काेराेना भाइरस: कस्ताे तयारी गरिरहेकाे छ सरकार ?
साङ्केतिक तस्वीर

काेराेना भाइरस फैलिएसँगै चीनमा रहेका नेपालीलाई ल्याउन सरकारले आगामी ३ फागुनमा नेपाल वायुसेवा निगमको वाइडबडी विमान पठाउने भएकाे छ । एयरबस ३३०–२०० सिरिजको २ सय ७४ सिट क्षमताकाे विमान चीनको वुहान पठाउने भएकाे हाे । पर्यटन मन्त्रालयले नियमलाई विमान तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ ।

गत १८ माघमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, पर्यटन मन्त्रालयका मन्त्रीहरू तथा सचिवहरूको उच्चस्तरीय बैठकले चीनमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याउने निर्णय गरेको थियो । भाइरस फैलिएको चीनको वुहान, हुवेईलगायत क्षेत्रमा रहेका १ सय ८० जना नेपालीले स्वदेश फर्किनका लागि गत आइतबारसम्म चीनस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए । सरकारले विद्यार्थीलाई स्वदेश फर्काउन ढिलाइ गरेको भन्दै अभिभावकहरूले विभिन्न निकायहरूमा दबाव तथा ध्यानाकर्षण गराउँदै आइरहेका छन् । 

सरकारले चीनबाट ल्याइने विद्यार्थीलाई राख्नका लागि भक्तपुरस्थित खरिपाटीलाई निश्चित स्थान तोकिएको छ । यसका लागि १ सय ९९ वटा ‘क्वारेन्टाइन’ कोठाहरूकाे अवस्था तयार गरिएकाे छ । यस्तै, विद्यार्थीको निगरानी गर्न लागि ८६ जना स्वास्थ्यकर्मी तथा विमानका कर्मचारीलाई सोमबार अभिमुखिकरण तालिम दिएको छ । जसअर्न्तगत मेडिकल अफिसर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, पारामेडिक्सलगायतका टोली रहेका छन् । 

स्वदेश ल्याइने नेपालीमा भाइरसको लक्षण देखिए विमानस्थलबाट सीधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगिने छ भने भाइरसकाे लक्षण नदेखिएका विद्यार्थीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट ल्याइने नेपाली फर्काउन आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिए ।

विद्यार्थीलाई स्वदेश फर्काउन ढिलाइ किन ?

चीनमा रहेका १ सय ८० जना नेपालीले स्वदेश फर्कन आवेदन दिएको दुई हप्ता भइसक्दा पनि सरकारले तयारी गर्न ढिलाइ गरेकाे थियाे । चीनबाट विद्यार्थीहरूले विच्याटमार्फत सरकारसँग छिटो स्वदेश फर्काइदिन माग गरिरहेका छन् । 



चीनमा रहेका गौरव पाखरेलले १ लाख मास्क नेपाल सरकारले चीनलाई अनुदान दिनुभन्दा अाफूहरूलाई उद्धार गरिदिए ठूलो सहयोग हुने बताए । उनले भने, ' चीनले आफ्ना नागरिकलाई संक्रमणबाट बचाउन सास्ती भाेग्न परिरहेकाे अवस्थामा गैर चिनियाँ नागरिकको समेत जिम्मेवारी बाेक्नु पर्दा कठिन भएकाे छ ।’

यता, स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले महामारी फैलिएको देशबाट आफ्ना नागरिकलाई स्वदेश ल्याउने अभ्यास पहिलो भएकाे बताएका छन् । 'पूर्वाधारले भरिपूर्ण चीनले नियन्त्रण गर्न नसकेको भाइरस नेपालले कसरी नियन्त्रण गर्ने भन्ने तयारी हुँदा समय लागेको हो,’ उनले भने । विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्ड पूरा गर्न चाहिने सम्पूर्ण तयारी सबै निकायले गर्नु पर्ने भएकाले चीनबाट नेपाली ल्याउने ढिलाइ भएको उनले बताए ।



चीनमा फैलिएको भाइरस जोखिमपूर्ण भएकाले विश्व स्वास्थ्य संगठनले मापदण्ड तोकेको छ । जसअनुसार अन्य देशमा भाइरसको संक्रमण राेक्नका लागि १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नु पर्ने उल्लेख गरेकाे छ ।

के हो क्वारेनटाइन ?

क्वारेनटाइन शब्द सरुवा रोग नियन्त्रणसँग सम्बन्धित छ । क्वारेन्टाइनमा स्वस्थ मानिसलाई राखिन्छ । जसले गर्दा सम्भावित संक्रमणबाट सचेत हुन तथा निगरानी गर्ने गरिन्छ । जसलाई क्वारेन्टाइन भनिन्छ ।

क्वारेन्टाइनको समयमा स्वास्थ्यकर्मीको सुविधासहित सुरक्षित स्थानमा राख्ने र अन्य व्यक्तिसँग मास्कको प्रयोगविना सम्पर्कमा आउन नदिने व्यवस्था मिलाइने छ । नयाँ पत्रिकाले आफ्नाे समाचारमा छापेकाे छ ।

के हो आइसोलेसन ?

शंंकास्पद वा संक्रमित व्यक्तिबाट अन्य व्यक्ति वा स्वास्थ्यकर्मीमा संक्रमण नफैलियोस् भनेर सचेत अपनाउने ठाउँलाई आइसोलेसन भनिन्छ । चीनबाट नेपालीहरू विमान चड्नुअघि सम्पूर्ण रूपमा स्वास्थ्य परीक्षण गरिने छ । उक्त समयमा कोरोना भाइरससँग मिल्दो-जुल्दो लक्षण देखिए नेपाल ल्याइने छैन । नेपालको विमानस्थलमा परीक्षण गर्दा लक्षण देखिए उनीहरूलाई अस्पतालमा पुर्याइ आइसोलेसन वार्डमा राखिनेछ ।

उपत्यकाभित्रका ३६ अस्पतालमा १ सय ४७ वटा आइसोलेसन बेड तयारी अवस्थामा निर्माण गरिएकाे छ । स्वास्थ्य मन्त्रालयमा सहप्रवक्ता सागर दाहालका अनुसार, ‘विद्यार्थीमा कुनै लक्षण देखिए १ सय ४७ जनालाई एकै पटक उपचारका लागि अस्पतालमा राख्ने व्यवस्था गरिएकाे छ । जसले गर्दा हल्लाको भरमा काेही डराउनु पर्दैन ।’

उनले भने, ‘भाइरसले रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई छिटो आक्रमण गर्छ । बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीलाई भाइरसले सताउने चीनको अवस्थाले देखाएकाे छ ।’

  • प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार २३:१९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया