सारापोभाको  चाहना : सन्न्यासपछि आर्किटेक्चर पढ्ने र व्यवसायलाई अघि बढाउने

विश्व टेनिसमा चिनिएको नाम हो, मारिया सारापोभा । पाँचपटक ग्रान्डस्लाम उपाधि जितेकी यी रसियन खेलाडीले फेब्रुअरी २६ मा टेनिसबाट सन्न्यास लिने घोषणा गरेकी छिन् ।
 
सारपोभाले ३२ वर्षको उमेरमा खेलजीवनबाटै सन्नयास लिन लागेकी हुन् । उनले एक अन्तवार्तामा सन्न्यासपछि कमब्याक पनि नगर्ने र प्रशिक्षक पनि नबन्ने बताएकी छिन् । पछिल्लो हप्ता प्रसारित एक अन्तर्वार्तामा के तपाईं अब प्रशिक्षक बन्नुहुन्छ भन्ने प्रश्नमा केही बेर सोचविचार गर्दै उनले बताएकी थिइन, ‘होइन’ ।
 
कमब्याक  

सामान्यतया महिला टेनिस खेलाडी सन्न्यासपछि पनि पुनः कोर्टमा फर्किएका थुप्रै उदाहरण छन् । दुई बच्चाकी आमा बनिसकेकी ३७ वर्षीय किम क्लिस्टर्स सात वर्षपछि  भर्खरै पुनः कोर्टमा फर्किएकी छिन् । त्यस्तै,  २३ पटककी ग्रान्डस्लाम जितेकी सेरेना विलियम्स पनि दुई वर्षकी बच्चाकी आमा हुन् । उनी पनि कोर्टमा फर्किएकी छिन् ।
 
मारिया सारोपाभाले भने कमब्याक गर्ने आफ्नो कुनै योजना नरहेको बताएकी  छिन् । ‘सामान्य तथा हारेका खेलाडीको जिन्दगी अलग–अलग हुन्छ,’ उनले भनेकी छिन्, ‘जिन्दगीमा अनेक–अनेक कुराहरू चलिरहेको हुन्छ, विशेष गरेर महिला  खेलाडीहरुको जीवनमा ।’

उनले अगाडि भनिन्, ‘सेरेनाको कुरा गर्नुपर्दा उनी केही समयका लागि  टेनिसबाट टाढा भएकी थिइन् । उनको कमब्याकमा परिवारको ठूलो साथ र सहयोग रहेको थियो । उनमा नै २४ ग्रान्डस्लामको रेकर्ड तोड्ने क्षमता रहेको छ ।’

महिला खेलाडीले आमा बनेपछि पनि कसरी दोहोरो भूमिका निभाइरहेका त्यसमा आफू अचम्मित बनेको उनको भनाइ छ । आमा बनेपछि बच्चालाई समय दिन नसक्ने भएकाले आफूलाई खेलाडीका रुपमा प्रस्तुत गर्न नसक्ने उनले बताएकी छिन् । ‘मैले आमासँग टाढा हुँदा कस्तो पीडा हुन्छ भनेर राम्रोसँग बुझेकी छु,’ उनल्े भनेकी छिन्, ‘मैले दुई वर्ष आमा (एलिना)बाट टाढा रहेर बिताएको छु । 

उनी ६ वर्षको उमेरमा बुबा युरीसँग रुसबाट अमेरिका आएकी थिइन् । भिसा समस्याका कारण उनकी आमा उनीहरुसँग आउन पाएकी थिइनन् । 



डोपिङ

डापिङका कारण मारिया सारापोभाले दुई वर्षको प्रतिबन्ध बेहोरेकी थिइन् । त्यतिवेला उनले ड्रग सेवन गरेको पाइएको थियो । 



यो विषयमा उनले भनेकी छिन्, ‘त्यो निकै खराब समय थियो, तर मैले इमानदारीका साथ यो विषयमा आफ्नो कुरा राखेकी थिएँ । यो वेलामा पनि सबैले मलाई उत्तिकै साथ र सहयोग दिनुभयो, जति योभन्दा पहिले दिनुहुन्थ्यो ।’ 

सारापोभा १७ वर्षको उमेरमा नै ग्लोबल स्टरको रुपमा चिनिएकी थिइन् । जब उनले सन् २००४ मा विश्व नम्बर एक सेरेना विलियम्सलाई हराउँदै विम्बल्डन टेनिसको उपाधि जितेकी थिइन् । त्यसपछि उनी एउटा ब्रान्डको रुपमा नै उदाएकी थिइन् ।

फोब्र्स  पत्रिकाका अनुसार सारापोभा लगातार ११ वर्ष सर्वाधिक कमाइ गर्ने महिला खेलाडी थिइन् । सन् २०१५ मा मात्रै उनको कमाइ ३० मिलियन डलर थियो ।  

दुई वर्षदेखि डेटिङमा 

उनले बताएकी छिन्, ‘मेरो जीवनमा व्यापारबाहेक अरु पनि धेरै कुरा छन्, जुन अब गर्नेछु ।’ उनी दुई वर्षदेखि बेलायती ब्यापारी एलेक्सजेन्डर गिकेसको साथ डेटिङमा थिइन् ।
  
सारापोभा बताउँछिन्, ‘एलेक्सजेन्डरले मेरो जीवनमा सकारात्मक प्रभाव पारेका छन् । पहिला व्यस्त हुने हुँँदा उनलाई खासै समय दिन पाएको थिइनँ, अब पूरा समय दिनेछु ।’

ठूला कम्पनीसँग एडोर्समेन्ट डिल जारी रहने 

सारापोभा आफ्ना एजेन्ट म्याक्स एसिनबडसँग हरेक कुराको सल्लाह लिने गर्छिन् ।

म्याक्सले बताएका छन्, ‘सन्न्यासपछि पनि सारापोभाको नाइकी, इवियन, पोर्सेजस्ता ठूला कम्पनीसँगको एडोर्समेन्ट डिल जारी रहनेछन् । यसका साथसाथै उनी आर्किटेक्चर पढ्न चाहन्छिन् भने क्यान्डी कम्पनी ‘सुगरपोभा’लाई पनि अगाडि बढाउन चाहन्छिन् । उनले चाँडै नै बिजनेस कन्फ्रेन्समा भाग लिनेछिन् ।’   

  • प्रकाशित मिति : फागुन २०, २०७६ मंगलबार १८:२३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया