ईशाले किन मागिन् माफी ?

बलिउड अभिनेत्री ईशा गुप्ताले माफी मागेकी छन् । आर्सनल फुटबल क्लबकी कट्टर समर्थकको रूपमा परिचित अभिनेत्री गुप्ताले साथीसँग गरेको ह्वाट्स एप च्याटको स्क्रिनसर्ट फोटो बाहिरिएलगत्तै उनले माफी माग्नुपरेको थियो ।

बाहिरिएको फोटोमा उनको साथीले सो क्लबका नाइजेरियन खेलाडी एलेक्स इवोबीलाई ‘गोरिल्ला’ र ‘नियान्डर्थल’ भनेर सम्बोधन गर्दै क्रमिक विकास रोकिएको भनेर ठट्टा गरेको देखिन्छ । जसमा अभिनेत्री गुप्ताले ‘हा हा हा’ लेखेर रिप्लाई गरेकी थिइन् । सो फोटोलाई अभिनेत्री गुप्ताले ३४ लाख फलोअर रहेको आफ्नो इन्स्टाग्राममा पोस्ट गरेपछि उनी विवादमा तानिएकी थिइन् ।

जातिवादीको अभिव्यक्तिलाई अभिनेत्री गुप्ताले ठट्टाको विषय बनाएको भन्दै फुटबल समर्थकहरूले आक्रोश प्रकट गरेका थिए । तत्काल अभिनेत्री गुप्ताले माफी मागेपनि यसलाई भारतीय समाजमा अफ्रिकी मूलका मानिसहरूप्रति व्याप्त रहेको जातिवादी विभेदको समस्यातर्फ संकेत गरेको विश्लेषकहरू बताउँछन् ।

भारतस्थित अफ्रिकी विद्यार्थीहरूको संघका महासचिव इजोइगो नाम्दी भन्छिन्, ‘अभिनेत्री ईशा गुप्ताका शब्द अफ्रिकी विद्यार्थीहरूले भारतमा दैनिक रूपमा देख्दै र भोग्दै आएको विभेदभन्दा फरक छैन । जातिवाद यहाँ कायमै छ । यहाँ हामीलाई नरभक्षीको रूपमा लिइन्छ ।’ उनले अभिनेत्री गुप्ताको माफी मात्र पर्याप्त नहुने बताएकी छन् । ‘त्यस्ता टिप्पणीका लागि सजाय हुनुपर्छ । ताकि त्यसबाट सबैले केही शिक्षा लिन सकून्,’ उनले भनिन् ।

सन् २०१७ मा एक अफ्रिकी मूलकी युवतीलाई भिडले नंग्याएर पिटेको घटना बाहिरिएलगत्तै अभिनेत्री गुप्ताले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै भनेकी थिइन्, ‘मलाई आफ्नो रूपमाथि गौरव लाग्छ । युरोपमा गहुँगोरो वर्णलाई सम्मान गरिन्छ । तर भारतमा भने यही वर्णका कारण मैले विभेद सहनुपर्छ । यो त केवल पाखण्ड हो । मलाई मेरो वर्णबारे किन नराम्रो मान्न बाध्य पारिन्छ । जबकि भारतमा ९० प्रतिशत महिला यस्तै छन् ।’ एजेन्सी





  • प्रकाशित मिति : माघ १९, २०७६ आइतबार २१:४९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया