इराकी प्रधानमन्त्रीले किन दिए राजीनामा ? अब त्यहाँ के हुन्छ ?

एजेन्सी– इराकका प्रधानमन्त्री अब्दुल महदीले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार बिहिबार सरकार विरोध प्रदर्शनमा ४० भन्दा धेरै इराकी मारिएपछि प्रधानमन्त्री अब्दुलले यो निर्णय लिएका हुन् ।

अक्टोबरबाट सुरु भएको सरकार विरोधी प्रदर्शनमा बिहिबार सबैभन्दा बढी हिंसा भएका थिए । 

इराकका सर्वोच्च शिया धामिर्क नेताले प्रदर्शनकारीविरुद्ध अत्यधिक बल प्रयोग गरेको भन्दै निन्दा गरेका थिए । र, उनले नयाँ सरकार गठनको आह्वान पनि गरेका छन् । 

अक्टोबरदेखि अहिलेसम्म त्यहाँ ४ सयभन्दा धेरै प्रदर्शनकारीहरु  मारिएका छन् । शुक्रबार पनि कम्तिमा १५ जना मारिएका छन् । 

प्रदर्शनकारीहरुले भ्रष्टाचार, बेरोजगारको अन्त्य हुनु पर्ने माग गर्दै नागरिक सुविधाको पनि माग गरेका छन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले त्यहाँ प्रदर्शनकारीमाथि लगातार भइरहेको गोलीबारी अत्यन्त चिन्ताजनक भएको बताएका छन् ।

इराकमा शियाका सर्वोच्च धार्मिक नेता अलि अल सिस्तानले नयाँ नेता चुन्ने आह्वान गरेपछि नै त्यहाँ प्रधानमन्त्रीले राजीनामा दिने घोषणा गरेका हुन् । 



प्रधानमन्त्रीले हस्ताक्षर गरेको एक विज्ञप्तिमा सिस्तानीको यो आह्वानसँगै आफूले राजीनामा दिएको बताउँदै संसदलाई आफ्नो राजीनामा स्वीकार गर्न अनुरोध गरेका छन् । 



तर, विज्ञप्तिमा उनले संसदमा कहिले राजीनामा पेश गर्नेछन् भन्नेबारे बताइएको छैन ।

उनको यो सरकारमाथि दुई महिना यताका घटनालाई सल्टाउन यो सरकार असफल भएको उल्लेख गरिएको छ ।

यो घटना खासमा एक वर्ष पहिलेको घटना हो ।  एक वर्ष पहिले त्यहाँ महदी प्रधानमन्त्री बनेका थिए । त्यति बेला उनले जुन सुधारको वाचा गरेका थिए, ती पूरा हुन सकेका थिएनन् । यसको विरोधमा अक्टोबरमा इराकमा युवाहरुले प्रदर्शन सुरु गरे । पहिलो ६ दिनमा नै त्यहाँ १४९ जना मानिसहरु मारिए । प्रधानमन्त्रीले क्याबिनेटमा परिवर्तन गर्ने र बेरोजगारी समस्या सल्टाउने वाचा फेरि गरे । 

तर, युवाहरुले सरकारले आफ्ना कुनै पनि माग नमानेको बताए । अनि उनीहरु सडकमा उत्रिन थाले । सुरक्षाकर्मीले यी आन्दोलन दबाउने प्रयास त गरेका थिए । तर, यही बीचमा प्रधानमन्त्रीको राजीनामा आएको हो । 

तर, प्रधानमन्त्रीको यो घोषणा पछि पनि त्यहाँ आन्दोलन रोकिएको छैन । शुक्रबार मात्र नासिरियामा १५ प्रदर्शनकारी मारिएका छन् । 

महदीको राजीनामालाई त्यहाँका प्रदर्शनकारीले स्वागत त गरेका छन् तर उनीहरुले यतिमात्र आफ्ना माग पूरा नहुने पनि बताएका छन् ।

प्रदर्शनकारीहरुले इराकी सरकारको भ्रष्टाचार तथा प्रशासनिक विफलताको कारण इरान जिम्मेवार भएको पनि बताएका छन् । उनीहरुले इरानविरुद्ध समेत नारा लगाउँदै इरानी वाणिज्य दूतावासमा आगो लगाइदिएका पनि छन् ।  

  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार १८:५४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया