सरकारले सडकबाट उद्धार गरेकामध्ये ३० जना पुनः सडकमै फर्किए

काठमाडौं– सरकारले सडकबाट उद्धार गरेर विभिन्न आश्रयस्थल हुँदै परिवारसम्म पुगेका व्यक्तिहरु  पुनः सडकमा नै फर्किने गरेका छन् । हालसम्म काठमाडौंका विभिन्न स्थानबाट ६ सय ४७ को उद्धार गरिएकोमध्ये ५ सय ४५ पुरुष र १ सय २ महिला र १६ बालबालिका रहेको जनाइएको छ । यसैगरी ५ सय २३ लाई परिवारसँग पुनर्मिलन गराइएको र तीमध्ये ३० सडकमा पुनः फर्केका बताइएको छ ।  

लामो समयसम्म सडकमा बसेकाले पुनः परिवारसँग बस्न उनीहरुलाई समस्या भई फर्केको हुनसक्ने मानवसेवा आश्रमले जनाएको छ । बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानलाई काठमाडौं महानगरपालिकाले निरन्तरता दिइरहेको छ ।     

काठमाडौंका विभिन्न सडकबाट उद्धार गरी आश्रममा ल्याइएकामध्ये २० ले विनाजानकारी आश्रम छोडेका छन् । परिवारका सम्पर्कमा नगएका उनीहरुलाई अहिलेसम्म भेट्न नसकिएको बताइएको छ । कामपाले गत मंसिर २९ गतेदेखि भोकै कोही पनि नपरुन कसैले पनि मागेर खान नपरोस् भन्दै अभियान सुरु गरेको हो । आगामी तीन महिनामा सडकमा विभिन्न बहानामा मागेर बस्नेलाई व्यवस्थापन गर्ने जनाइएको छ ।

सडकमा जीवन बिताउनेमध्ये सबैभन्दा बढी कालीमाटी, ढल्कु, नयाँबजार, इन्द्रचोक, बौद्ध, पशुपति, चाबहिल चोकगायतका स्थानमा छन् । ४० भन्दा बढी जिल्लाका रहेका भए पनि बढी मात्रामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखा र चितवनको रहेको मानवसेवा आश्रमले जनाएको छ । हरेक दिन राति ८ देखि ११ बजेसम्म उद्धारको गर्न कामपा, प्रहरी, आश्रमका प्रतिनिधिसहित ५० को टोली खटिने गरेको छ । 

अभियान मूल व्यवस्थापन समिति प्रदेश नं ३ का इञ्चार्ज सुमन बर्तौलाले उद्धार गरिएकामध्ये ६ जनाको मृत्यु भएको जानकारी दिए । मृतकको पहिचान हुनसकेको छैन । गत पुसको पहिलो साता रानीपोखरी आसपासपाट उद्धार गरिएको उपचारको क्रममा वीरअस्पतामा मृत्यु भएको जनाइएको छ ।  

उद्धार गरिएकाले आफ्नो परिवारबारे सत्यतथ्य जानकारी नदिँदा उनीहरूलाई जिम्मा लगाउन समस्या भएको हो । यसरी संरक्षण गरिएकामध्ये अशक्त र अनाथको संख्या कम छ । परिवार भएका र सक्रिय जीवन जिउन सक्ने पनि घर फर्काइदिने पिरले आफ्नो ठेगाना भन्न मान्दैनन् । ‘परिवारबारे जानकारी लिनका लागि उनीहरूलाई केही दिनको परामर्श नै आवश्यक छ, अन्यथा कठिन छ’, आश्रमका अध्यक्ष रामजी अधिकारीले भने । 





  • प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार १५:३५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया