पार्टी सदस्यका लागि नेकपाको आचारसंहिता– कार्यकर्ता र छोराछोरीलाई ‘तँ’ नभन्नू, वेलावेलामा सँगै बसेर खानू

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना पार्टी सदस्यहरूका लागि आचारसंहिता जारी गरेको छ । नेकपाले आइतबार जारी गरेको सो आचारसंहितामा पार्टी सदस्यहरूले आफ्ना छोराछोरीलाई कसरी सम्बोधन गर्नेदेखि मुलुकको हितका लागि के–के गर्ने भनेर उल्लेख गरिएको छ ।

संहिताको बुँदा नम्बर २ मा सबै तहका नेता, कार्यकर्ता र पार्टी सदस्यले परिवारमा कस्तो आचरण गर्ने भनेर उल्लेख गरिएको छ। जसमा कसैलाई तँ भन्न पूर्ण रूपले बन्द गर्नुपर्ने उल्लेख छ । जसमा लेखिएको छ–  ‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ, कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरूपले बन्द गर्नुपर्छ ।’ 

पार्टी सदस्यहरूले  बेला बेलाबेलामा आफ्नो परिवारका सदस्यको बैठक बसालेर सबैलाई सल्लाह सुझाव दिनु पर्ने समेत भनेको छ । आचारसंहितामा भनिएको छ, ‘१६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न  कार्यविभाजन गर्नुपर्छ । कार्यविभाजन गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्छ। परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्छ ।’ साथै सो बुँदामा छोराछोरीको बिहे मितव्ययी बनाउनुपर्ने उल्लेख छ ।

पार्टी सदस्यहरूले आफ्नो कमाइबाट राज्यलाई कर तिर्न, जीवन निर्वाह गर्न र पार्टीलाई नियमित लेबी बुझाउनुपर्ने पनि आचारसंहितामा उल्लेख छ । त्यस्तै, कुरीति, रूढीवादी संस्कार, भेदभाव, छुवाछुत र महिलामाथि हुने हिंसाविरूद्ध सधैँ खडा हुन भनिएको छ। संहितामा घरेलु श्रमिक नराख्न, पाँचवर्ष पुगेका बालबालिकालाई अनिवार्य स्कुल पठाउनसमेत भनिएको छ । 





  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार १५:५७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया