'अब प्रधानमन्त्री माधवकुमार नेपाल'

काठमाडौं— पछिल्ला केही दिनयता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा आन्तरिक खिचातानी राम्रोसँग देख्न थालिएको छ । यसको जड नेकपा उपाध्यक्ष वामदेव गौतमको संसद छिर्ने तयारी हो । नेकपा सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजानलाई प्रस्ताव गरेका थिए । 

त्यसो त केही समयअघि गौतमलाई आफू निकट बनाउन र रुष्ट बनेका उनलाई आफ्नो समर्थनमा ल्याउन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कास्की २ बाट निर्वाचन उठ्न अनुरोध समेत गरेका थिए । 

तर, त्यति बेला वामदेव गौतमले यो प्रस्तावलाई विशेष परिस्थितिका कारण अस्वीकार गरे । 

त्यसपछि राष्ट्रिय सभामा जानका लागि पनि उनले विशेष सर्त राखे– संविधान संशोधन गर्नु पर्ने !

उनको यो सर्तलाई नेकपाकै अन्य नेताहरुले अस्वीकार मात्र गरेनन्, त्यसको विपक्षमा आफ्नो अभिव्यक्ति दिन थाले । पार्टीमा चरम विरोध भएपछि प्रचण्डले वामदेवलाई सहजै आफ्नो प्यानलमा ल्याउन गरेको पहल विफल भयो । 

यद्यपि अझै पनि वामदेव गौतम राष्ट्रिय सभा सदस्य हुने सम्भावना उत्तिकै छ । यस विषयमा नेकपाका विभिन्न नेताहरुले फरक धारणा दिइरहेका छन् ।



सँगसँगै अहिले नेकपाको वृत्तमा अर्को पनि चर्चा सुरु भएको छ । संविधान संशोधन नहुने भएपछि नेकपाका केही नेताहरुले अब प्रचण्ड, माधवकुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाललगायत मिलेर नयाँ गठबन्धन बनाउँदै केपी ओली सरकार ढाल्ने विषयमा छलफल गर्न थालेको विषयले नेकपाका केही नेताहरु र सहरमा चर्चा गरम बनाएको छ । 

त्यसका लागि नयाँ समीकरणको खोजी पनि भइसकेको छ । माधवकुमार नेपाल र प्रचण्डले नै अब प्रधानमन्त्रीमा माधवकुमार नेपाललाई अगाडि सार्ने विषयमा छलफल गरेको एक नेकपा नेताले आइतबार साँझ फरकधारलाई सुनाए । ‘चर्चा माधवकुमार नेपाललाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने र अर्को पटक हुने राष्ट्रपति निर्वाचनमा झलनाथ खनाललाई उम्मेदवार बनाउने चलेको चाहिँ सत्य हो,’ उनले भने, ‘तर, उहाँहरुबीच यस विषयमा छलफल भएको हो या होइन भन्ने चाहिँ अझै बाहिर आइसकेको छैन ।’



  • प्रकाशित मिति : फागुन १९, २०७६ साेमबार १:८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया