नेपालयबाट दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरु’

काठमाडौँ– पब्लिकेसन नेपालयको नयाँ टीमले २०२० को ताजा कार्यतालिका अनुसार चारवटा पुस्तकहरू प्रकाशन गर्ने सम्पूर्ण तयारी पूरा गरेको छ । संयोगवस, नेपालयको महिला नेतृत्व अन्तर्गत प्रकाशित हुन लागेका चारवटै शीर्षकहरू महिला लेखकहरूले सृजना गरेका छन् । नेपालयले आफ्नो यो शृङ्खला, नेपाली साहित्यमा महिला लेखकको प्रतिनिधित्वलाई समर्पित गरेको छ । २०२० मा प्रकाशित हुने कृतिमा सृजनशील युवा लेखकले सृजना गरेका कथा, उपन्यासका साथै  संस्मरण विधा र एक स्थापित लेखकको ओजपूर्ण पुनरागमन पनि समावेश छ ।

२०२० को लागि तयार पारिएको यस शृङ्खलाको पहिलो पुस्तक दुर्गा कार्कीको प्रथम कृति ‘कुमारी प्रश्नहरू’ रहेको छ । ‘कुमारी प्रश्नहरू’ सामाजिक यथार्थवादको कोणबाट लेखिएका १३ कथाको संग्रह हो ।

कार्की लेखनका अनेकौं पुरस्कार प्राप्त गरेकी लोकप्रिय स्तम्भकार पनि हुन् ।  दुर्गा कार्कीको पढाई कानून हो , रुची लेखन। साहित्य उनको उपासना हो जसमा कथा उनको आफ्नै शैली र शिल्पले सशक्त बन्छन् । ‘कुमारी प्रश्नहरू’ उनको पहिलाे पुस्तक कृति हो ।

‘दुर्गा कार्कीको पुस्तकबाट २०२० को आफ्नो प्रकाशन शुरु गर्न पाएकोमा हामी एकदम हर्षित छौं । आफ्नो लेखन मार्फत उनी सामाजिक न्यायको मुद्दामा चलाखीपूर्ण तरिकाले प्रस्तुत हुन्छिन् । लिङ्गभेदका विसंगतीलाई उमेर अनुसारका महिला पात्रका दृष्टिकोणबाट अभिव्यक्त गर्छिन ।’ नेपालयकी भूषिता वशिष्ठले भनिन्, ‘चातुर्यपूर्ण गद्य शैली र आकर्षक कथा बुनावट कार्की को विशेषता हो । उनको यही शैलीले उनलाई अखबार लेखनमा ख्याति र लोकप्रियता दिलाएको छ।’

‘किताबको पहिलो प्रति पाउँदा समेत मलाई मेरा कथाहरू साँच्चिकै किताबको रूपमा आए भनेर विश्वास नै लागेन, यिनमा काम गरेर साँच्चै सकियो र भन्ने लागिरह्यो’, आफ्नो पुस्तकको पहिलो प्रति हातमा लिंदै कार्कीले भनिन्, ‘यी प्रत्ये‍क कथालाई मैले कम्तीमा पनि बीस पटक पढेकी छु, हरेक पटक केही न केही थपघट गरेकी छु र कतिलाई त महिनौँ सोचाइको गर्भमा बोकेर हिँडेकी छु । मलाई आशा छ, पाठकहरू यी कथाबाट पटक्कै निराश हुनु पर्दैन ।’



नेपाली प्रकाशनको बजार मन्द रहेको गुनासो र चर्चा भैरहका बेला नेपालयले २०२० को तालिका अगाडि ल्याएको हो । 

‘दुर्गा आफ्नो कथा लेखनमार्फत ताजापन बोकेर आएकी छिन् । मलाई आशा छ यो किताबले बजारलाई उत्साही बनाउने छ र पुनर्जीवन दिनेछ’ पब्लिकेसन नेपालयकी सि.इ.ओ. सैजन मास्के भन्छिन् । ‘यो शृङ्खलाका चारवटै पुस्तकले भिन्दै शैली र कथानक बोकेर आएका छन्; त्यसैले यिनले नेपाली समकालिन साहित्य र प्रकाशन उद्योगलाइ सकारात्मक योगदान पुर्याउने विश्वास लिएको छु ’ सैजनले भनिन् ।



आउँदो फाल्गुन ९ गते सार्वजनिक हुने दुर्गा कार्कीको पुस्तक ‘कुमारी प्रश्नहरू’ को मूल्य ४२५ रुपैँया राखिएकाे छ ।

  • प्रकाशित मिति : फागुन १, २०७६ बिहीबार १९:२२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया