बिरामी नै चाहँदैनन् कोरोना टेस्ट गर्न– कुवेतबाट फर्किएका बाबुले लक्षण देखिएकी छोरीलाई लगेनन् टेकु
चीनकाे एक अस्पतालमा काेराेना बिरामीकाे उपचार हुँदै !

काठमाडौं– बुधबार दिउँसो शेर्पा थरका एक व्यक्ति आफ्नी २२ वर्षकी छोरीलाई लिएर चावाहिलमा रहेको एक अस्पतालमा पुगे । उनले छोरीलाई सास फेर्न गाह्रो भएको र खोकी लागेको बताएका थिए । 

सुरुमा यसलाई अस्पतालका चिकित्सकले सामान्य रुपमा लिए । उनीहरुले उनलाई अस्पतालको वार्डमा भर्ना गर्न भने । वार्डमा भर्ना भइसकेपछि थाहा भयो, उनलाई हल्का ज्वरो पनि आएको रहेछ । 

यो दिउँसो १ बजेतिरको कुरा थियो । त्यही नै समयमा अस्पतालका चिकित्सक राउन्डमा आए । वार्डकी नर्सले उनको समस्याबारे चिकित्सकलाई भनिन् । 

त्यसपछि बिरामीको र उनको परिवारको ट्राभल हिस्ट्री लिन खोजियो । अनि थाहा भयो, ती बिरामीका बाबु केही दिनअघि मात्र कुवेतबाट आएका रहेछन् । 

त्यसपछि बल्ल चिकित्सकले ती बिरामीबारे अझ बढी बुझ्न थाले । उनको पूरै लक्षणहरु केलाएर सोध्न थाले । अहिले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका लक्षणसँग उनका लक्षण ठ्याक्कै मिल्न थाले । 

अनि चिकित्सकले बाबुलाई बोलाएर भने, ‘उहाँलाई टेकु अस्पताल लैजानुस्, हाम्रोमा आइसोलेसन वार्ड छैन, फेरि सबै टेस्ट त्यहाँ गर्नु पर्ने भएकाले तपाईंलाई सहज पनि हुन्छ ।’



चिकित्सकले यतिमात्र के भनेका थिए, ती व्यक्ति त्यहाँ नै होहल्ला गर्न थाले । यतिबेला सम्म अस्पतालमा नर्स र डाक्टर र प्रशासनलाई थाहा भइसकेको थियो, अस्पतालमा कोरोना संक्रमित आशंका गरिएकी एक बिरामी आइपुगेकी छिन् । 

उनलाई राखिएको वार्डमा अन्य बिरामी र उनीहरुका भिजिटरले पनि यो कुरा थाहा पाए । त्यसपछि अस्पतालमा निकै होहल्ला भयो, वार्डका बेडमा सुतिरहेका बिरामी बाहिर निस्किन थाले, उनीहरुका भिजिटर बाहिर निस्किन थाले । 



चिकित्सकले ती बाबुलाई काउन्सिलिङ रुममा लिएर गए । त्यहाँ उनले राम्रोसँग सम्झाए ।

तर, ती बाबु टसको मस भएनन् । उनले स्वीकार गर्न सकेनन् कि आफ्नी छोरीलाई कोरोना भएको हुनसक्छ । उनको एउटै तर्क थियो– म दुबई हुँदै आए पनि मलाई नदेखिने, मेरी छोरीलाई कसरी देखिन्छ कोरोना ?

उनले यसो भने पनि अस्पतालले बिरामीलाई टेकु अस्पतालका लागि रिफर गरिदियो । 

बाध्य भएर ती बाबु त्यहाँबाट निस्किए । तर, उनले छोरीलाई टेकु लगेनन् । अस्पतालकै एम्बुलेन्स प्रयोग गरेर उनले छोरीलाई घर पुर्याए । 

‘उनी आफ्नी छोरीलाई कोरोना संक्रमण हुनसक्छ भन्ने विश्वास गर्न तयार नै थिएनन्,’ उनको उपचारमा संलग्न ती चिकित्सकले फरकधारसँग भने, ‘कोरोना जो कोहीलाई हुनसक्छ भनेर सम्झाउन हामीले प्रयास गर्यौँ, तर सकेनौँ ।’ चिकित्सकले काठमाडौंका सबै अस्पतालमा सुरक्षाका लागि आवश्यक पिपिई नहुँदा पनि सबै अस्पतालले अहिले तत्काल कोरोना भाइरसका बिरामीलाई उपचार गर्न सक्ने सम्भावना नरहेको पनि बताए । 

‘उपचार त गरौँला,’ उनले भने, ‘हामीमा कोरोना संक्रमण भयो भने फेरि हामीले अरुलाई सार्न सक्छौँ, अरु बिरामी यसको जोखिममा पर्न थाल्छन् । त्यस्तो हुँदा भयावह स्थिति आउन सक्छ ।’

  • प्रकाशित मिति : चैत १३, २०७६ बिहीबार ११:४५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया