दान थिङ टुहुरा भए ।
त्यसपछि बल्ल सुरु हुन्छ, सर्लाहीको एक कृषक परिवारमा जन्मिएका दानको कथा । त्यति बेला उनी दुई वर्षका मात्र थिए जब उनकी आमाको निधन भयो । आमाको निधनपछि दानले जुन यात्रा तय गरे, त्यो आफैंमा अपत्यारिलो छ ।
आमाको निधन नहुँदो हो त दान अहिले जे गरिरहेका छन्, ‘सायद’ त्यो गर्ने थिएनन् । आमाको निधन भएको केही समयमा नै दान बिरामी परे । दानको परिवारमा उनको हेरचाह गर्ने कोही भएनन् । उनका एक दाइ र एक दिदी पनि सानै थिए, बाबु खेतको काममा बढी भुलिरहेका हुन्थे । त्यसैले दुई वर्षको उमेरमा नै दुख्न थालेको उनको खुट्टामा तेल लगाइदिने कोही भएनन्, त्यसलाई उपचारको पहिलो प्राथमिकतामा उनको परिवारले राखेन ।
‘आमा नहुँदा मेरो स्याहार सुसार नै राम्रोसँग हुन पाएन,’ दान केही दिनअघि फरक धारको कार्यालयमा आफ्नो विगत सम्झिँदै थिए, ‘म ६ वर्षको मात्र थिएँ होला, मेरो खुट्टाले काम गर्न नै छाड्यो ।’
त्यति बेला दानलाई खुट्टामा समस्या देखिएको थियो । समयमा नै उनको उपचार हुन पाएन । ढिलो गरि उनका बाबुले उनलाई काठमाडौंमा ल्याए ।
अनि यही काठमाडौंले दानको जीवन बदलिदियो ।
‘काठमाडौं आएपछि बल्ल थाहा भयो, मलाई पोलियो भएको रहेछ,’ दानले भने, ‘हामीले शल्यक्रिया पनि गरेका थियौँ । त्यो सफल पनि भएको थियो । तर, मेरो एउटा खुट्टाले काम नगर्ने भयो ।’
दानले लामो सास फेरे । अनि विगतमा फर्किए ।
उनलाई अहिले पनि लाग्छ, बाबु शिक्षित हुँदा हुन् त उनले समयमा नै पोलियोविरुद्धको खोप पाउँथे होलान्, पोलियो थोपा खान पाँउथे होलान् । ‘तर, हाम्रोजस्तो परिवारमा यो सम्भव नै भएन,’ दानले भने ।
२०५९ सालमा दान काठमाडौंमा उपचारका लागि आएका थिए । अस्पतालले दानको खुट्टामा प्लास्टर गरेको थियो । त्यति बेला उनका काका काठमाडौंको एउटा छाला उद्योगमा काम गर्थे । दान र उनका बाबु पनि उनकै कोठामा बसेका थिए ।
दानको खुट्टाको प्लास्टर काटियो, दानका बाबु सर्लाही फर्किने बन्दोबस्त गर्दै थिए । केही ठिक भएको खुट्टा लिएर दान पनि सर्लाही फकिँदै थिए ।
सर्लाही फर्किनु भन्दा अघिल्लो साँझ दानका काका जुन समाचार लिएर कोठामा फर्किएका थिए, त्यसले दानको जीवनमा परिवर्तन ल्याइदियो ।
सौभाग्य भनौँ कि दुर्भाग्य, दानका काकाले त्यो दिन समाचार ल्याएका थिए– दानजस्ता अपाङ्ग तथा असाह्य बच्चाहरुलाई जोरपाटीमा रहेको अपाङ्ग पुनस्र्थापना केन्द्रले सहयोग गरेर १० कक्षासम्म पढाइदिन्छ ।
दानका बाबुले छोराका लागि पनि टिकट काटिसकेका थिए । भाइले ल्याएको यो खबरपछि उनले तत्काल निर्णय गरे– दानलाई काठमाडौंमा नै छोड्ने, आफू मात्रै सर्लाही फर्किने ।
‘त्यसपछि म जोरपाटीमा रहेको अपाङ्ग पुनस्र्थापना केन्द्रमा बस्न थालेँ,’ दानले भने, ‘त्यही संस्थाले मलाई खगेन्द्र नवजीवन केन्द्रमा भर्ना पनि गरिदियो । मैले त्यहाँ पढ्न थालेँ ।’
उनले पढाइमा राम्रो गर्न थाले । ‘म कक्षामा प्रथम भएँ,’ उनी हाँसे, ‘शिक्षकहरुले पनि मलाई माया गर्नुहुन्थ्यो, साथीहरुले पनि सहयोग गर्नुहुन्थ्यो, म पनि उहाँहरुलाई उत्तिकै सम्मान गर्थेँ ।’
कक्षा पाँचसम्म पुग्दा दानको अध्ययन अझ राम्रो हुँदै गयो । उनले पाँच कक्षाको अन्तिम परीक्षामा स्कुल नै टप गरे । दानको यो सफलताले उनी पढिरहेको स्कुलका शिक्षकहरुलाई पनि खुसी बनायो । उनलाई त्यहाँबाट बोर्डिङ स्कुलमा पढाइने भयो । ‘राम्रो पढाइ भएकाले नै मलाई संस्थाले नै गोकर्णेश्वर बोर्डिङ स्कुलमा पढायो,’ उनले भने, ‘त्यहाँ पनि मैले मेहनेत गरेर पढेँ ।’ त्यहाँ पनि उनले राम्रो गरेपछि उनलाई चावाहिलमा रहेको बाबा बोर्डिङ स्कुलमा भर्ना गरियो ।
पढाइमा त दान राम्रा छँदै थिए, उनले त्यहाँ अतिरिक्त क्रियाकलाप तथा खेलहरुमा पनि भाग लिन पाउने भए । ‘खेलकुद र संगीत मलाई मन पर्न थाल्यो,’ दानले भने, ‘मलाई त्यहाँ साथीहरुले भोकल र गितार सिक्न अभिप्रेरित गर्थे ।’
खासमा त्यहाँ दानले कहिल्यै पनि आफ्नो एउटा खुट्टा कमजोर भएको अनभुव नै गर्न परेन । ‘मैले अरु साथीजस्तो आफू त दौडिन सक्दिनँ भन्ने कुरा सोच्नै परेन,’ दानले भने, ‘साथीहरुले सधैं हौसला दिए, त्यसले मलाई अझ अझ राम्रो र आत्मविश्वासी बनाउँदै लग्यो ।’
दानको यो अत्मविश्वास अर्को खुड्किलोमा चढ्दै गएको थियो । तर, फेरि उनलाई संस्थाले स्कुल परिवर्तन गराइदियो । उनी इस्ट पोल स्कुलमा भर्ना भए ।
इस्ट पोलमा १० कक्षासम्म पढ्दा त दानलाई सहज नै भएको थियो । किनकि उनको अध्ययनका लागि चाहिने सबै खर्च त्यही संस्थाले व्यहोरिदिन्थ्यो । तर, जब उनले एसएलसी दिए, त्यसपछि उनले आफ्नो जीवनलाई आफैं डोहोर्याउनु पर्ने भयो ।
‘अब तिमी आफैं केही गर्न सक्ने भइसकेका छौ,’ त्यो संस्थाका सरहरुले भनेको कुरा अहिले पनि दान सम्झिन्छन्, ‘उहाँहरुले मलार्य संसारमा मैले सिक्नु पर्ने कुरा अझ धेरै रहेको पनि बताउनु भएको थियो । त्यो मैले महसुस पनि गरेको थिएँ ।’
किनकि त्यति बेला दानले एउटा सपना बनाइसकेका थिए– एमबिबिएस पढेर मानिसको शरीरको कार्यसन्चालनबारे बुझ्ने ।
‘मानिसको शरीरमा कसरी परिवर्तन आउँछ, मानिसको शरीर कसरी चल्छ भन्ने थाहा पाउन मलाई औधी मन थियो,’ दानले भने, ‘हाम्रो शरीरलाई मस्तिष्कले कन्ट्रोल गर्छ भन्ने मलाई थाहा भइसकेको थियो । यो विषयमा मलाई अझ बढी अध्ययन गर्न मन थियो ।’
तर, सोचेका सबै कुरा पूरा हुँदैनन् । दानको यो चाहना पनि पूरा हुन पाएन । ‘विज्ञान पढेर एमबिबिएस पढ्नका लागि हाम्रो परिवारसँग पर्याप्त पैसा थिएन,’ उनले भने, ‘मैले बुबासँग यो कुरा पनि गरेको थिएँ । उहाँले पनि मैले सोचेकै उत्तर दिनु भयो ।’
विज्ञान पढ्ने त्यो चाहना पूरा नभएपछि दान थिङले पत्रकारिता तथा राजनीतिशास्त्र पढ्ने भए ।
‘अब त कोठाभाडा र अरु खर्च पनि जुटाउनु पर्ने भयो,’ दानले भने, ‘त्यसैले पहिले कलेज भर्ना गर्ने अनि जागिर वा काम खोज्ने भन्ने मनमा उब्जियो ।’
उनलाई कलेज अध्ययनका लागि त्यही संस्थाले आधा रकम व्यहोर्ने भयो । उनी कलेज पढ्न थाले । दिउँसो एउटा संस्थामा जागिर पनि खान थाले ।
त्यहीबीच उनलाई एकजना ‘दाइ’ले भने, ‘तिमीले त खेलकुदमा लाग्यौ भने पनि राम्रो गर्न सक्छौँ नि ।’ पहिलो पटक राम्रोसँग ह्विलचेयर बास्केटबलबारे सुनेका थिए, दानले ।
बास्केटबल त दानलाई पहिले पनि खेल्न मन पर्ने खेल थियो । ‘पहिला पनि खेल्न मन लाग्थ्यो,’ दानले भने, ‘तर, पाएको थिइनँ । त्यो दिन ती दाइले जे भने त्यसले गर्दा मैल लामो समयसम्म बास्केटबलको कल्पना गर्न थालेँ ।’
फलस्वरुपः दानले बास्केटबल खेल्न थाले, बास्केटबलमा केही गर्छु भनेर अगाडि बढ्न थाले ।
कामबाट बचेको समय अब दानले पूरै बास्केटबललाई दिन थाले । जावलाखेल र बागबजारमा तालिम गर्न थाले । ‘त्यति बेला सार्वजनिक यातायातमा ओहोरदोहोर गर्दा निकै दुःख पाएँ,’ दानले भने, ‘तर, बास्केटबल मेरो प्यासन थियो, म यसमा लाग्छु भन्ने आत्मविश्वासका साथ अगाडि बढेको थिएँ । त्यसैले जस्तासुकै अप्ठ्यारो पर्दा पनि मैले आफ्नो प्यासन पछ्याउन सकिनँ ।’
त्यही प्यासन र आफूले देखेको भविष्यका कारण दान अगाडि बढ्दै गए । अनि उनी नेपालको ह्विलचेयर बास्केटबल टिममा पर्न सफल भए । ‘त्यो दिन नै म सबैभन्दा खुसी भएको दिन थियो,’ दानले भने, ‘त्यही दिन मैले न्युरोलोजिस्ट पढ्न नपाएर तुहाएको सपना सम्झिएको थिएँ तर त्यो पीडालाई पनि नेपालको राष्ट्रिय टिममा पर्दा मैले बिर्सिएँ ।’
नेपालको राष्ट्रिय टिममा परे पनि दानले त्यसपछि दुःख पाउन छाडेनन् । कतिसम्म भने पैसा नभएकाले नै दानले त्यसपछि बंगलादेशमा भएको एउटा खेल मिस नै गर्नु पर्ने भयो ।
‘खेलाडीहरुले आफ्नो खल्तीबाट पैसा हाल्नुपथ्र्यो,’ उनले भने, ‘त्यति बेला चाहिने ५० हजार मसँग थिएन । त्यसैले मैले त्यो खेल खेल्न पाइनँ ।’
आर्थिक अभावका कारण विदेश जान नपाए पनि दानले सार्क रिजनल ह्विलचेयर बास्केटबल च्याम्पियनसिप चाहिँ खेल्ने भए । यो खेल नेपालमा नै हुन लागेको थियो । यो खेलमा उनी नेपाली टिममा छानिएका थिए ।
सन् २०१७ मा भएको यो खेल नेपालले जित्यो । अनि दान टुर्नामेन्टका उत्कृष्ट खेलाडी पनि भए ।
त्यस यता बास्केटबल टुर्नामेन्टमा दानले निकै राम्रो प्रदर्शन गरिरहेका छन् । दुई साताअघि पनि उनले भारतको नयाँ दिल्लीमा भएको खेलमा राम्रो प्रदर्शन गरे । त्यो खेलमा पनि नेपालले भारतलाई सहजै जितेको थियो ।
बास्केटबलमा दानले अब त निकै धेरै अन्तर्राष्ट्रिय खेल जितिसकेका छन् । अनि उनी अब बास्केटबलमा मात्र सिमित छैनन्, उनले त अहिले ह्विलचेयर क्रिकेट टिममा पनि आफ्नो स्थान बनाइसकेका छन् ।
आखिर बास्केटबलमा राम्रो गरिरहेका दान किन क्रिकेटमा आउन चाहे त ?
‘क्रिकेटमा पनि मेरो गहिरो रुचि छ,’ दानले भने, ‘म आफूलाई एउटा खेलमा मात्र सिमित गराउन चाहन्नँ, अलराउन्डर बन्न चाहन्छु ।’
‘फेरि बास्केटबलमा मात्र लागेर पनि जीवन निर्वाह गर्न गाह्रो छ,’ दानले भने, ‘हामीजस्ता खेलाडी एउटा खेलमा मात्र सिमित भएर पनि हुँदैन ।’
एकातिर धेरै खेलमा लाग्नु दानको चाहना हो भने अर्कोतिर दानले यही चाहनाका कारण दानले जीवनमा खुसी हुने अरु कुरा पनि पाएका छन् । त्यो हो, ह्विलचेयर बास्केटबलमा दानले पाउँदै गएको सफलता ।
गत वर्षमात्र नेपालमा भएको त्रिकोणात्मक ह्विलचेयर क्रिकेट सिरिजमा नेपालले ट्रफी उचालेको थियो । त्यो खेलमा दानको महत्वपूर्ण भूमिका थियो । सरकारले यो सिरिज जिताएकोमा नेपाली खेलाडीलाई एक एक लाख रुपैयाँ पनि दिएको थियो ।
तर, यस्तो बेलाबेलामा सरकारले गर्ने सहयोगले मात्र पनि खेलाडीको भविष्य सुनिश्चित नहुने निष्कर्षमा दान पुगेका छन् । त्यसैले त अहिले सर्लाहीबाट बेलाबेला बाबुले फोन गर्दा दानलाई भन्छन्– खेल खेल भनेर मात्रै नबस्, त्यसले खान पुग्दैन, पढेको छस्, लोकसेवा लड् र जागिर खा !
यो कुरा दानले पनि राम्रोसँग बुझेका छन् । करिअरले मात्र होइन, दानलाई पछिल्लो समय आफ्नो घरको आर्थिक अवस्थाले पनि चिन्ता छोड्न थालेको छ ।
तर, उनले पोलियोका कारण गुमाएको खुट्टासँग लडे, अब उनी अरु जस्तोसुकै बाधा तथा व्यवधान आए पनि लड्न तयार भएको बताउँछन् । ‘हामी नेपाली खेलाडीमा निकै धेरै क्षमता छ, ल्याकत छ,’ दानले भने, ‘खासमा मलाई त ओलम्पिकमा सहभागी भएर नेपालका लागि पदक जित्नु छ ।’
यो आँट र हौसलामा इँटा बनेका छन्, उनको खेल हेर्ने दर्शकहरु । किनकि जो दर्शक उनको खेल हेर्न पुग्छन्, उनीहरुले उनलाई प्रतिक्रिया दिन्छन्, ‘तँ सक्छस् ।’
यही कुरा दानलाई पनि महसुस हुन्छ । झन्, पछिल्लो समय त उनी नेपाली सेनाको ह्विलचेयर टिममा परेका छन् । यसले उनलाई अझ बलियो बनाएको छ ।
बरु दान त आफूलाई अझ धेरै क्षेत्रमा अगाडि बढाउन चाहन्छन् । त्यसैले उनी आजभोलि पनि कहिलेकांही कुनै कलेजमा मोटिभेसनल स्पिकरका रुपमा पुग्छन् ।
पोलियोका कारण एउटा खुट्टा गुमाउन परे पनि उनले सपना सजाउन छोडेका छैनन् । बरु उनी त राजनीतिमा पनि आफू आउन सक्ने बताउँछन् । ‘बरु यस्तो दिन आओस्,’ त्रिचन्द्र क्याम्पसमा राजनीतिशास्त्रमा अध्ययन गरिरहेका दान भन्छन्, ‘म राजनीतिबाट आफूजस्ता असाह्य र देशकै लागि केही गर्न चाहन्छु, नेतृत्व लिनुपर्छ र अगाडि बढ्नु पर्छ भन्नेमा मलाई विश्वास छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।