२५ वर्षकी राधिका विहानदेखि टाकटुक पार्दै भर्दैछिन् त्रिपुरासुन्दरी मन्दिरका लागि बुट्टेदार झ्याल

२०७२ साल । प्रत्येक नेपालीले यो वर्षलाई एउटा नमीठो सम्झनाका रुपमा आफ्नो मनमा राखिरहेका छन् ।

त्यो वर्षको सुरुवातमा गएको विनाशकारी भूकम्पका कारण नेपालीका मन कुँडियो, कयौँले ज्यान गुमाए, कयौँले आफ्नो घर । 

त्यही भूकम्पका कारण काठमाडौंले पनि आफ्नो ‘सान’ गुमायो, कयौँ सम्पदाहरु भुइँमा मिसिए, ध्वस्त भए । 

अब विस्तारै ती सम्पदाहरुले फेरि जीवन पाउँदै छन् । यसमा सरकारले विदेशी सहयोग लिएर पनि काम गरिरहेको छ । कतिपय सम्पदाहरुको पुनर्निर्माण नेपालकै संघसंस्थाले गर्दै छन् । 

त्यहीमध्ये एक हो– त्रिपुरेश्वरमा रहेको त्रिपुरासुन्दरी मन्दिर । 

त्यसो त यो मन्दिरको पुनर्निर्माणमा भूकम्पभन्दा अगाडि देखि नै काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा संगीतकार डा. लोचन रिजाल र उनको समूह मिलेर यसलाई पुनर्निर्माण गर्ने योजना बनाइरहेका थिए । 



‘एथ्नोम्युजिकोलोजी डिपार्टमेन्ट अफ केयु’को यो समूहले त्रिपुरासुन्दरी मात्र होइन, अन्यत्र पनि केही कामहरु गरिरहेको छ । 

यही समूहले पुरानै अवस्थामा फर्काउन लागेको त्रिपुरासुन्दरीमा चाहिँ महत्वपूर्ण योगदान दिइरहेकी छिन्, राधिका । 



राधिका मुलगुठी खासमा बिजनेसकी विद्यार्थी हुन् । तर, उनको मनमा ‘लस एन्ड प्रोफिट’ले भन्दा काठमा कुँदिने बुट्टाहरुले बढी स्थान ओगटेका छन्, त्यसैले उनी यही मन्दिरमा प्रयोग हुने काठमा बुट्टा भर्नमा व्यस्त छिन् । 

भक्तपुरकी राधिका आजभोलि प्रत्येक विहान त्रिपुरेश्वर आइपुग्छिन्, छिँडी र हथौडा समात्न थाल्छिन् र काठमा बुट्टा कुँद्न थाल्छिन् । 

केही दिनअघि राधिकाले ३ फिट लामो काठमा आफ्नो हात चलाइरहेकी थिइन्, काठलाई विस्तारै हथौडाले हिर्काइरहेकी थिइन् । त्यही दिनभरमा यसमा बुट्टा कुँदेर सक्ने उनको योजना थियो । 

‘यो मन्दिरको झ्यालका लागि हो,’ राधिकाले भनिन्, ‘बुट्टेदार झ्याल जुन पहिले पहिले काठमाडौंका घरहरुमा पनि प्रयोग गरिन्थ्यो ।’

त्यसपछि हामीले कुराकानी गर्न थाल्यौँ, उनको यो यात्राबारे । 

राधिकाले काठमा बुट्टा भर्न थालेको पाँच वर्ष भइसकेको छ । काठमा बुट्टा भर्ने काममा महिलाहरु खासै छैनन् । राधिका चाहिँ कसरी यो कामसम्म आइपुगिन् त ? 

‘मेरा दुवै जना मामाहरु यही काम गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘उहाँहरुले काठमा बुट्टा भरेको देख्दा मेरो मन पनि लोभिन्थ्यो, मैले पनि सिक्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।’

तर, उनलाई यो काम गर्न सुरुमा कसैले सिकाउने भएन । राधिकाका बाबु पनि सिकर्मी नै हुन् । तर, उनी छोरी पढोस् भन्ने चाहन्थे । 

त्यसैले पनि राधिकाले एसएलसीसम्म चुपचाप पढिन्, काठमा बुट्टा भर्नेतिर मन बनाइनन् ।

एसएलसीको परीक्षा दिएपछि उनीसँग केही समय खाली भयो, त्यही मौकाको सदुपयोग गर्ने योजनामा लागिन् राधिका । अनि उनले मामाहरुसँगै सिकिन् काठमा बुट्टा भर्ने कला । 

योबीचमा उनले मामाहरुसँग काम गरिन् । एसएलसीको रिजल्ट आयो । राधिका दुवैमा पास भइन्– एसएलसी र बुट्टा भर्ने काममा । 

अनि त्यसपछि उनले कलेजमा मात्र भर्ना गरिनन्, काठ कारखानामा पनि जागिर खान थालिन् । यसमा राधिकाको परिवार पनि सहमत थियो । उनीहरुको एउटै सर्त थियो– पढाइ नबिगार्नू !

राधिकाले त्यसपछि दुवै काम अगाडि बढाइन्, पढ्ने र काठहरुमा बुट्टा भर्ने । प्लस टु पास भएपछि पनि उनले यही कुरालाई निरन्तरता दिइरहिन् । अर्कोतिर ब्याचलर्स पनि पढ्न थालिन् । 

स्नातक पढ्दापढ्दै उनले थाहा पाइन्, त्रिपुरासुन्दरीमा काठको काम भइरहेको छ । उनीभन्दा सिनियर एकजनाले यो प्रस्ताव उनीसम्म पुर्याएका थिए । 

उनले त्रिपुरासुन्दरीमा काम गर्न थालिन् । 

‘पहिले काम गरिरहेको ठाउँभन्दा यहाँ कमाइ पनि राम्रो छ,’ राधिकाले हातमा लिएको हथौडा छेउमा राखिन् र भनिन्, ‘मलाई यही काममा सन्तोष मिलिरहेको छ, सन्तोष भएको काम किन छोड्नू ?’

तर, आम्दानीले मात्र पनि राधिकालाई गाइड गरेको छैन । उनलाई त आफूले भर्ने बुट्टामा मौलिकता नगुमोस् भन्ने चिन्ताले छोइरहेको हुन्छ । ‘बुट्टा भर्दा ससाना कुरामा निकै ख्याल गर्नुपर्छ,’ राधिकाले भनिन्, ‘यो त सधैं सिकिइरहने पेशा हो, यहाँ झन् मैले नयाँ नयाँ कुरा सिक्न पाएकी छु, त्यसैले पनि मन रमाएको छ ।’

राधिकाले भरेका बुट्टामा उनको नाम त हुँदैन, तर उनलाई यी बुट्टाहरु पछिसम्म हेरिन्छन् भन्ने कुराले निकै सोचमग्न बनाउँछ । ‘पछिसम्म पनि रहने भएकाले यसको मौलिकतामा कुनै क्षति हुनुहुँदैन,’ उनी भन्छिन्, ‘वर्षौपछि हाम्रो काम हेरेर मानिसहरु दंग होलान् भन्ने कुरा मनमा छ, अनि यही कुरा मनमा लिएकाले पनि काम निकै चनाखो भएर गर्छु ।’

खासमा काठमा बुट्टा भर्ने काम काममात्र पनि होइन, यो एउटा कौशल र सीप हो । ‘यही कुरा मेरो परिवारमा बुझ्नु भएको छ,’ राधिकाले भनिन्, ‘अहिले मेरो श्रीमानले होस् या घरमा अरु सदस्यले नै किन नहोस्, मेरो यो सीपलाई निकै प्रशंसा गर्नुहुन्छ ।’

एक वर्षअघि मात्र विवाह गरेकी राधिकालाई अझ प्रोत्साहन केले मिलेको छ भने उनका श्रीमान पनि यो कौशल सिक्न चाहन्छन् । त्यसो त राधिकाका श्रीमान नेपाल ल क्याम्पसमा कार्यरत छन् । ‘तर, सीप हो, मलाई पनि सिकाइदेउ न भन्नुहुन्छ,’ राधिका भन्छिन्, ‘त्यसैले पनि यसमा मलाई निकै खुसी मिलेको छ ।’

  • प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार ११:२६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया