जेठाजु–बुहारीबीचकाे लसपस ढाकछाेप गर्न हत्या, दुवै अभियुक्तलाई जन्मकैदको फैसला

तनहुँ– व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुईजनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलकोे इजलासले परियारको हत्यामा संलग्न रहेका व्यास नगरपालिका–४ बस्ने भारती परियार र मंगललबहादुर दमैलाई जन्मकैदको फैसला सोमबार सुनाएको हो ।

सोही अभियोगमा थुनामा रहेका सुकबहादुर परियारलाई तीन वर्ष कैदको फैसला भएको जिल्ला अदालत जानकारी दिएकाे छ । विसं २०६८ साउन ९ गते भारतीको योजनामा मंगलबहादुर र सुकबहादुरले रामबहादुरलाई शुक्लागण्डकी नगरपालिकाको दुलेगौडास्थित सेती नदीको पुलबाट धकेलेर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।     

प्रहरीले अभियुक्तहरुलाई गत वर्ष पुस २९ गते पक्राउ गरेको थियो । हत्यामा संलग्न रहेका भारती मृतकका बुहारी र दमै भान्जा हुन् । मृतकका श्रीमती सनिसरा परियारले आफ्ना श्रीमान् सुकबहादुर मंगलबहादुरसँग घरबाट दुलेगौडा जान भनी हिँडेकामा बेपत्ता भएकाले अनुसन्धान गरी पाऊँ भनी  विसं २०७१ मंसिर १४ गते जिल्ला प्रहरी कार्यालय निवेदन दिएकी थिइन् । 

प्रहरीले घटनाको अनुसन्धान गर्दा मृतक रामबहादुरको हत्या भारतीको योजनामा भएको पत्ता लगाएको थियो । भारतीले सुकबहादुर र मंगलबहादुरलाई पाँच–पाँच हजार दिएर रामबहादुरको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जेठाजु–बुहारी नाता पर्ने भारती र रामबहादुरबीच हिमचिम रहेको, घुम्नका लागि काठमाडौँसम्म जाने गरेको र  घरपरिवारका अन्य सदस्यले सो कुरा थाहा पाएका कारण आफ्नो पतिसँग सम्बन्ध बिग्रने डरले भारतीले रामबहादुरको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुकबहादुर र मंगलबहादुरले मृतक रामबहादुरलाई विसं २०६८ साउन ९ गते दुलेगौडा पारी रहेको दिदीको घरमा जाउँ भनी बोलाई ठाउँ–ठाउँमा मादक पदार्थ सेवन गराउँदै शुक्लागण्डकी नगरपालिका–४ र ८को सिमानामा पर्ने सेती नदीमाथिको पुलबाट धकेलेर हत्या गरेका थिए । 



रामबहादुरको हत्या गरेपछि सुकबहादुर परियार भारततर्फ काम गर्न भागेका थिए । मंगलबहादुर वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका थिए । मंगलबहादुर २०७२ मा नेपाल फर्केर चितवनतिर बस्दै आएका थिए । 



  • प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार १६:२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया