चितवन, सिन्धुली, रामेछाप र पाल्पामा एनसेल टावरमा आगजनी

काठमाडाैं– चितवनकाे खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका–२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आगलागीबाट जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुगेको छ । आइतबार राति १०ः४५ बजे अज्ञात समूहले टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहायताले राति नै आगो नियन्त्रणमा लिइएको थियो । आगो लगाउने समूहको खोजी भइरहेको उनले जानकारी दिए । 

सिन्धुलीको मरिण गाउँपालिका–७ मा रहेको एनसेलको टावरमा आगजनी भएको छ । गएराति एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार एनसेलको टावर पूर्ण रूपमा क्षति भएको छ । उनका अनुसार टावरमा कसले आगजनी गर्यो भन्ने खुल्न सकेको छैन । घटनामा संलग्नको खोजी भइरहेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यस्तै गएराति रामेछाप जिल्लामा पनि एक एनसेल टावरमा आगजनी भएको छ । अज्ञात समूहद्वारा दोरम्बा गाउँपालिका–७ गुम्सीमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । उनका अनुसार टावरमा रहेका तारहरु जलेर क्षति पुगेको छ । घटनामा संलग्नको खोजी भइरहेको उनले जानकारी दिए । 

पाल्पाको बगनासकाली गाउँपालिका–९ स्थित बगनासडाँडामा रहेको एनसेलको टावरमा आगजनी भएको छ । आइतबार राति करिब पौने १० बजेको समयमा टावरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दीपेन्द्र जिसीले बताए । आगलागीबाट टावरमा पूर्ण रूपमा क्षति पुगेको छ ।



बोरामा खर राखेर आगो सल्काएको पाइएको छ । टावरको जेनेरेटर, बिटिएस सिस्टम, जिएसएम एन्टेना, ब्याट्री प्यानल, मिटरबक्ससहित तार पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार १५:३५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया