सभामुख को ? राष्ट्रपति शिवमाया तुम्बाहाम्फे, ओली सुवास नेम्वाङ र दाहाल अग्नि सापकोटाको पक्षमा

काठमाडौं– संसदको हिउँदे अधिवेशन भोलि शुक्रबारबाट सुरु हुँदैछ । तर, झन्डै तीन महिनाअघि रिक्त भएको सभामुख पदपूर्ति गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नै अहिलेसम्म निर्णय गर्न सकेको छैन ।

नयाँ सभामुखका लागि आकांक्षीहरुको संख्या बढ्दो छ । आफू सभामुख बन्न पाउनु पर्ने भन्दै विभिन्न नेताहरुको दौडधुप पनि बाक्लिएको छ । तर, नेपाल कम्युनिस्ट पार्टीको शीर्ष तह यसबारे अझै अनिर्णित छ ।

केही दिनअघि सुरु भएको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठकमा पनि सभामुख कसलाई बनाउने भन्ने विषयमा छिटो टुङ्गो लाग्नु पर्ने आवाज उठेको थियो । तर, त्यसयता बैठकमा यस विषयले प्रवेश नै पाएको छैन । 

संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा तत्कालीन सभामुख कृष्ण्बहादुर महराले १५ असोजमा राजीनामा दिए । अहिले उनी पुर्पक्षका लागि थुनामा छन् । महरा पूर्वमाओवादी कोटाबाट सभामुखमा निर्वाचित भएकाले अहिले पनि पूर्वमाओवादीले सभामुख पाउनु पर्ने माग पूर्वमाओवादी नेताहरुले राखेका छन् । 

स्रोतका अनुसार यस विषयमा अहिलेसम्म नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाहिँ नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिसकेका छैनन् । तर, पूर्वमाओवादी नेताहरुले पहिले पनि माओवादीले पाएकाले र पार्टी एकता भए पनि सबै क्षेत्रमा भागवण्डा भएकाले सभामुखमा पूर्वमाओवादी नेता नै हुनु पर्ने प्रचण्डसँग माग गरिरहेका छन् । यस्तो भएको खण्डमा प्रचण्डले नेकपा नेता अग्नि सापकोटालाई अगाडि सार्ने पक्षमा छन् । स्रोतका अनुसार केही दिनअघि प्रचण्ड निवासमा प्रचण्डले यस विषयमा अग्नि सापकोटासँग पनि कुरा गरिसकेका छन् । सापकोटालाई सभामुख बनाउने भएकाले नै केहीअघि मन्त्रिपरिषद् पुनर्गठन गर्दा उनलाई मन्त्री नबनाइएको नेकपामा ओलीनिकट उच्च तहका एक नेताले बताए । त्यसो त देव गुरुङको नाम पनि पूर्वमाओवादी वृत्तमा नयाँ सभामुखका रुपमा लिन थालिएको छ ।

अर्कोतिर, पूर्वएमाले नेताहरु अब पार्टी एकीकरण भइसकेको अवस्थामा फेरि भागवण्डामा जान नहुने पक्षमा छन् । उनीहरु अब बन्ने सभामुख नेकपाको हुनु पर्ने मागमा छन् । स्वयं अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि यही विश्वासमा अडिग छन् । उनलाई नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले यसमा साथ दिएका छन् । प्रधानमन्त्री ओली अब सभामुखमा आफ्ना विश्वास पात्र सुवास नेम्वाङ ल्याउन चाहन्छन् । 



‘सभामुखमा नेम्वाङजी अनुभवि पनि हुनुहुन्छ,’ नेकपाका ती नेताले फरक धारसँग भने, ‘उहाँलाई सभामुख बनाउँदा सदन चलाउन मात्र नभएर सरकारका कामकारवाहीमा पनि सहज हुने विश्वास ओली कमरेडले लिनु भएको छ ।’ उनका अनुसार प्रधानमन्त्री ओलीले नेकपाका अर्का नेता खगराज अधिकारीलाई पनि सभामुख बनाउने सम्भावना रहेको छ । ‘तर, राष्ट्रिय सभा अध्यक्ष र सभामुख दुवै गण्डकी प्रदेशकै नबनाउने कि भन्ने कुरा पनि चलेको हो,’ ती नेताले भने । 

एकातिर, नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले यस विषयमा छलफल गरिसकेका छैनन् भने अर्कोतिर उपसभामुख शिवमाया तुम्बाहाम्फे आफू नै सभामुख बन्न पाउनु पर्ने भन्दै लबिङमा लागेकी छिन् । यसअघि पनि उनले बारम्बार उपसभामुख पदबाट आफूले राजीनामा नदिने र दिनै परेको खण्डमा आफू नै सभामुख बन्न पाउनु पर्ने बताएकी थिइन् । उनलाई नेकपाका केही नेताहरुले र राष्ट्रपति विद्यादेवी भण्डारीले समर्थन गरेको नेकपाका नेताले बताए । ‘उहाँको मागलाई पनि सम्बोधन गर्नु पर्ने कुरा उठेको छ,’ ती नेताले भने ।



  • प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार १०:५३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया