भक्तपुरवासीमा कोरोनाको त्रास

भक्तपुर– जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ । ब्यानरमा पाँच नारा लेखिएका छन् । गेटको दायाँबायाँ भित्ता र रूखमा पर्चा, पम्प्लेट टाँसिएका छन् । 

गेटमा प्रहरी तैनाथ छन् । प्राधिकरणको गेटअगाडि अचेल दैनिक स्थानीय बासिन्दाले सरकारविरुद्ध नाराबाजी गर्ने गरेका छन् । कोही नारा लगाइरहेका देखिन्छन्, महिला र ज्येष्ठ नागरिकको मुहारमा निकै चिन्ता र त्रास देखिन्छ ।  बस्तीको बीचमा रहेको प्राधिकरणमा सरकारले चीनबाट फर्काउन लागेका १ सय ८५ नेपालीलाई राख्ने क्वारेन्टाइन बनाएपछि यस क्षेत्रमा दैनिक देखिएका दृश्य हुन् यी । 

सरकारले चीनबाट कोरोना भाइरस संक्रमित भएका नेपालीलाई होइन, स्वस्थ्य नेपाली नागरिकलाई ल्याउने हो र उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर परीक्षण मात्रै गर्ने हो भनेरसम्म पनि स्थानीय जनतालाई बुझाउन सकेको छैन । 

‘स्थानीय बासिन्दालाई भाइरस संक्रमित होइन, स्वस्थ्य नागरिक ल्याएर परीक्षणमा राख्ने मात्रै हो भन्ने कुराको जनचेतना मात्रै दिन सकेको भए पनि यति धेरै त्रास र आक्रोश हुने थिएन, स्थानीयवासीको विरोधका बाबजुद प्रहरी तैनाथ गरेर जबर्जस्ती क्वारेन्टाइन बनाएपछि त्रास र आक्रोश बढेको हो’, चाँगुनारायण नगरपालिकाकी महिला जनप्रतिनिधि कमला गिरीले भनिन् । 

नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले घना बस्ती, पर्यटकीय क्षेत्रलाई बेवास्ता गरेर क्वारेन्टाइन बनाउन यो ठाउँको छनोट गर्नु गलत भएको बताए । नगर प्रमुख सोमप्रसाद मिश्रले स्थानीय सरकारसँग कुनै समन्वय नै नगरी हस्तक्षेप गरेर  क्वारेन्टाइन राख्न खोज्नु गलत भएको बताए । 

सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेका नेपालीलाई राख्नका लागि खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणका चार भवनमा क्वारेन्टाइन निर्माण कार्य पूरा गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग, होस्टेल भवन, क्यान्टिन नजीकै रहेको रातो भवन र प्राधिकरणका निर्देशक क्वार्टरमा क्वारेन्टाइन बनाइएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिए ।



चीनको कोरोना भाइरस संक्रमित वुहानबाट आगामी फागुन ३ गते उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न चार ब्लकमा १९९ शय्या तयार पारिएको छ । नेपालीको उद्धार गर्न स्वास्थ्यकर्मी र विमान चालक दलका सदस्य गरी ८५ लाई तालिम दिइएको र चीनबाट स्वदेश फर्किन चाहने १ सय ८५ नेपालीलाई एकैपटक नेपाल ल्याएर विमानस्थलमा स्वास्थ्य जाँच गरी सीधै खरिपाटीमा बनाएको क्वारेन्टाइनमा १४ दिन राखेर स्वस्थ्य भए मात्रै घर पठाइने भएको हो । 

जहाजका पाइलटलगायत टोलीलाई चाँगुनारायण–६ नगरकोटको खानेपानी तालिम केन्द्रमा राख्ने तयारी गरिएको छ । विमानस्थलमा ज्वरो आएको पाइएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिनेछ भने सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १ सय ४७ आइसोलेसन वार्ड तयार पारेको छ ।



  • प्रकाशित मिति : माघ २९, २०७६ बुधबार १६:२०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया