काठमाडौं– क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशकअघि सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ‘इसेवा’ ११औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा एक दशकको अवधिमा मुलुकका हरेक स्थानमा पुग्न सफल भएको छ ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्रका निर्माण गर्ने सरकारको अभियानमा ठुलो योगदान दिन सफल भएको छ ।
एक दशकको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ८० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हालसम्म इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब २० लाख पुगिसकेका छन् ।
‘यो एक दशक हाम्रा लागि निकै उत्साहजनक रह्यो । कुराकानीका लागि मात्र सीमित भएको मोबाइललाई हामीले वित्तीय कारोबार गर्न सक्ने बनाउन सफल भएका छौँ,’ १० वर्ष पूरा भई एघारौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘आगामी दिनमा पनि हामीले आमजनजीवनलाई सहज बनाउने खालका विभिन्न सेवा थप गर्दै जानेछौँ ।’
नेपालका सुविधासम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा धेरै किसिमका सहजता ल्याएको र आममानिसले लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झन थालेको उल्लेख गर्दै इसेवाले आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्याउने गरी अगाडि बढ्ने र थप सेवा विस्तार गर्दै लगिने कम्पनीको योजना रहेको जनाएको छ ।
इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायत दुई हजारभन्दा बढी सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।