कोरोना भाइरस संक्रमण फैलिएका देशबाट नागरिक ल्याएर अब क्वारेन्टाइनमा राख्न सकिन्न : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमणको आशंकामा चीनको वुहानबाट उद्धार गरेकालाई जस्तो अरुलाई क्वारेन्टाइनमा राख्न नसक्ने बताएका छन् । मंगलबार राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्ने क्रममा स्वास्थ्यमन्त्री ढकालले सरकार कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध पूर्वसावधानी अपनाउन सक्षम नभएको जनाउ दिएका हुन् ।

कोरोना संक्रमणको जोखिम भएका देशबाट नेपाली नागरिक फर्काएर ल्याउन र क्वारेन्टाइनमा राख्न सरकार सक्षम नरहेकाले संक्रमितले आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने बताएका हुन् । उनले भने, ‘क्वारेन्टाइन भन्नेबित्तिकै हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौँ । अब सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ ।'

सरकारले ज्वरो रुघाखोकी लागेमा अस्पतालमा परीक्षणको व्यवस्था गर्ने र परीक्षण गराउँदा पोजेटिभ रिजल्ट देखिएमा अस्पतालमै राखेर उपचारको व्यवस्था गर्ने अन्यथा जिम्मा लिन नसक्ने मन्त्री ढकालले बताए । ठूलो समूहलाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा मात्र भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई प्रयोग गर्ने मन्त्री ढकालको भनाइ छ ।

चीन, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी, इटाली र इरानबाट स्वदेश फर्किन चाहने नेपालीलाई त्यहाँको चिकित्सकले ७ दिनअघिदेखि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश गर्न पाउने नीति सरकारले  बनाएकाे उनले जानकारी दिए । नेपाल फर्केर १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै उनीहरु सामाजिक जीवनमा संलग्न हुन पाउनेछन् ।





  • प्रकाशित मिति : फागुन २७, २०७६ मंगलबार १५:५८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया