Thu, 16 Jul, 2020


कसरी सम्भव छ नेताहरुकाे लग्जरियस लाइफ ?
नारायण गाउँले
फरकधार / मंसिर २५, २०७६

के कहिल्यै सोच्नुभएको छ ? हरेक गाउँ र वडामा नेकपा र कांग्रेसका दर्जनौँ यस्ता नेता–कार्यकर्ता छन्, जसले न जागिर खान्छन् न कुनै व्यवसाय गर्छन् । तर, तिनको जीवनशैली आमजनताको भन्दा धेरै माथि छ । ती हरेक कार्यक्रम र भेलामा पुग्छन्, भाषण गर्छन्, देशविदेश डुल्छन् र सधैँ महँगा होटेल या रेस्टुरेन्टमा भेटिन्छन् । तपाईं एक कट्ठा जग्गा जोड्न बर्सौं मिहिनेत गर्नुहुन्छ, अरब पस्नुहुन्छ, तर ती हेर्दा हेर्दै अग्लो घर ठड्याउँछन् र गाडी चढ्छन् । तपाईं गाडीभाडा बढेकोमा चिन्तित हुनुहोला, ती प्लेनमा यात्रा गर्छन् । मन्त्री, सांसद या मेयर भेट्न तपाईंलाई गाह्रो होला, तर ती ‘बडीगार्ड’झैँ जहाँ पनि साथ हुन्छन् । तपाईंकहाँ भोट माग्ने वेला पनि मुस्किलले आउने ‘भिभिआइपी’हरू तिनको बिहे, व्रतबन्धदेखि सटर उद्घाटनसम्म भ्याउँछन् । तपाईंलाई फिस तिर्न साह्रो होला, तर तिनका सन्तान वरपरको सबैभन्दा महँगो स्कुल जान्छन् ।



के तपाईंले कुनै ठेकेदारको फोटो गाडीको सिसामा टाँस्नुअघि ती ‘नेता’को आयस्रोत र जहिले उकालो लाग्ने सम्पत्तिबारे औँला उठाउनुभएको छ ? द्वन्द्व, लोडसेडिङ, भ्रष्टाचार, कमिसनतन्त्रजस्तो कठिन परिस्थितिमा समेत उद्योगधन्दा चलाएर रोजगारीसहित देशको अर्थतन्त्र धराशायी हुन नदिने उद्योग–व्यवसायीलाई करछलुवा भनेर गाली गर्न सजिलो छ, तर सांसद् हुँदा तलबले खान र गाउँ जान पुग्दैन भनेर संसदमै रुनेहरू पूर्वसांसद बनेर पनि कसरी ‘लग्जरियस’ जीवन बिताउँदै छन् भनेर सोध्नुभएको
छ ? सम्पत्ति विवरणमा एक कट्ठा जग्गा र दुई तोला सुन देखाउनेहरू सामान्य रोगको उपचार गर्न अमेरिकादेखि स्विट्जरल्यान्डसम्म सपरिवार कसरी पुग्न सक्छन् भनेर सोध्नुभएको छ ?

सधैँ ठेक्का कसले पारिरहन्छ भन्ने पनि हामी धेरैलाई राम्ररी थाहा छ । एनसेलजस्ता कम्पनीले हाम्रा नेताको फोटो पत्रिकाका फ्रन्ट पेजदेखि सडकका पोलपोल सम्म टाँगिदिनुपर्ने, चुनाव खर्चदेखि जो सत्तामा आउँछ, उसलाई ठूलो नजराना बुझाउनुपर्ने कुरो ‘ओपन सिक्रेट’ भएको हामीलाई थाहै छ । कर तिरेन भनेर आज बम पड्काउने र निर्दोष नागरिकको ज्यान लिने कुनै दलले भोलिपल्ट करोडौँ चन्दा मागेर रसिद पठाउँछ भन्ने पनि हामीलाई थाहा नै छ । बारम्बार ब्ल्याक लिस्टमा परे पनि फेरि ठूलो ठेक्का पप्पु कन्स्ट्रक्सनले नै पाउँछ भन्ने पनि हामी धेरैलाई थाहा छ । खासमा देशको ढुकुटी पुग्नुपर्ने रकम तिनै नेता–कार्यकर्ता पाल्न खर्च भइरहेछ । विश्वभर राम्रो ख्याति कमाएका कम्पनी र ठेकेदार पनि हाम्रोमा कमिसनको भारले गर्दा काम सकिनै लाग्दासमेत छोडेर हिँड्नुपर्ने बाध्यता छ ।

उद्योगी या ठेकेदारलाई दोष दिन सजिलो छ । तर, एउटा ठेक्का पाउनेदेखि सम्पन्न गर्दासम्म उसले खरदारदेखि पार्टीका सरदारसम्मलाई बुझाउनुपर्ने कमिसनबारे सोच्ने फुर्सद हामीलाई छैन । ८० हजार तलब बुझ्ने प्रचण्डले एक लाखको घरभाड़ा कसरी तिर्छन् भन्ने प्रश्न गर्नुभन्दा शारदाप्रसाद अधिकारीको फोटो टाँस्न सजिलो पनि छ । क्रिकेट खेलेर कमाए स्रोत देखाउनुपर्ने, तर राजनीति गरेर कमाए छुट हुने अवस्था रहेसम्म देशको उन्नति यस्तै त होला नि ?

(लेखक बेलायतमा बसेर समसामयिक विषयमा कलम चलाउँछन् )


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्