सरकारले विदेशी सहायतालाई राष्ट्र निर्माणको रुपमा लिएको छ : अर्थमन्त्री खतिवडा

कैलाली– अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व संकलन गरेर मात्र देश समृद्ध बनाउन नसकिने बताएका छन् । सत्ती भन्सार कार्यालयको शुक्रबार उद्घाटन गर्दै उनले भने, 'राजश्व संकलनले मात्र नभई अन्य आन्तरिक आयस्रोतबाट आत्मनिर्भर बन्न सके मुलुक समृद्ध हुन्छ ।'  
    
अर्थमन्त्री डा. खतिवडाले भने, 'हामी ऊर्जामा आत्मनिर्भर बन्दै छौँ । कृषिमा पनि आत्मनिर्भरताका लागि सरकारले काम गरिरहेको छ । अहिले विभिन्न बहानाबाजीमा वैदेशिक विवादमा फसाउन खोजिएको छ । तत्काल वैदेशिक सहायता चाहिएको छ । विदेशी सहायतालाई राष्ट्र निर्माणको रुपमा वर्तमान सरकारले लिएको छ ।'

सामाजिक सुरक्षा कार्यक्रमलाई वर्तमान सरकारले महत्वका साथ अगाडि बढाएको उल्लेख गर्दै उनले दुई वर्षभित्र ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम र एक वर्षभित्र साक्षर नेपाल घोषणा गरिने बताए ।

मन्त्री डा. खतिवडाले विकास सूचकांकमा पछाडि परेका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं. २ लाई विशेष महत्वका साथ हेरिएको उल्लेख गर्दै विकासका आवश्यक पूर्वाधार निर्माणका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।

'देशको चरम गरिबी छिट्टै मुक्त हुन्छ,' उनले भने, 'वर्तमान सरकार विस्तारै बोले पनि सुन्छ, चिच्याउनुपर्दैन । सबै नेपालीलाई समानतासँगै अगाडि बढ्नेमा सरकार प्रतिबद्ध छ ।'

भन्सार कार्यालयलाई अझै व्यवस्थित र प्रभावकारी बनाउने तथा क्वारेन्टाइन स्थापनाका लागि पहल सुरु भइसकेको पनि उनले बताए । विसं २०७५ कात्तिक ५ गतेबाट मूल भन्सारको रुपमा कामकाज सुरु गरेको सत्ती भन्सार कार्यालयको शुक्रबार औपचारिक रुपमा उद्घाटन भएको हो । 





  • प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार १८:५५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया