कोरोनाभाइरसः जर्मनीले कसरी रोकिरहेको छ मृत्युको सुनामी ?

मार्चको दोस्रो साता, युरोप कोरोनाभइरसको केन्द्र बनिरहेको थियो । मानिसहरुले चीनबाट अब ध्यान हटाएर युरोपका देशहरुमाथि ध्यान दिन थालेका थिए । युरोपमा इटाली, स्पेन, फ्रान्स तथा बेलायतमा समस्या देखिने एक किसिमले त्यति बेला अनुमान गरिइसकिएको थियो । 

हुन पनि अहिले यी चारै देशमा अवस्था निकै नाजुक बनिसकेको छ । कोरोनाभाइरसका कारण त्यहाँ दर्जनौँ मानिसहरुले ज्यान गुमाएका छन्, दर्जनौँ समस्यामा परेका छन् । 

तर, यही समयमा जर्मनीमा भने कोरोनाको प्रभाव उत्पातै बढी देखिएको छैन । बरु त्यही जर्मनीमा केही पहिले चान्सलर एन्जेला मर्केलले ७० प्रतिशत मानिसलाई कोरोना हुनसक्ने चेतावनी निकालेकी थिइन् । उनको यो चेतावनी थियो, जर्मनीका ७० लाख मानिसहरु कोरोना संक्रमित हुनसक्छन् । 

त्यसो त यसो भनेको केही दिनमा नै एन्जेला मर्केल नै क्वारेन्टाइनमा बस्न बाध्य भइन् । अनि त झन् जर्मनीमा भन्न थालियो– अब हाम्रो हालत पनि इटालीको जस्तै हो । इटालीको जस्तै जहाँ प्रत्येक दिन पाँच सयभन्दा धेरै मानिसहरुको मृत्यु भइरहेको छ । 

तर, अहिलेसम्म जर्मनीमा यस्तो दुखदायी प्रभाव परेको छैन । त्यहाँ कोरोनाभाइरस संक्रमित धेरै देखिएका छन् तर धेरैको मृत्यु भएको छैन । 

आखिर यो कोरोनाभाइरसका कारण हुने मृत्यु कसरी रोकिरहेको छ जर्मनी ?



त्यसो त जर्मनीमा पनि कोरोना संक्रमितको संख्या इटालीको बराबर जस्तै छ । इटालीमा अहिलेसम्म १ लाख ३५ हजारमा कोरोना संक्रमण देखिएको छ भने जर्मनीमा १ लाख ७ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ । 

तर, मृत्युको अन्तर निकै फराकिलो छ । स्पेनमा अहिलेसम्म १४ हजारभन्दा धेरै, इटालीमा १७ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । तर, जर्मनीमा अहिलेसम्म कोरोनाकै कारण जम्मा दुई हजारले मात्र ज्यान गुमाएका छन् ।



यसलाई हिसाब गर्ने हो भने जर्मनीमा कोरोनाका कारण भएको मृत्युदर ०.३ प्रतिशत हुन आउँछ । इटालीमा यो ९ र बेलायतमा अहिले यो ४.६ प्रतिशत छ । 

हो, जर्मनीमा पनि त्यहाँका अधिकारीहरुले आउने दिन समस्याग्रस्त हुनसक्ने बताएका छन् । तर, अहिलेसम्म कसरी जर्मनीले आफूलाई नियन्त्रणमा राख्न सकेको छ त ? 

जानकारहरु भन्छन् यसको मुख्य कारण नै टेस्टिङ अर्थात् परीक्षण हो ।

जर्मनीले जनवरीबाट नै आफ्ना नागरिक तथा पर्यटकमाथि निगरानी बढाएको थियो, परीक्षण सुरु गरेको थियो । अनि देशभर टेस्टिङ किट्स पनि व्यवस्था गरेको थियो ।

त्यसैले जर्मनीले निकै धेरै परीक्षण गर्यो र कोरोना संक्रमित भेटिएकालाई धामधम अस्पतालमा भर्ना गरेर उपचार सुरु गर्यो ।

कतिसम्म भने जर्मनीले लकडाउन गरेपछि पनि परीक्षण ट्याक्सी चलाएको छ, त्यहाँ मानिसहरुको घरघरमा गएर कोरोनाभाइरस संक्रमण परीक्षण हुन थालेको छ । यही परीक्षणमा युरोपका अन्य देश चुकेका थिए । जर्मनीले आफूलाई यसमा चुकाएन ।

एक सातामा नै एक लाखभन्दा बढीलाई परीक्षण गरेकाले पनि जर्मनीमा कोरोना भाइरसका लागि लड्न अझ सहज भयो ।

परीक्षण मात्र होइन, जर्मनील ट्र्याकिङलाई पनि निकै प्राथमिकतामा राखेको थियो । युरोपका वा अन्य देशबाट आएका व्यक्तिहरुलाई परीक्षण गर्ने मात्र होइन, देशभित्रै मानिसहरुलाई पनि ट्र्याकिङ गर्न जर्मनी सक्षम भयो । यसले गर्दा पनि उसले अरु देशले जस्तो कोरोनाभाइरसका कारण ठूलो नोक्सानी व्यहोर्नु परेको छैन । 

सँगसँगै जर्मनीको राम्रो स्वास्थ्य सिस्टमलाई पनि यो विषयमा निकै तारिफ गरिएको छ । त्यसो त कोरोनाका केही संक्रमित भेटिएलगत्तै जर्मनीले देशका अस्पतालहरुमा आइसियु पनि बढाएको थियो ।

 

योसँगसँगै जर्मन सरकारलाई त्यहाँका नागरिकले पनि प्रत्येक पाइलामा समर्थन गरे । चाहे सीमा बन्द गर्दा होस् या सामाजिक दूरीको नियम ल्याउँदा नै किन नहोस्, जर्मनहरुले जर्मनीलाई राम्रो साथ दिए । 

त्यसैले अहिले जर्मनी कोरोनाभाइरसले सताइरहेको विश्वको मानचित्रमा अलग भएर उभिएको छ ।

  • प्रकाशित मिति : चैत २६, २०७६ बुधबार १९:४२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया