काठमाडौं– बालाजु बाइपासबाट तीन किलोमिटर जस्तो उत्तरतर्फ बोहोराटारसम्म पुग्ने बाटो । राजधानीकै सडक भए पनि कच्ची बाटो भएकाले मनग्य धुलो उडिरहेको हुन्छ । अलिक अगाडि छ, पृथ्वी नारायण उच्च माध्यमिक विद्यालय । त्यही स्कुलको छेवैमा छ, एउटा होस्टल ।
काठमाडौंमा पछिल्ला वर्षमा होस्टल खुल्ने क्रम बढेको बढ्यै छन् । तर, पृथ्वी नारायण स्कुल छेवैको यो होस्टल ती तमाम होस्टलभन्दा फरक छ, आफ्नो छुट्टै पहिचानमा उभिएको छ । त्यसैले त्यहाँ वरपर जसलाई सोध्दा पनि यो होस्टल चिनाइदिन्छन् ।
यो होस्टलको यो फरक पहिचान हो– यसलाई सन्चालन गरिरहेका छन्, विनोद काफ्ले ।
र, यहाँसम्म आइपुग्न विनोदले एउटा लामो यात्रा तय गरेका छन् ।
२०२० साल, स्याङ्जामा जन्मिएका हुन् विनोद काफ्ले । उनी जन्मिएको केही महिनामा नै उनको परिवार स्याङ्जाबाट चितवन बसाइँ सर्यो ।
चितवनमा नै हुर्किए, विनोद । त्यहाँ नै पढ्न थाले । उनका बाबुले छोराछोरीलाई पढाउन सजिलो हुन्छ भनेर चितवन रोजेका थिए, स्याङ्जाको पुख्र्यौली थलो छोडेका थिए ।
विनोद र उनका भाइ र बहिनीलाई स्कुलमा भर्ना गरेका थिए, उनका बाबुले । विनोदले पनि पढाइमा राम्रो गर्न थाले, बाबुको सपनालाई साकार बनाउँदै लगिरहेका थिए ।
‘नौ कक्षासम्म म कहिल्यै दोस्रो भइनँ,’ विनोदले सम्झिए ।
तर, नौ कक्षासम्म जुन बाटोमा हिँडेका थिए विनोद, १० कक्षाको अन्त्यसम्म त्यही बाटोमा उनी अगाडि बढ्न पाएनन् ।
उनको बाटो मात्रै मोडिएन, जीवनका उकालीओरालीहरुमा फरक धून बज्न थाल्यो ।
यो एसएलसीको तयारीको कुरा हो । विनोदलाई अरु सबै विषयमा राम्रो गर्न सक्छु भन्ने थियो । तर, उनी गणितमा त्यति ‘कन्फिडेन्ट’ थिएनन् । त्यसैले उनी गणितको ट्युसन पढ्न थालेका थिए । ट्युसन पढाउने शिक्षककहाँ पुग्न उनलाई २५ मिनेट लाग्थ्यो, साइकलमा ।
३६ वर्ष अगाडिको घटना हो यो । एक दिन उनी सधैंझैँ साइकल निकालेर ट्युसन पढ्न निस्किए ।
शिक्षककहाँ त उनी पुगे, त्यो दिन तर पढ्न सकेनन् । उनको आँखा बिझायो । ‘साइकल चलाएर सरकोमा जाँदा नै आँखा पोलेको थियो, रसाइरहेको थियो,’ विनोदले ३६ वर्षअघिको त्यो दिन सम्झिए, ‘सरलाई मैले पढ्न सक्दिनँ होला भनेँ ।’
उनी त्यहाँबाट घर फर्किए । घरसम्म छोड्नका लागि उनलाई एक जना साथीले साथ दिए ।
त्यो दिन यत्तिकै बित्यो । विनोदलाई भोलिपल्ट बाबुले भरतपुर आँखा अस्पताल पुर्याए । त्यहाँ उनको आँखामा भएको समस्याबारे खासै पत्ता लागेन, एउटा औषधी लिएर विनोद घर फर्किए ।
केही दिनसम्म पनि कुनै सुधार नभएपछि विनोद र उनका बाबु काठमाडौं आए, आँखा जचाउन । ‘काठमाडौंको नेपाल आँखा अस्पताल निकै चर्चित थियो, त्यहाँ डाक्टर रामप्रसाद पोखरेल हुनुहुन्थ्यो,’ विनोदले सम्झिए, ‘हामीले उहाँलाई नै आँखा देखायौँ ।’
तिनै डा. पोखरेलले विनोदलाई भने– तिम्रो आँखामा बाहिरी समस्या होइन, भित्री समस्या छ ।
केही औषधिको पोकोपुन्तरो लिएर विनोद चितवन फर्किए । केही दिनमा नै उनको आँखा रसाउन छाड्योे । तर, आँखा बिझाउन चाहिँ छोडेन ।
‘रसाउन त छाडेको थियो,’ विनोदले भने, ‘बिझाउन चाहिँ कम भएको थिएन । मैले आँखा देख्न पनि कम हुन थालेको थियो ।’
२० वर्षका मात्र थिए विनोद । उनले विस्तारै आँखाको ज्योति गुमाउन थालिरहेका थिए । यो कुराले उनलाई मात्र होइन, परिवारमा पनि चिन्ता बढाउँदै गयो ।
केही महिनामा कतिसम्म भयो भने उनले किताबका अक्षर नै खुुट्ट्याउन नसक्ने भए । उनले आँखा देख्न छाडे । मुखैमा आएको एसएलसी परीक्षा पनि दिन पाएनन्, विनोदले ।
विनोदले परीक्षा छाडे पनि उनको परिवारले हिम्मत छाडेका थिएनन्, विनोदलाई विभिन्न अस्पताल र ठाउँमा पुर्याइरहेका थिए । तर, जहाँ गए पनि विनोदको आँखामा कुनै सुधार आएको थिएन । यता र उता गर्दागर्दै तीन वर्ष बित्यो, विनोदको आँखाको ज्योति फर्किएन ।
पछिल्लो पटक काठमाडौं आउँदा विनोदका बाबुले पनि आश गुमाए । डा. पोखरेलले उनीहरुलाई त्यसपछि पठाइदिए तत्कालीन अन्धा कल्याण संघ, त्रिपुरेश्वरमा ।
त्यहाँ केही सहयोग पाउने भए, विनोदले । उनका बाबुले उनलाई बालाजुमा आफन्तकोमा बस्ने बन्दोबस्त गरे र आफू फर्किए ।
उज्यालो भिजन लिएर चितवनबाट काठमाडौं आएका विनोदको त्यसपछि काठमाडौंमा सुरु भयो, अँध्यारो यात्रा । तर, यही अँध्यारोमा पनि उनले केही उज्यालो देख्न खोजिरहेका थिए, उनले विभिन्न तालिम लिन थाले ।
त्यही अन्धा कल्याण संघले उनलाई ब्रेल लिपीमा पढ्ने अवसर पनि मिलाइदियो ।
विस्तारै विनोद दृष्टिविहिनहरु भएका संघसंस्थाको सम्पर्कमा आउन थाले । ‘त्यसपछि त मैले जागिर नै पनि पाएँ, रिसेप्सनिस्टको,’ यसो भनिरहँदा विनोदको अनुहार उज्यालो भयो, ‘बालाजु औद्योगिक क्षेत्रभित्र एउटा कारखानामा मैले जागिर पाएको थिएँ, फोन उठाउने काम गर्थेँ ।’
काम पाए पनि विनोदमा पढ्ने हुटहुटी चाहिँ जीवित नै रहिरहेको थियो । जागिरबाट आउने पैसाले उनको दैनिकी सहज हुन थालेको थियो । त्यसैले उनले पढ्न कतै पाइन्छ कि भन्ने सोधखोज गर्न थाले ।
‘मलाई कसैले नक्सालमा रहेको एउटा स्कुलमा रातिमा पढाइन्छ भन्यो,’ विनोदले भने, ‘मैले त्यहाँ पढ्ने साथीहरुलाई मलाई पनि स्कुलसम्म लगिदिन अनुरोध गर्न थालेँ ।’ उनका साथीहरुले उनको प्रस्ताव स्वीकार गरे । ‘साइकलमा राखेर स्कुल लैजान्थे र फर्काएर ल्याएर कोठामा छोडिदिन्थे,’ विनोदले भने ।
विनोद रात्रिस्कुल पढ्न थाले । एसएलसी दिए । तीन वर्ष पहिले एसएलसी दिन नपाएका विनोदलाई ठूलो खुसी मिल्यो । ‘२०४३ साल थियो जस्तो लाग्छ,’ विनोद हाँसे, ‘एसएलसीमा पास भएँ, मेरो खुसीको सीमा नै रहेन ।’
पढाइलाई अझ निरन्तर अगाडि बढाउन चाहन्थे विनोद । त्यसैले एसएलसीको नतिजा आएपछि कुनै ढिलाइ नगरी उनले भर्ना गरे, पशुपति क्याम्पस, चावाहिलमा ।
पढाइका साथसाथै विनोदले सामाजिक संघसंस्थाहरुमा आफ्नो संलग्नता पनि बढाउँदै लगे । त्यसको केही समयमा नै उनले आफ्नै संस्था खोले ।
‘आफ्नै संस्था त खोलेँ,’ उनले भने, ‘तर, जागिर गरिरहेकाले त्यसलाई समय नै दिन पाइनँ ।’
उनीसँग जागिर गर्नु पर्ने बाध्यता पनि थियो– विवाह भइसकेको थियो, छोरा जन्मिएको थियो ।
‘मेरो दुर्भाग्य, मेरो छोरा पनि मजस्तै आँखा नदेख्ने थियो, मानसिक रुपमा पनि ऊ अस्वस्थ थियो,’ विनोदले भने, ‘छोरो जन्मिएको ३ वर्षपछि २०५० सालदेखि मैले पूर्ण रुपमा आँखा देख्न छाडेँे ।’
यता परिवारमा छोराको समस्याले गर्दा अर्को तनावमा झेलिँदै गएका थिए विनोद उता, उनको कारखानामा आगलागी भयो । ‘आगलागी भएपछि मेरो जागिर पनि गुम्यो,’ उनले भने, ‘२०६६ सालदेखि मैले लामो समयदेखि गर्दै आएको काम छोड्नु पर्ने भयो ।’
त्यसपछि झन् धेरै समस्या झेल्न थाले विनोदले ।
तर, समस्याहरुबाट उनी टाढा भाग्न कहिल्यै चाहेनन् । ‘छोराको समस्या झन् बढ्दो थियो,’ उनले भने, ‘छोराको अवस्थाका कारण आफू सम्हालिनु कि श्रीमतीलाई सम्हाल्नु भन्ने हुन्थ्यो । म निराश हुन चाहन्नथेँ ।’
यीनै समस्याहरुसँग जुध्दै थिए विनोद, काठमाडौंमा । एक दिन खबर आयो– उनका बाबुको निधन भयो । बाबुको निधनले शोक त थप्यो नै विनोदलाई घरको जिम्मेवारी पनि थपियो ।
छोराको अवस्था ठिक नहुनु, जागिर गुम्नु, बाबु गुमाउनु सबै पीडाहरु थिए विनोदको मनमा । ती पीडालाई मनको एउटा कुनामा राखेर जीवनलाई अगाडि बढाउनु ‘बाध्यता’ पनि थियो विनोदलाई ।
त्यसैले उनले व्यवसाय गर्ने सोच बनाए । ‘मैले तौल लिने मेसिन किनेँ र साझा भवन भोटाहिटीमा एक जना भाइलाई राखेँ,’ विनोदले भने, ‘तर, त्यो भाइले बदमासी गर्यो । त्यसमा सफल हुन सकिनँ ।’
त्यसपछि विनोदले ट्याक्सीमा लगानी गरे । काठमाडौंमा उनको ट्याक्सी गुड्न थाल्यो । ‘यो पनि राम्रो हुन सकेन, मलाई चालकले धोका दियो,’ विनोदले लामो सास फेरे, ‘त्यो भाइ मैले चिनेकै भाइ थियो । तर, उसले पैसा लिएर भाग्यो ।’
‘बिजनेस’मा असफल भएका थिए, विनोद ।
यसले उनको मनमा एउटा प्रश्न जन्माइदियो– के काम होला त्यस्तो जसले मेरो चाहना पूरा गरोस् ?
उनकै मनले जवाफ पनि दियो उनलाई– दृष्टिविहिन बालबालिकाका लागि नै केही गर्नु पर्छ अब ।
‘मैले यो संसारमा कसैको पीडा बुझेको छु भने त्यो स्वयं आफ्नो नै बुझेको छु, आँखा नदेख्दा हुने समस्या मलाई थाहा छ भन्ने भयो,’ उनले भने, ‘त्यसैले मैले दृष्टिविहिनहरुकै लागि काम गर्ने सोच बनाएँ, त्यसलाई अगाडि बढाउने भएँ ।’
त्यसपछि नै जन्मिएको हो, पृथ्वी नारायण स्कुल छेवैको त्यो चर्चित होस्टेल– ब्लाइन्ड चिल्ड्रेन एजुकेसन सेन्टर ।
२०६९ सालमा यो निर्णय गरिसकेपछि विनोदले यसका लागि काम गर्न थाले, होस्टल चलाउन आर्थिक सहयोग चाहिन्थ्यो, त्यसको जोहो गर्नतिर लागे ।
‘निकै धेरै समय लाग्यो,’ उनले भने, ‘म निकै खटिएँ पनि ।’ अनि बल्ल उनलाई सहयोग गर्ने संस्था भेट्ट्याए, ‘पापाज् हाउस ।’
पापाज् हाउसले सहयोग गर्ने वचन दिएपछि दृष्टिविहिन बच्चाहरु खोज्नतिर लागे विनोद । ‘पढ्न मन भएका तर आर्थिक अवस्था कमजोर भएकाले पढ्न नपाएका दृष्टिविहिन बच्चाहरुलाई ल्याएर पढाउन चाहन्थेँ म,’ विनोदले भने, ‘त्यसपछि म गाउँगाउँ पुगेँ र बच्चाहरु खोज्न थालेँ ।’
सुरुको वर्षमा नै उनले आठ जना दृष्टिविहिन बच्चाहरु ल्याए र एउटा घर भाडामा लिएर उनीहरुलाई पढाउन थाले ।
अहिले विनोदले चलाइरहेको यो होस्टलमा १४ बालबालिका पुगिसकेका छन्, सबै दृष्टिविहिन ।
होस्टलमा उनीबाहेक अरु तीन जना काम गरिरहेका छन् । र, यीमध्ये पनि दुई जना दृष्टिविहिन नै हुन् । ‘भान्सामा काम गर्नेले मात्र आँखा देख्नुहुन्छ,’ विनोदले जानकारी दिए, ‘नत्र हाम्रो संस्थामा सबैजना दृष्टिविहिन छौँ ।’
विनोदले आफ्नो संस्थामा कहाँबाट ल्याउँछन् त दृष्टिविहिन छात्रछात्रा ?
‘हामी विभिन्न संस्था र सामाजिक सन्जालका माध्यमबाट खोज्छौँ,’ विनोदले जानकारी दिए, ‘हामीले पहिलो प्राथमिकता दुर्गम भेगका बालबालिकालाई दिन्छौँ । कालिकोट, हुम्लालगायतका जिल्लाबाट हामीले बच्चाहरु ल्याउँछौँ ।’
उनीहरुले एउटा प्रक्रिया पूरा गरेपछि बच्चाहरुलाई लिन्छन् । अनि उनीहरुको सबै शुल्क उनीहरुले नै पे गर्छन् । ‘पृथ्वी नारायण स्कुलले पनि सहयोग गरिरहेको छ,’ विनोदले भने, ‘अरु संघसंस्थाबाट पनि हामीले सहयोग पाइरहेका छौँ ।’
पहिलो वर्ष उनले लिएका बच्चाहरु अब नौ कक्षामा पढ्ने भइसकेका छन् । ‘१२ कक्षासम्म पढाउने हाम्रो लक्ष्य हो,’ विनोदले भने, ‘अहिले सहयोगी हातहरु बढेका छन्, मानिसमा सहयोग गर्नुपर्छ भन्ने भावना बढेको छ ।’ सहयोग चाहिँ जो जसले जसरी गर्न चाहे पनि विनोदको संस्थाले स्वीकार गर्छ ।
जे होस्, विनोदको एउटै लक्ष्य छ– आफूले जे भोगेका छन्, त्यसबाट दुःख कटाएर अन्य दृष्टिविहिन बालबालिकालाई सहयोग गर्नु ।
‘आफूसँग हुर्किएका यी बच्चाहरु कुनै दिन राम्रो ठाउँमा पुगुन् भन्ने चाहना छ,’ उनले भने, ‘मैले आफैंले एक दृष्टिविहिन भएर जे भोगेको छु, त्यो अरुले पनि भोगिरहेका छन् । त्यसलाई कम गर्ने चाहना मात्र हो मेरो ।’
यता, अरु दृष्टिविहिनहरुलाई हुर्काइरहेका, शिक्षा दिइरहेका विनोदले आफ्नै छोराको हेरचाह चाहिँ गर्न पाएका छैनन् । ‘ऊ आमा र हजुरआमासँग चितवनमा नै बस्छ,’ विनोदले भने, ‘उसको जिम्मा मेरी श्रीमतीले लिएकी छे । उसले मलाई निकै ठूलो साथ र सहयोग दिएकी छ, उसले साथ नदिएको भए म यो ठाउँमा हुने नै थिइनँ ।’
श्रीमतीको यही साथ, १४ दृष्टिविहिन बालबालिकाको भविष्यले अहिले विनोदलाई ऊर्जा भरिरहेको छ ।
त्यही ऊर्जा लिएर उनी प्रत्येक दिन विहान ह्वाइट केन समात्छन् र १४ बालबालिकालाई बाटो देखाउँछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।