कोरोना भाइरस पूर्वसजगता लागि वामदेव गौतमले बैठकमा मास्क लगाए, बाँडे, हात मिलाएनन्, नमस्कार गरे

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक चलिरहेको छ । १५ माघमा सुरु भएको बैठक १९ माघमा सकिँदैछ । नेतृत्वको व्यापक आलोचना भएको यो बैठकले नेकपाको महाधिवेशन मिति पनि प्रस्ताव गरेको छ । 

यही बैठकमा सहभागी शीर्ष नेताहरुमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम चाहिँ अलिक अलग देखिएका छन् । विचारका हिसाबले होइन, उनको लगाइका हिसाबले । 

किनकि बैठकमा मन्चमा बसेका वामदेम गौतमले मास्क लगाएका छन् ।

मन्चको यो फोटोमा स्पष्ट देखिन्छ, अरु कोही पनि नेताले मास्क लगाएका छैनन् । तर, उनले लगाएका छन् । यो बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली उपस्थित छैनन् । 

आखिर अरु कोही पनि नेताले मास्क नलगाएको ठाउँमा मास्क लगाएर किन बसे त वामदेव गौतम ? 

‘यो कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको पूर्वअभ्यास हो,’ गौतमले फरकधारसँगको टेलिफोन कुराकानीमा भने । 



चीनमा पहिलो संक्रमण देखिएको कोरोना भाइरसका कारण चीनमा २१६ जनाभन्दा धेरैको मृत्यु भइसकेको छ । नेपालमा पनि दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । उता, बेलायतमा पनि दुई जनामा कोरोनाको संक्रमण देखिएको छ भने अमेरिकामा मानिसबाट मानिसमा कोरोना भाइरस संक्रमण भएको प्रमाणित भइसकेको छ । 

कोरोना भाइरसको संक्रमण विश्वभर नै फैलिइरहेको यो समयमा विश्व स्वास्थ्य संगठनले विश्वभर स्वास्थ्य आपतकाल घोषणा गरेको छ । अनि चिकित्सकहरुले भीडभाड हुने ठाउँमा मास्क लगाएर बस्न र जान अनुरोध गरिरहेका छन् । 



यही चिकित्सकहरुको अनुरोधलाई मध्यनजर गर्दै नेकपा नेता वामदेव गौतम पनि मास्क लगाए बैठकमा पुगेका हुन् । 

‘नोबेल कोराना भाइरसको पूर्वअभ्यास हो,’ उनले फरकधारसँग कुरा गर्दै भने, ‘कोरोना भाइरस नसरोस् भन्नका लागि हो, फेरि कोरोना भाइरस सरेर ढलेपछि त ढलिहालियो नि ।’

उनले कोरोना भाइरसबारे विश्व स्वास्थ्य संगठनले विभिन्न देशबाट संकलन गरेका आँकडाले पनि यसबाट सचेत रहनु पर्ने जानकारी आएपछि आफूले यस्तो निर्णय गरेको बताए । ‘स्वास्थ्य संगठनले यत्तिकै भनेको होइन, विभिन्न देशबाट उसले डाटा कलेक्ट गरेको छ, त्यसलाई मूल्यांकन गरेको छ र यो निर्णय गरेको हो नि,’ गौतमले भने, ‘त्यसैले समयमा नै हामी सचेत हुनुपर्छ । त्यसका लागि मैले मास्क लगाउने निर्णय गरेँ ।’

गौतमले नेपालमा पनि कोरोनाको संक्रमण देखिएको र कोरोना भाइरस संक्रमण भएका १६ देशमा नेपाल पनि परिसकेकाले यसबारे सबैले समयमा नै सचेतता अपनाउनु पर्ने पनि बताए । 

‘चिकित्सहरुले भनेका कुरा त हामीले सम्झनु पर्छ,’ उनले भने, ‘त्यसका लागि पूर्वसचेतता अपनाउनु राम्रो हो नि ।’

कोरोनाले नेपालमा पनि असर गरेको थाहा पाएपछि आफूले गर्न सक्ने पूर्वाभ्यास अपनाएको गौतमले बताए । ‘हिजो मैले ४५० वटा मास्क लिएर गएँ र साथीहरुलाई बाँडे पनि,’ गौतमले भने, ‘साथीहरुलाई हात नमिलाउन पनि भनेको छु, नमस्कार गरे भइहाल्यो नि ।’

उनले योसँगै हात राम्रोसँग धुने, स्वास्थ्य खानपान गर्नु पर्ने पनि बताए । ‘यो सन्देश जाओस् भनेर नै मैले यस्तो गरेको हुँ,’ गौतमले भने, ‘म त बैठक अवधिभर मास्क लगाएर बसिरहेको छु ।’

गौतमले यो बैठक अवधिभर र अहिले कोरोना भाइरसको संक्रमण रहेसम्म आफूले हात नमिलाउने पनि बताए । ‘भोलि ढलियो भने त ढलियो नि,’ उनले भने, ‘अहिले नै पूर्वतयारी गर्दा नै राम्रो हो नि ।’

  • प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार १९:२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया