प्रचण्डलाई के भएको हो ?
फाइल तस्वीर ।

काठमाडौं– गत साताको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ अस्पताल भर्ना भएँ । 

उनी अस्पताल भर्ना भएलगत्तै नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनलाई भेट्न अस्पताल पुगेका थिए । 

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरियो । अहिले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेको छ । उनले चिकित्सकहरुसँग आफूलाई यही साता डिस्चार्ज गर्न अनुरोध पनि गरेका छन् । 

तर, पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि योबीचमा कतै देखिएका छैनन् । ओलीलाई अस्पतालमा भेटेर फर्किए पछि प्रचण्ड कुनै सार्वजनिक कार्यक्रहरुमा आइतबार (आज)सम्म सहभागी भएका थिएनन् । 

आइतबार चाहिँ उनी एकाएक चितवन पुगेका थिए । चितवनमा पार्टीको जिल्ला पार्टी सचिवालयको बैठकमा सहभागी भएका प्रचण्ड आइतबार नै चितवनबाट काठमाडौं फर्किए ।

योबीचमा विभिन्न मिडियामा समाचार आए– प्रचण्ड बिरामी भएर निवासमा नै आराम गरिरहेका छन् । केही त उनलाई उच्च ज्वरो आएको र उनले भेटघाटलाई पनि कम गर्दै गएको समेत दाबी गर्न थाले । 



यहीबीच हामीले उनका प्रेस संयोजक विष्णु सापकोटालाई सोध्यौँ– अध्यक्ष प्रचण्डलाई खास भएको चाहिँ के हो ? 

सापकाटो आफैं रुघाखोकीले असहज महसुस गरिरहेका थिए । उनले भने, ‘खास केही भएको होइन, सामान्य रुघाखोकी लागेको हो ।’



त्यसपछि उनैले आइतबार नेकपा अध्यक्ष प्रचण्ड चितवन गएको र फर्किएको जानकारी समेत लिए । ‘सामान्य रुघाखोकी मात्र लागेको हो,’ उनले भने, ‘रुघाकै कारण उहाँले आराम गर्नु भएको हो, अरु केही पनि भएको होइन ।’

सापकोटाका अनुसार प्रचण्डले चिकित्सकसँग थप उपचार गर्नु पर्ने वा नपर्ने बारे वा विभिन्न टेस्टहरु गर्नेबारे समेत चिकित्सकसँग परामर्श लिएका थिए । ‘त्यस्तो गम्भीर केही होइन भनेपछि केही पनि गरिएन,’ उनले फरकधारसँग भने, ‘बाहिर आएको जस्तो उहाँलाई त्यस्तो ज्वरो आएको पनि होइन ।’

अर्कोतिर, प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना भएपछि प्रचण्डको राजनीतिक सक्रियता पनि अलिक कम देखिएको छ । यसको पहिलो कारण कोरोना भाइरस संक्रमणका कारण समस्या हुनसक्ने भन्दै नेकपाले आयोजना गरेका विभिन्न कार्यक्रमहरु कम हुनु पनि हो । 

त्यस्तै, पछिल्लो समय प्रधानमन्त्री अ‍ोली र प्रचण्डबीच राष्ट्रिय सभा सदस्यबारे मतभेद रहेको पनि बाहिर आएको थियो । तर, प्रधानमन्त्री ओलीले आफू अस्पताल जानुभन्दा पहिलेको पार्टी सचिवालय बैठकमा यसबारे कुरा गर्न चाहेनन् । त्यसैले यस विषयमा भइरहेको चर्को बहस पनि अहिले तत्कालका लागि रोकिएको छ । त्यसमाथि पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने विषयमा प्रचण्ड र पछिल्लो समय उनीनिटक भएका नेकपाका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायत सहमत भइसकेका छन् । कोरोनाका कारण कार्यक्रहरु रद्द हुनु र पछिल्लो राजनीतिक पेचिलो मुद्दा पनि अर्का अध्यक्ष अस्पताल गएकाले सेलाउनुले प्रचण्ड केही दिन यता कम सक्रिय देखिएको उनीनिटक अर्का एक नेता बताउँछन् । 

  • प्रकाशित मिति : फागुन २५, २०७६ आइतबार १७:०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया