भ्रमण वर्ष पर्यटकीय विकासका लागि महत्वपूर्ण बन्ने मन्त्री भट्टराईकाे विश्वास

कास्क– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताएका छन् ।नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भ्रमण वर्ष नेपालको समग्र पर्यटकीय विकासका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । 

भ्रमण वर्षलाई प्रभावकारी बनाउन विदेश स्थित कूटनीतिक नियोगबाट विभिन्न कार्यक्रम सञ्चालन भई रहेको उल्लेख गर्दै उनले पर्यटन प्रवद्र्धनका काम पनि त्यही गतिमा अघि बढेको जानकारी दिए । पर्यटन प्रवर्द्धनको महत्वपूर्ण आधारका रुपमा रहेको हवाई सेवालाई व्यवस्थित गरिने बताउँदै उनले हाल २१ घण्टा सञ्चालनमा आएको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तनोन्नति गरी २४सै घण्टा सञ्चालन गर्ने तयारी भइरहेको बताए । 

भ्रमण वर्षको पर्यटन प्रवद्र्धनका लागि सचिवालयले ६५ करोड रुपैयाँ माग गरे पनि सरकारले १० करोड छुट्याएको बताउँदै उनले आवश्यक रकम सरकारले उपलब्ध गराउने विश्वास व्यक्त गरे । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समय सीमाभन्दा ६ महिना अगावै सम्पन्न भई सक्ने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले विमानस्थल सञ्चालन हुनुपूर्व  पर्यटनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी सक्नुपर्ने बताए । 

हालसम्म विमानस्थलको निर्माण कार्य ५२ प्रतिशत सम्पन्न भइसकेको उनको भनाइ थियो । विमानस्थलका लागि थप आवश्यक पर्ने १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको बताउँदै उनले जग्गाधनीलाई उचित मुआब्जा दिने स्पष्ट पारे । 

पोखराको रत्नमन्दिर र हिमागृहलाई पर्यटकीयस्थलको रुपमा उपयोग गरिने बताउँदै उनले यो विषयमा भने पर्यटन मन्त्रालयमार्फत नभई नेपाल ट्रष्टअन्तर्गत रहेको स्पष्ट पारे । 





  • प्रकाशित मिति : पुस १२, २०७६ शनिबार १७:५३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया