एक सातामा दोस्रो पटक किन शीतल निवास पुगे प्रधानमन्त्री ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शितलनिवास पुगेका छन् । उनी बिहिबार अबेर साँझ शितलनिवास पुगेका हुन् । 

यसअघि सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेका थिए । त्यो दिन पनि उनले राष्ट्रपति भण्डारीसँग भेटघाट गरेर फर्किएका थिए ।

एकै साता दुई पटक प्रधानमन्त्री शितलनिवास पुगेपछि यसलाई महत्वका साथ हेरिएको छ । 

विशेषगरि पछिल्ला दिनमा सोमबार सरकारले प्रस्ताव गरेका र राष्ट्रपतिले जारी गरेका दुई अध्यादेशको चर्को आलोचना भएकाले यसलाई महत्वका साथ हेरिएको हो ।

सोमबार राष्ट्रपतिसँग यी अध्यादेश जारी भएपछि भेट्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज तिनै दुई अध्यादेशलाई फिर्ता लिन र खारेज गरिदिन राष्ट्रपतिलाई अनुरोध गर्न पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

किनकि बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता माधवकुमार नेपालसँगको भेटघाटमा प्रधानमन्त्री केपी शर्मा ओलीले यी दुई अध्यादेश फिर्ता लिने बताएका थिए ।



त्यसैले उनी यही अनुरोध लिएर राष्ट्रपतिकहाँ पुगेको हुनसक्ने अनुमान छ । तर, उनको सचिवालयले यसलाई नियमित भेटघाट मात्र भएको जनाएको छ ।

 



 

  • प्रकाशित मिति : वैशाख ११, २०७७ बिहीबार २०:२२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया