नेपालका एक इन्च भूमि पनि मिच्न दिँदैनाैँ: प्रधानमन्त्री
फाइल तस्वीर ।

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताएका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नेपालको भूमि फिर्ता गर्न सक्षम रहेको मात्र बताएनन्, लिपुलेकबाट भारतीय सेना फिर्ता पठाउने पनि बताए । 

वर्तमान सरकार सीमा सुरक्षा गर्न सक्षम रहेको र अन्यले यसलाई अनावश्यक इस्यु बनाएर उचालिरहेकोमा प्रधानमन्त्री ओलीले रोष प्रकट गरे ।

उनले नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गरेका छन् । उनले भने, 'जनताको देश भक्त सरकार हो । त्यसकारण सरकारले आफ्नो भूमि एक इन्च पनि मिचिन दिँदैन । हामीलाई अरुको जमिन अतिक्रमण गर्नु छैन । हाम्रो जमिनबाट हाम्रा छिमेकीहरुले सेना फिर्ता लैजाओस् । हाम्रो जमिनमा सेना नराख्नुहोस् फिर्ता लैजानुहोस् हाम्रो आग्रह छ ।'

नेपालीहरु शान्तिको पक्षमा रहेको र छिमेकीसँग कुनै पनि तनाब नहोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै उनले सरकारले संवाद मार्फत सिमा सम्बन्धि समस्या समाधान गर्ने बताए ।

कतिपयले नक्सा सच्याउने कुरा उठाएको भन्दै उनले नक्सा नभई भूमि फिर्ता लिने विषय महत्वपुर्ण भएको भन्दै सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको उल्लेख गरे । उनले भने, 'यो सरकार राष्ट्रिय हितको पक्षमा अड्न र लड्न सक्छ । सबैलाई आग्रह गर्न चाहन्छु । सरकारले संवादको माध्यमबाट सीमा समस्याको समाधान गर्छ ।'



नेपालको सिमा सुरक्षाप्रति सबै राजनीतिक दल, नागरिक समाज तथा जनताले  चासो देखाएर ऐक्यवद्धता जनाएकोमा उनले खुसी व्यक्त गरे । पछिल्लो समय राजनीतिक पुर्वाग्रह र आत्मकेन्द्रीत भएर सरकारको विरोध हुने गरेको भन्दै उनले दुवै ढंगका विरोध उचित नरहेको बताए । 

उनले भने, 'दुनियाँमा एउटा आईडोलोजिक क्लास छ । आईडोलोजिक पुर्वाग्रह छ  । नेपालमा अहिलेको सरकारको विरोध दुई किसिमले हुने गरेको छ ।  एउटा विरोध आईडोलोजिक । कम्युनिस्ट सरकार छ । त्यसकारण विरोध गर्नुपर्छ । जे गरेपनि विरोध गर्नुपर्छ । जसो गरेपनि विरोध गर्नुपर्छ । गर्न त राम्रो गरेको छ तर पनि विरोध गर्नुपर्छ । बैचारिक पुर्वाग्रहबाट गरिने विरोध एउटा विरोध छ । अर्को मैले केही पाईन । मैले केही पाएको छैन । मैले भने जस्तो पाइनँ । मैले पाउनुपर्ने मैले नपाएको हुनाले किन समर्थन गर्ने भन्ने आत्मकेन्द्रीत स्वार्थी विरोध छ । यो दुईवटै विरोध उचित छैन ।'



केही वर्ष अघिसम्म पनि मुलुकमा अशान्ति, अराजकता, हत्या हिंसाको अवस्था रहेको स्मरण गर्दै उनले वर्तमान अवस्थमा भने मुलुकमा पुर्णरुपमा शान्ति कायम भएको र राष्ट्रिय हितको पक्षमा दृढ उभिन सक्ने सरकार बनेको ओलीले बताए । 

उनले भने, 'राष्ट्रियताको पक्षमा उभिदिने सरकार भइदिए कस्तो हुन्थ्यो भन्ने एउटा सपना थियो । राष्ट्रिय हितको पक्षमा बोलिदिने, राष्ट्रिय अडान लिने, सार्वभौमसत्ताको अडान लिने, स्वाधिनताको अडान लिने यस्तो सरकार भइदिए हुन्थ्यो भन्ने मृगतृष्णा थियो । आकांक्षा थियो । आज देशको अग्रभागमा भौगोलिक अखण्डता र स्वाधिनताको पक्षमा, राष्ट्रिय हितको पक्षमा दृढ उभिने सरकार छ ।'

  • प्रकाशित मिति : मंसिर १, २०७६ आइतबार १५:३४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया