प्रेम सम्बन्धपछि विवाह, दलित भन्ने थाहा पाइपछि हत्या

उदयपुर– २०७४ सालमा प्रेमविवाह गरेकी उदयपुरकी एक महिलाको हत्या भएको छ । गोविन्द कार्कीसँग विवाह गरेकी संगीता विश्वकर्माको आफ्नै परिवारले हत्या गरेको खुलेको छ । 

टेलिफोन संवाद हुँदै प्रेममा परेका गोविन्द र संगीताले २०७४ असोजमा भागेर बिहे गरेका थिए । उनीहरूलाई परिवारले भित्र्याए ।

प्रेम पर्दा  ‘मगर’ थर बताएकी संगीता विश्वकर्मा भएको परिवारले थाहा पायो । त्यसबीचमा परिवारले श्रीमती छाड्न गोविन्दलाई दबाब दियो । बिहे गरेको १५ दिनमै संगीतालाई मार्ने योजना बन्यो । 

२०७४ साल कात्तिक १४ गते संगीताको शव सिम्लेको एक जंगलमा फेला पर्‍यो । झुण्ड्याएर हत्या गरी मान्छे नचिनियोस् भनेर उनीहरूले संगीताको अनुहारमा एसिड पनि छ्यापिदिएका थिए ।

शव फेला परेपछि माइती पक्षले मृतकका पति, देवर र ससुराविरुद्ध किटानी जाहेरी प्रहरीमा दिए । किटानी जाहेरीपछि प्रहरीले लामो समय अनुसन्धान गरे पनि प्रतिवादी पक्राउ परेका थिएनन् ।

उदयपुरका प्रहरीका अनुसार उनीहरू सबै भागेर दार्जिलिङ गएका थिए । गत मंसिर २२ गते मनबहादुर (देवर) घरमा रहेको थाहा पाएपछि प्रहरी टोली गएको थियो । उनलाई घरबाटै पक्राउ गरेपछि नैनबहादुर (ससुरा) र पति गोविन्दलाई पनि प्रहरीले काठमाडौंको कपनबाट २३ मंसिरमा नियन्त्रणमा लियो ।



आइतबार तीनैजनाविरूद्ध मुद्दा दर्ता भएपछि मनबहादुर कार्की, नैनबहादुर कार्की र गोविन्द कार्कीलाई अदालतले सोमबार कारागार चलानको आदेश दिएको छ । 



  • प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार १७:३२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया