पाँच महिना भइसक्दा पनि बाँडिएन राहत

जाजरकाेट– बाढी, पहिरोले घरखेत बगाएको ५ महिना पुगे पनि पीडितले अझै राहत पाएका छैनन् । गत असार २८ गते मुड्केचुला गाउँपालिका १, काँशिला खोला डोल्पामा आएको बाढीले सर्वसाधारणका घरखेत, खानेपानी र विद्युत् बगाएपछि समस्यामा परेका पीडितले अझै राहत पाउन नसकेका हुन् । 

पहिरोले यहाँका ११ घरपरिवारको थातथलो बगाएको हो । ३ गाउँको खानेपानी, विद्युत् उत्पादन गृह, बाटोका साथै काठेपुल पनि बगाएको थियो । ५ महिना बित्दा पनि पीडितले ३० केजी चामल, अलिअलि कपडा र केही भाँडाकुडाबाहेक थप केही पाएका छैनन् । अहिले माथिल्लो डोल्पासँगै तल्लो डोल्पामा दैनिक चिसो बढेको छ । आफूहरू राहतकै पर्खाइमा रहेको स्थानीय ४५ वर्षीया पुतली बोहोरा बताउँछिन् । उनले भनिन्, ‘प्रदेश सरकारले सबै बाढीपीडितको उचित व्यवस्थापनका लागि सहयोग गर्ने भनी प्रदेशका मन्त्री नन्दसिंह बुढाले भन्नुभएको थियो, तर ५ महिना बित्दा पनि राहत पाउन सकिएन ।’

काँशिला खोलामा आएको बाढीले बगाएर ११ जनाको मत्यु भएको थियो । मृत्यु भएकामध्ये १२ वर्षीया सारिका बोहोरा, ४१ वर्षीय धर्मराज बोहोरा, १३ वर्षीया सोना सार्की र २३ वर्षीया चन्द्रकुमारी सार्कीको शव भेटिएको थियो । तर, १२ वर्षीया धनरूपा बोहोरा, १५ वर्षीया वृहस्पति बोहोरा, २३ वर्षीय पञ्चे सार्की, २३ वर्षीया साउनी विक, ४२ वर्षीया रंगी बोहोरा, ४२ वर्षीय कालीबहादुर बोहोरा र ३५ वर्षीय लवकुमार रोकायको शव अझै भेटिएको छैन ।

जिल्ला प्रशासन कार्यालयले बाढीमा परेर मृत्यु भई शव भेटिएका ४ परिवारलाई १ लाखका दरले राहत उपलब्ध गराए पनि सँगै ज्यान गुमाएका तर शव नभेटिएकाका आफन्तजनले भने केही पनि राहत पाएका छैनन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले मृत्यु भएर शव भेटिएका ४ पीडित परिवारलाई १ लाखका दरले राहत उपलब्ध गराइएको र बाँकी ७ घरपरिवारलाई पनि राहतका लागि गृह मन्त्रालयमा पहल गरिरहेको जानकारी दिए । उनका अनुसार अन्यलाई १० हजार रुपैयाँका दरले सहयोग गरिएको र गृहबाट रकम प्राप्त भएपछि वितरण गरिनेछ । बाढीपीडित अँध्यारोमा बस्न नपरोस् भनेर सोलारको व्यवस्था गरिएको र छिट्टै नै बाढीपीडितको बासस्थानमा पुगेर वितरण गरिने मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाही बताउँछन् । यहाँ रहेको फेम्ली अस्पतालमा विद्युत् नहुँदा ५ महिनादेखि भिडियो एक्सरे, ल्याब सेवासमेत बन्द भएको छ ।

सम्बन्धित जिल्लाका मन्त्री र सांसद भएर पनि ५–५ महिनासम्म बाढीपीडितले राहत नपाएर कष्टपूर्ण जीवन बिताउनु पर्दा प्रदेश सरकार र जिल्लाकै मन्त्रीको चर्को आलोचना हुँदै आएको छ । यता जाजरकोटको नलगाड नगरपालिकाको कालीमटी, घुवारालगायत ठाउँमा अघिल्लो वर्ष आएको बाढीले तहसनहस भएको संरचना अझै निर्माण भएका छैनन् । बजेट अभाव हुँदा यहाँका संरचना निर्माण नभएको नलगाड नगरपालिकाले जनाएको छ । झुर्मेखोलाको बाढीले ४२ भन्दा बढी पानी घट्ट, सयौं मुरी फल्ने धान लगाएको खेत नष्ट बनाएको थियो । खानेपानीका योजना बगाउँदा अहिलेसम्म पनि त्यहाँ खानेपानी आपूर्ति हुन सकेको छैन ।

त्यस्तै नलगाडको तल्लुमा रहेको बस्ती भेरी नदीको कटानले असुरिक्षत भए पनि अहिलेसम्म त्यहाँको व्यवस्थापन गर्न सरोकारवालाले चासो नदेखाएको पीडितहरूको भनाइ छ । नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले नगरको समस्या लिएर काठमाडौं आए पनि सम्बन्धित मन्त्रीसँग भेट नहुँदा जाजरकोट फर्किएका छन् । ४ दिन बस्दा पनि मन्त्रीसँग भेट हुन नसक्दा उनी जिल्ला फर्किएका छन् । जिल्लाको सबैभन्दा बढी नलगाड नगरपालिकामा बाढीले क्षति बनाएको थियो ।रुकुम पश्चिम आठ बिसकोट नगपालिकाको गत्ताशैनामा बाढीले क्षति बनाए पनि त्यहाँका बासिन्दाको उचित व्यवस्थापन नभएको स्थानीयको आरोप छ । बर्सेनि आउने बाढीले आफूहरू समस्यमा परेको स्थानीय रातो टमटा बताउँछन् । भेरी नदी छेउछाउका बस्ती जोगाउन तटबन्ध लगाउनुपर्ने भन्दै स्थानीय सरकारले चासो दिए पनि बजेट अभावमा काम हुन सकेको छैन ।



– रासस



  • प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार ८:३६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया