिएँ ।

मैले उसलाई यो कुरा भनेपछि उसले जे जवाफ दियो, त्यसले म छानबाट खसेँजस्तै भएँ । मेरो सपनाको महल त्यति बेला नै टुट्यो । म उसकै अगाडि रुन थालेँ । 

उसले भनेको थियो– मलाई यो बच्चा चाहिँदैन, फाल्दे यो बच्चा ।

त्यही रातपछि मेरा कस्टकर दिन सुरु भए । पेटमा बच्चा हुर्कंदो थियो, उसले मलाई अब अनेक अपशब्द बोलेर गाली गर्न थाल्यो । 

मसँग अब ऊ टाढा हुन खोजेको जस्तो गथ्र्यो । पहिले काठमाडौंमा हुँदा उसलाई पनि काठमाडौं नै आउनु पथ्र्यो, मोरङमा हुँदा मोरङ नै जानुपथ्र्यो । तर, जब मेरो पेटमा बच्चा हुर्कन थाल्यो, म काठमाडौं आउँदा ऊ मोरङ जान थाल्यो, म मोरङ जाँदा ऊ काठमाडौं आउन थाल्यो । 

एक पटक हामी दुवैजना सँगै मोरङमा भयौँ । ऊ साँझ गाँजा खाएर घरमा आएको थियो । आएलगत्तै उसले मलाई पिट्न थाल्यो । मेरो पेटमा उसको लात्ती बज्रन थाल्यो । म कोठामा रुन थालेँ, चिच्याउन थालेँ । मलाई मेरो पेटको बच्चामाथि केही नहोस् भन्ने चाहना थियो । तर, उसले यो सब कुरा वास्ता गरेन । 

त्यसको भोलिपल्टै म काठमाडौं आएँ, माइतीमा बस्न थालेँ । ऊ पनि केही दिनपछि काठमाडौं आयो । अझै पनि उसले भनिरहेको थियो– पेटको बच्चा फाल्दे । भेट्दा उसले यस्तो भने पनि फोनमा उसले मलाई निकै धेरै अपशब्दहरु भन्थ्यो, गाली गथ्र्यो । 

जुन समयमा मलाई सान्त्वना चाहिन्थ्यो, जुन समयमा मलाई माया चाहिएको थियो, त्यति बेला उसले मलाई गाली र लात्तीबाहेक अरु केही दिएन । उसँग चार वर्ष प्रेमपछि विवाह भएको थियो मेरो । हामी दुवैलाई थाहा थियो, त्यो नै मेरो पहिलो प्रेम थियो । तर, ऊ मसँग अरु केटाहरुको नाम जोड्थ्यो, मलाई अरु केटाहरुसँग गएको विषयमा लाच्छना लगाउँथ्यो । म यो सब सहिरहेकी थिएँ, उसले भनेका कुनै पनि कुराको म कुनै जवाफ दिन्नथेँ । म चुपचाप बसेपछि उसले मलाई भर्कुन थाल्थ्यो, पेटमा होस् या टाउकोमा बेस्सरी प्रहार गथ्र्यो । म रोएर बस्थेँ, आफूलाई सम्हाल्न खोज्थेँ । 

मैले यो कुरा कसैलाई पनि भन्न सकेकी थिइनँ । खासमा मैले उसँग प्रेम गर्न थाल्दा आफैंले निर्णय गरेकी थिएँ, उसँग ममीबुबाले नचाहँदा नचाहँदै पनि विवाह गरेकी थिएँ । यसको अर्थ थियो, मैले मेरा दुःख ममीसँग सेयर गर्ने बाटो बन्द गरिसकेकी थिएँ ।

तैपनि ममीबुबाहरुलाई यो विषयमा थाहा भइसकेको थियो । म गर्भवती भएकैले उहाँहरुले यसबारे मसँग खासै कुरा गर्नुभएन, बरु मलाई सहयोग गर्नुभयो, स्वास्थ्य परीक्षण गरा भन्नुभयो, काठमाडौंमा नै आएर बस भन्नुभयो ।

एकदिन पाटन अस्पतालमा उसलाई नै लिएर म स्वास्थ्य परीक्षण गर्न पुगेँ । 

सात महिनाको बच्चा थियो पेटमा । 

पाटन अस्पतालमा हामीले केहीबेर कुर्नु पर्ने भयो । त्यही केही समय कुर्नु पर्ने भएकाले उसले आफ्नो रिस पोख्न थालिसकेको थियो, अस्पतालका कर्मचारीहरुप्रति । नर्सहरुलाई गाली गर्न थाल्यो । म लज्जित त भएँ नै, उसलाई सम्झाउन पनि प्रयास गरिरहेँ ।

केही बेर त्यहाँ कुर्दाकुर्दै उसले मैले भनेको कुरा मन पराएन । त्यहाँ पनि ऊ बच्चा फालौँ नै भनिरहेको थियो । मैले उसको कुरा वास्ता गरिनँ । म चुपचाप बसेपछि उसले अचानक ममाथि प्रहार गर्यो, मुड्कीले मुखैमा लाग्ने गरि । 

मेरो मुखबाट रगत आउन थाल्यो । अस्पतालमा अरु पनि मानिसहरु थिए, मलाई के गर्नु, के नगर्नु भयो । 

मैले तत्काल बहिनीलाई बोलाएँ । ऊ आइ । अनि हामी त्यहाँबाट निस्कियौँ । त्यो दिनपछि उसलाई मैले गर्ने माया अझ पातलो भएको आभास मलाई भयो । त्यही दिन मैले पहिलो पटक महसुस गरेँ– कसैलाई प्रेम गरेर मैले जीवनमा सबैभन्दा ठूलो गल्ती गरेछु । त्यो दिन घरमा आएर म दिनभर रोएँ, रातभर रोएँ । मेरो आँखाबाट आँसु आउनै छाडिसकेको थियो ।

त्यही दिन मैले आत्महत्या गर्छु भन्ने पनि सोचेँ । तर, फेरि पेटमा भएको बच्चा सम्झिएँ, उसको कुनै गल्ती छैन भन्ने सम्झिएँ । पेटमा भएको बच्चा सम्झिएर र मेरो ममीबुबाको मुख हेरेर त्यो दिन मैले आत्महत्या गरिनँ ।

त्यसको केही दिनपछि ऊ मेरो घरमा आयो ।

घरमा बुबाममी सबैजना हुनुहुन्थ्यो । साँझ झमक्क परिसकेको थियो । अचानक कोठामा आएर उसले मलाई पिट्न थाल्यो । मेरो ममी छुुट्ट्याउन आउनु भयो । घरमा बुबा ममी सबैजना भएकाले म बाँचे । 

त्यसको भोलिपल्ट ममीले मलाई जे भन्नुभयो, त्यो कुराले म सयौँ तलामाथिबाट एकैपटक जमीनमा खसेको जस्तो भएँ । उसले केहीअघि मेरो पेटमा बच्चा भएपछि ममीलाई पनि पिट्न खोजेको रहेछ, तेरो छोरीले गर्दा मेरो जीवन बर्बाद भयो भनेको रहेछ । उसले मेरो बाबालाई पनि केही दिनअघि हात उठाएको रहेछ । बाबा र ममी चाहिँ ज्वाइँ हो भनेर चुपचाप बस्नुहुँदो रहेछ । तर, त्यो दिन ममीले मलाई यी सब कुरा भन्नुभयो । 

त्यसको केही दिन ऊ फेरि हरायो । केही दिनपछि फेरि गाँजा खाएर घरमा आयो । अनि मसँग पैसा माग्न थाल्यो । मसँग आफ्नै उपचार गर्ने पैसा पनि थिएन । त्यो पनि मैले ममीसँग मागेर काम चलाइरहेकी थिएँ । मसँग पैसा थिएन । मैले यही कुरा भनेपछि उसले फेरि मलाई अनेक अपशब्दले गाली गर्न थाल्यो, अनेक लाच्छना लगायो । 

आठ महिनापछि म मोरङ गएँ, उसको परिवारमा चाहिँ मलाई त्यति गाह्रो थिएन । सासूससुराले माया नै गर्नुहुन्थ्यो । मैले मोरङकै अस्पतालमा बच्चा जन्माएँ, मेरो छोरा भयो । 

छोरा हुने दिनमा ऊ पनि मोरङ आइपुगेको थियो । तर, मलाई भेट्न वा छोरा भएको थाहा पाएपछि पनि ऊ अस्पताल आएन । अस्पतालबाट फर्किए पछि एकैपटक हाम्रो घरमा भेट भयो । 

त्यसपछि पनि उसको व्यवहारमा कुनै परिवर्तन आएन, उसले मलाई पिट्ने र गाली गर्ने क्रम रोकेन । छोरालाई पनि उसले माया गरेन । बेलुकी छोरालाई सेकाउन बालेको आगोको भुङ्ग्रोमा नै छोरालाई हालिदिउँ जस्तो गथ्र्यो । छोरालाई उसले काखमा त कहिल्यै लिएन, यतिकै सुतिरहेको समयमा पनि उसले एक महिना पनि नभएको छोरालाई यसरी चिमोट्थ्यो कि छोरा रुन थालिहाल्थ्यो । 

अहिले मेरो छोरा भएको चार महिना पुगिसकेको छ । यसबीचमा उसले मलाई गाली गर्न कहिल्यै छोडेन । कतिसम्म भने उसको फोन नआओस् भनेर मैले मोबाइलमा उसको नम्बर ब्ल्याक लिस्टमा राखिदिएकी छु । 

यता, मेरो घरमा पनि उसलाई नआउनू भनेर बुबाममीले भनिदिनु भएको छ । हो, उता सासूससुरा, दिदीहरुसँग त मेरो कुरा हुन्छ तर उसले दिने यातनाका कारण मलाई त्यो घरमा फर्किएर जानु छैन ।

चार महिने मेरो छोरालाई काखमा लिएर उसको भविष्य सोचेर म डिभोर्स गर्ने निर्णयमा पुगेकी छु ।

मलाई विश्वास छ– यो डिभोर्सले उसले मलाई दिएका सबै पीडालाई भुलाउन त सक्दैन, तर थप पीडा पनि मैले पाउनु पर्दैन ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्