राष्ट्रिय सभामा को कसको सकिँदैछ पदावधि ?
फाइल तस्वीर ।

काठमाडौं– १४ मंसिरमा उपनिर्वाचन गरेपछि अब निर्वाचन आयोग राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि जुटेको छ । 

राष्ट्रिय सभामा १९ जना सदस्यको पदावधि २० फागुनमा सकिँदैछ ।

संसद् सचिवालयले राष्ट्रिय सभामा रिक्त हुने स्थानबारे जानकारी गराउँदै निर्वाचन आयोगलाई पत्र लेखिसकेको छ । त्यसैले पनि निर्वाचन आयोग निर्वाचनका लागि जुटेको हो । १९ मध्ये राष्ट्रिय सभा सदस्यका लागि १८ जनाको निर्वाचन विभिन्न प्रदेशमा गर्नु पर्ने हुन्छ । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडा भने राष्ट्रपति बाट मनोनित हुन् । उनको पनि पदावधि सकिने भएकाले राष्ट्रपतिले एक जनालाई मनोनित गर्नेछिन् । 

कानुनी व्यवस्थाअनुसार राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नु पर्ने हुन्छ । त्यसैले यसपटकको निर्वाचन कम्तिमा पनि १५ माघभन्दा अगाडि नै गर्नु पर्ने हुन्छ ।

पहिलो पटक गोलाप्रथाबाट राष्ट्रिय सभा सदस्यहरुको अवधि निर्धारण गरिएको थियो । राष्ट्रिय सभामा एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । यसको अर्थ के होइन भने अहिले निर्वाचित राष्ट्रिय सभाका सदस्यहरुको पदावधि पनि गोलप्रथाबाट निर्धारण गरिन्छ वा उनीहरुको समय दुई वर्षमा सकिन्छ । अब त सबै राष्ट्रिय सभा सदस्यहरुको पदावधि ६ वर्षको हुनेछ । 

५९ जना सदस्य रहेको राष्ट्रिय सभामा यसपटक १९ जनाको पदावधि सकिँदै छ । अबको दुई वर्षपछि २० जना र अबको चार वर्षमा २० जनाको अवधि सकिँदै छ । 



दुई वर्षे कार्यकाल पूरा गरेर २० फागुनबाट बाहिरिने राष्ट्रिय सभा सदस्यहरुमा नेपाल कम्युनिस्ट पार्टीका सबैभन्दा धेरै छन् । नेपाल कम्युनिस्ट पार्टीका नौ जना, कांग्रेसका सात जना, राजपाका दुई जना र समाजवादी पार्टीका एक जनाको पदावधि अब सकिन लागेको हो ।

पदावधि सकिनेमा प्रदेश १ बाट सरिता प्रसाईं, हरिशरण शिवाकोटी, प्रदेश २ बाट रमेशप्रसाद यादव, मुक्ताकुमारी यादव, प्रदेश ३ बाट बलरामप्रसाद बाँस्कोटा, धनकुमारी खतिवडा, प्रदेश ४ बाट सुरेन्द्रराज पाण्डे, बिन्दादेवी आले, प्रदेश ५ बाट मीना बुढा, दुर्गाप्रसाद उपाध्याय, प्रदेश ६ बाट युटोल तामाङ, कालीबहादुर मल्ल, प्रदेश ७ बाट बद्रीप्रसाद पाण्डे, कमलाकुमारी ओली रहेका छन् । त्यस्तै, खेमराज नेपाली, रामप्रित पासवान, राजकुमार कुँवर, वृषेशचन्द्रलालको पनि पदावधि सकिँदै छ ।



त्यस्तै, राष्ट्रपतिबाट मनोनित तथा अहिले अर्थमन्त्री रहेका डा. युवराज खतिवडाको पनि पदावधि सकिँदै छ । यो पदका लागि फेरि पनि सरकारको सिफारिसमा राष्ट्रपतिले नै एकजना सदस्य मनोनित गर्नेछिन् । 

राष्ट्रिय सभाको निर्वाचन यसअघिको जस्तै प्रणालीबाट हुनेछ । चुनाव प्रदेशमा नै हुने छ र त्यसमा यसअघि जस्तै प्रदेश सभा, गाउँपालिका, नगरपालिकालगायतका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार १०:१३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया