बालाचतुर्दशीमा पशुपतिलगायत शिव मन्दिरमा शतबीज छर्नेकाे घुइँचाे

काठमाडौं– मार्गशीर्ष कृष्ण चतुर्दशी बालाचतुर्दशीका दिन बिहानैदेखि पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्न लाखौँ भक्तजनको लर्को छ । हिजो बिहानैदेखि पशुपतिलगायत शिवालयमा महादीपदान गरी बसेका भक्तजनले साेमबार बिहानै नदीमा स्नान गरी शतबीज छरेका हुन् । बालाचतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवंगत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ ।

हेमाद्रिलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको १०० गेडा छर्ने विधि भएपनि हाल कतिपयले व्यवहारमा मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने गरेका छन् । मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवंगत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेपछि खानका लागि अन्न छरिएको भन्ने मान्यतासमेत छ ।

शतबीज छरेमा दिवंगत पितृले मोक्ष पाउने जनविश्वास छ । यसै विश्वासका आधारमा पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरूप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भीड लागेको छ । 

गत वर्षदेखि बालाचतुर्दशीको मेला भर्न पशुपति क्षेत्रमा आएका भक्तजनलाई चिसो नहोस् भनी पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको थियो । यस वर्ष त्रिपालमुनि बसेर महादीपदान गर्ने भक्तजनसँग शुल्क लिन नपाउने व्यवस्था गरिएको कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिए । कसैले शुल्क उठाएको पाइएमा कारबाही गर्ने उनले बताए । यसका लागि पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ । चारवटै सुरक्षा निकायको समन्वयमा पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको हो ।

यस वर्षदेखि यो नयाँ व्यवस्था गर्दा रातभर दीपदान गरेर बस्नेलाई सुविधा पुगेको छ । विसं २०७४ सम्म त्रिपालको समेत व्यवस्था नहुँदा श्रद्धालु चिसोले कठ्यांग्रिने गरेका थिए । पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबारअघिको सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजनले दिव‌ंगत पितृका नाममा शतबीज छरिरहेका छन् । बालाचतुर्दशीका दिन पशुपति क्षेत्रमा आउने भक्तजनले वासुकी र गुह्येश्वरी मन्दिरमा पनि विशेष पूजा गर्ने विधि छ । 

पशुपतिलगायत देशभरका शिवालयमा आज सोमबार परेकाले पनि पितृका नाममा शतबीज छर्नेबाहेकका भक्तजनको समेत उपस्थितिका कारण बढी भिड छ । शतबीज छरिसकेर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बालाचतुर्दशी पर्व समाप्त हुन्छ । 





  • प्रकाशित मिति : मंसिर ९, २०७६ साेमबार १६:३७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया