प्रहरीले रोक्यो सिड्नीमा पर्यटनमन्त्री सम्मिलित भिजिट नेपाल २०२० कार्यक्रम

काठमाडौं– नेपाल भ्रमण वर्षको प्रचारका लागि सिड्नीमा आयोजित कार्यक्रमलाई स्थानीय प्रहरीले रोकिदिएको छ । कार्यक्रममा नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराई पनि सहभागी भएका थिए । 

अष्ट्रेलियामा नेपाली दूतावासले कार्यक्रम आयोजना गरिएको थियो । पछिल्लो समय आगलागीका कारण ठूलो समस्यामा परेको अष्ट्रेलियाको स्थानीय प्रशासनले नेपाली दूतावासलाई यो कार्यक्रम नगर्न भनेको थियो । तर, मन्त्री भट्टराई र दूतावासले यसलाई बेवास्ता गरे । त्यसैले उनीहरुले निकालेको र्यालीलाई स्थानीय प्रहरीले रोकेको छ ।

अष्ट्रेलियामा रहेको नेपाली दूतावासले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । उसले यस विषयमा कुनै विज्ञप्ति पनि निकालेको छैन ।

यता, मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरगाईंले यसबारे आफूलाई केही थाहा भएको बताएका छन् । ‘दूतावासले गरेको कार्यक्रम होला,’ उनले भने, ‘मन्त्रीज्यू यहाँबाट त्यही कार्यक्रममा सहभागी हुन जानु भएको होइन । यसबारे हामीलाई थाहा छैन ।’

अष्ट्रेलियामा रहेका नेपालीले चाहिँ स्थानीय प्रहरीको यो कदमलाई ठिकै भनेका छन् । सिड्नीमा बस्ने नेपाली विद्यार्थी दीर्घराज भण्डारीले भने, ‘हामी नेपालीहरु कुन समयमा के गर्ने भन्ने नै निर्धारण गर्न सक्दैनौँ । अहिले प्रहरीले यो कार्यक्रम रोक्नु ठिकै किन हो भने अष्ट्रेलिया अहिले डढेलेको मारमा परेको छ । यस्तो बेला यहाँ उत्सव गर्न खोज्नु नै गलत हो ।’





  • प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार ११:३५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया