फागुन १० देखि बुढासुब्बा गोल्डकप, भिएआर प्रविधि प्रयोग गरिने

धरान– मोफसलको ठूलो फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशी–विदेशी गरी प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने जानकारी दिएको छ । 

क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रदेश अध्यक्ष किशोर राईका अनुसार एन्फाले बुढासुब्बालाई ‘क’ श्रेणीमा राखेपछि प्रतियोगिताको पुरस्कार राशि बढाइएको छ । विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख दिने अध्यक्ष राईले जानकारी दिए । अघिल्लो संस्करणमा विजेतालाई आठ लाख र उपविजेतालाई चार लाख दिइएको थियो ।  

धरानमा सर्वाधिक विजेतामध्येको एक मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, युके एफसी, भारत, जापान फुटबल लिग टिम, बेलबारी फुटबल क्लब, मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ ।  

बाइसौँ संस्करणमा हालै भित्रिएको भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)लाई प्रयोगमा ल्याउन लागिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यो प्रणाली नेपालमै पहिलोपटक बुढासुब्बाले प्रयोगमा ल्याउन लागेको क्लबका अध्यक्ष राईले जानकारी दिए । विदेशी ठूला प्रतियोगितामा यस प्रविधिको प्रयोग हुँदै आएको छ । रेफ्रीले नदेखेका वा दोधार भएको कुरा भिएआरको माध्यमबाट थाहा पाउन सकिन्छ ।





  • प्रकाशित मिति : माघ २३, २०७६ बिहीबार १६:३९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया