बालुवाटारमा बाँसुरी बजाए प्रधानमन्त्री ओलीले, सामाजिक सन्जालमा लेखियो– रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली बारम्बार आफ्ना टिप्पणीका कारण चर्चामा आइरहेका हुन्छन् । विपक्षीलाई होस् या आफूलाई मन नपरेको विषयमा कटाक्ष गर्न किन नहोस्, प्रधानमन्त्री ओली तिखा शब्द प्रयोग गर्छन्, विभिन्न उखान टुक्का जोड्दै आफ्ना अभिव्यक्ति दिइरहेका हुन्छन् । 

त्यसैले त प्रधानमन्त्री ओलीको निकै धेरै क्यारिकेचर गरिएको हुन्छ, उनका भाषणहरुका क्लिपहरु सामाजिक सन्जालमा बारम्बार राखिएको हुन्छ र ती छाइरहेका पनि हुन्छन् ।

मंगलबार साँझ चाहिँ प्रधानमन्त्री ओली बोलेको विषयमा होइन, उनको एउटा तस्वीरको विषयमा सामाजिक सन्जालमा एकाएक चर्चा भयो । तस्वीर मंगलबार नै बालुवाटारमा प्रधानमन्त्री निवासमा गरिएको एक कार्यक्रमको थियो । 

माइक्रो ब्लगिङ साइट ट्विटरमा तस्वीर सेयर गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लेखेका छन्, ‘बालुवाटारमा सारङ्गी र बाँसुरीको मीठो धून ।’

यो तस्वीरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नेकपाका नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल पनि देखिएका छन् । 

मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा गरिएको नेपालका मौलिक धूनहरु बजाइएको यो साँझमा प्रधानमन्त्री र नेकपा नेताहरुले पोज दिएर नै तस्वीर खिचाएको प्रष्ट हुन्छ । सांगितिक साँझमा प्रधानमन्त्री आफैं वाद्यवादनका सामग्री लिएर एक्टिङ गर्नु कति स्वभाविक भन्ने अर्को प्रश्न हो । तर, हाम्रा प्रधानमन्त्री यस्ता विषयमा जिम्मेवार देखिँदैनन् । 



यसको प्रमाणको रुपमा केहीअघि १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालका लागि सर्वाधिक स्वर्ण जितेकी पौडीवाज गौरिका सिंहलाई भेट्दा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले पनि प्रष्ट्याउँछ । त्यति बेला गौरिका सिंहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए– सानोमा म पनि पौडी खेल्थेँ । 

त्यसको केही समयअघि नेपाली बलर सन्दीप लामिछानेले आइपिएलमा राम्रो खेल प्रदर्शन गरेको समयमा पनि प्रधानमन्त्री ओलीले यस्तै हलुका टिप्पणी गरेका थिए– नेपाली हो, चान्स पाए गर्छ, एउटा डल्लो के पाएको थियो, देखाइदियो । 



यस्ता हल्काफुल्का टिप्पणीका कारण प्रधानमन्त्री केपी शर्मा ओली बारम्बार आलोचनामा परिरहेका हुन्छन् । तर, उनले आफ्नो हल्काफुल्का अभिव्यक्ति दिने क्रमलाई रोकेका छैनन् । 

यो तस्वीर मंगलबार साँझ अचानक सामाजिक सन्जालमा अत्यन्त चर्चित हुँदा पनि अधिकांश प्रयोगकर्ताले त्यसलाई गम्भीर भएर लिएनन् । त्यसैले अधिकांशले यो तस्वीर सेयर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई उडाएका नै छन् । 

कतिले त लेखेका छन्, ‘रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ ।’

के रोम जल्दा नीरो बाँसुरी बजाइरहेका थिए ? 

जब एउटा शासक वा नेता क्रुर हुन्छ र जनताका विषयमा ध्यान दिँदैन, देश एउटा दुःखमा हुँदा अरु नै विषयमा रमाइरहेको हुन्छ, रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ भन्दै लेख्न थालिहालिन्छ । तर, यो खासमा के हो त ? 

यो खासमा सन् ६४ को घटना हो । त्यति बेला रोममा ६ दिनसम्म निकै ठूलो आगलागी भएको थियो । यो आगो यति ठूलो थियो कि यसले रोम सहरको ७० प्रतिशत भाग जलाएको थियो । त्यहाँका आधाभन्दा धेरै जनताले घरबार गुमाएका थिए । 

त्यति बेला त्यहाँ अलोकप्रिय शासक थिए, नीरो । त्यति बेला बाँसुरी त थिएन तर उनले फिडल भनिने वाद्यवादन अत्यन्त मन पराउँथे । खासमा यो भनाइको दुई अर्थ छ– नीरोले आफ्ना जनता दुःखमा हुँदा संगीत बजाएर मात्र बसेका होइनन्, उनी त्यति बेला निकै अलोकप्रिय नेता पनि थिए । उनलाई इतिहासमा नै संसारका सबैभन्दा क्रुर र दुखी नेतामध्ये एक मानिन्छ । 

उनले त्यति बेला बाँसुरी वा अरु कुनै संगीत बजाएर बसे या नबसेको विषयमा कतै पनि प्रष्ट रुपमा उल्लेख गरिएको छैन । तर, यसलाई सांकेतिक रुपमा लिइनु पर्ने विश्वका इतिहासकारहरुले बारम्बार उद्धृत गर्दै र लेख्दै आएका छन् ।

यता, मंगलबार प्रधानमन्त्री ओलीले बाँसुरी बजाएको तस्वीर सार्वजनिक भएपछि सामाजिक सन्जालमा यसलाई व्यंग्य गर्नेहरु थुप्रै छन् । 

पत्रकार अशोक दाहालले त यसलाई रमाइलो गर्दै क्याप्सन कन्टेस्ट भन्दै आफ्नो क्याप्सन लेखेका छन्, ‘गाइने दाजैले सारङ्गी रेट्दामा, हरुक्क हुन्छ मन मेरो तिमीलाई भेट्दामा ।’

अर्का एक प्रयोगकर्ता च्याबन घिमिरेले लामो भजनलाई यो तस्वीरको क्याप्सनका रुपमा राखेका छन् । उनको ट्विटलाई कोट गर्दै विकास मरासिनीले रोम जलिरहँदा नीरोले बाँसुरी बजाइरहेको प्रसंग उल्लेख गरेका छन् ।

  • प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार २२:४३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया