बालुवाटारः द इपिसेन्टर अफ पोलिटिकल क्राइम
फरकधार / ११ बैशाख, २०७७

हामीले कमै नाम सुनेको एउटा देश छ, दक्षिण अफ्रिकामा लेसोथो । 



सानो भूपरिवेष्ठित देश भए पनि पछिल्लो समय यो देशमा जे भएको छ, त्यसले त्यहाँका वासिन्दालाई ठूलो आश्चर्यमा धकेलेको छ । र, यो घटना सम्बन्धित छ, त्यहाँका प्रधानमन्त्री थोमस थाबानेसँग ।

थोमस यो भूपरिवेष्ठित देशका पाँचौ प्रधानमन्त्री हुन् । उनीअघि सन् २०१५ मा भएको निर्वाचनमा सात पार्टीसँग मिलेर संयुक्त सरकारलाई नेतृत्व गरेका थिए, मोसिसिलीले । त्यही समयमा थोमसलाई सत्तामा पुग्न रहर जाग्यो । उनले आफ्नो देशबाट दुई पार्टीका नेताहरुलाई लिएर दक्षिण अफ्रिका गए । त्यति बेला उनले एउटा विज्ञप्ति जारी गरेका थिए– उनीहरु सत्तामा छन् तर उनीहरुलाई ज्यानको खतरा छ । 

तर, थोमसले उनीहरुलाई लामो समय यी दुई नेतालाई दक्षिण अफ्रिकामा राखेनन् । १२ फ्रेबुअरी २०१७ मा उनीहरु दक्षिण अफ्रिकाबाट फर्किए र त्यही दिन संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए । 

दक्षिण अफ्रिकाको ‘राजकीय’ भ्रमण गरेर फर्किएका दुई नेताको बलमा मोसिसिली प्रधानमन्त्रीबाट बाहिरिन बाध्य भए, थोमसले यो सानो भूपरिवेष्ठित देशको सत्ता सम्हाले ।

थोमसले २०१७ जुनमा प्रधानमन्त्री पदको शपथ लिएपछि जे सोचेका थिए, त्यो भएन । जे सोचेका थिएनन्, ती घटनाहरुले उनलाई पछ्याउन थाले । 

अन्ततः दुई महिनाअघि उनी राजीनामा दिन बाध्य भए । उनीमाथि लागेको आरोप सामान्य छैन । उनीमाथि त पूर्वश्रीमतीको हत्या गरेको आरोप छ । र, यो हत्या त्यति बेला भएको थियो, जब उनी देशको प्रधानमन्त्री थिए ।

उनीमाथि आरोप लागेपछि उनले नैतिकता सम्झिए, तत्काल राजीनामा दिए । तर, जुन व्यक्तिले त्यहाँका मानिसहरुलाई अपराधबाट आफ्नो देश मुक्त गराउने वाचा गरेका थिए, तिनै प्रधानमन्त्री अपराधमा मुछिए । त्यसैले अहिले पनि लेसोथोमा विश्व महामारी बनेको कोरोनाभाइरसभन्दा बढी चर्चा यही प्रसंगको भइरहेको छ ।

लेसोथोभन्दा कयौँ कोश टाढा हामी अहिले देशमा यस्तै एउटा चक्रव्यूहमा जेलिएका छौँ । हाम्रो सामुन्ने कोरोनाभाइरसले तान्डव मच्चाइरहेको छ । विदेशबाट फर्किएका नेपालीमा धमाधम कोरोनाभाइरस संक्रमण देखिएको छ । उनीहरु आएका विमान, उनीहरु यात्रा गरेका सहर र गाउँ, गाडी र रिक्साको ट्रेसिङ गर्नु पर्ने समयमा हामी छौँ । 

विडम्बना ! हाम्रा देशका प्रधानमन्त्रीले कोरोनाभइरसलाई आफ्नो मस्तिष्कबाट ‘रिसाइकल बिन’मा डम्प गरिदिएका छन्, राजनीतिक ट्रेसिङमा लागेका छन् । बुधबार र बिहिबार ‘पोलिटिकल एरिना’मा जे भएको छ, यसले प्रष्ट पार्छ, प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार प्रधानमन्त्री निवासमा बसेर नेपाली जनताबारे सोचिरहेका छैनन् । 

सायद उनीसँग यस विषयमा सोच्नका लागि समय छैन । सायद, उनले अब के विषयमा सोच्नु पर्छ भन्ने निक्र्योल निकालिसकेका छन् । सायद उनीसँग सेक्युरिटी प्रिन्टिङ प्रेस, स्वास्थ्य सामग्री खरिदबारे सोच्दा अरु विषयमा सोच्ने फुर्सद छैन । हुन्थ्यो भने उनले विश्वमा कहर बनिरहेको कोरोना फ्याटिय र बोसिय तत्व हो जुन तातो पानी खाँदा र वाफ लिँदा जान्छ भनेर समृद्ध नेपाल, सुखी नेपालीको नारालाई छेउमा राखेर भन्ने थिएनन् । र, भन्ने थिएनन्, यो नै राजनीतिक दलहरुलाई विभाजन गर्न सहज बनाउने अध्यादेश ल्याउने उचित समय हो । भन्ने थिएनन्, उनले राजनीतिक नियुक्ति गर्ने ठाउँमा विपक्षी दलको कुनै सल्लाह नै लिनु पर्दैन भनेर ।

र, बुधबार र बिहिबार नेपाली राजनीतिमा देखिएको पोलिटिकल ड्रामा पनि सायदै देखिने थियो ।

त्यसैले त अहिले नेपालीहरु अचम्म मानिरहेका छन्, हामीलाई समृद्ध बनाउने नारा दिएर सत्ता आसिन भएका प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई मात्र समृद्ध बनाउन ध्याउन्नमा छन् । हुँदैनथे भने उनल एउटा ‘राजनीतिक अपराध’को ‘ग्रान्ड डिजाइन’ बालुवाटारबाट गर्ने थिएनन् र कोरोनासँग लड्नु पर्ने यो समयमा ‘राजनीतिक अपहरण’को प्लट सिर्जना गर्ने थिएनन् ।

तर, सोमबार अगाडिबाट नै हुनुपर्छ, प्रधानमन्त्री केपी शर्मा ओलीले यो सब गर्ने योजना बनाइसकेका थिए, प्लट कोरिसकेका थिए, क्यारेक्टरहरुलाई डिफाइन गरिसकेका थिए । अन्यथा उनले मन्त्रिपरिषदबाट पारित गरेको केही समयमा नै राष्ट्रपतिबाट विवादित यी दुई अध्यादेशलाई जारी गराइहाल्न सक्ने थिएनन् । तर, यो सब जुन स्पिडमा भएको थियो, त्यसले संसारका बुलेट ट्रेनको स्पिडलाई माथ खुवाउने खालको थियो ।

अब प्रधानमन्त्री केपी ओलीले यो राजनीतिक क्राइमका लागि चयन गरेको प्लट, क्यारेक्टर र सेटिङको ‘लिटरेचर रिभ्यू’ गरौँ ।

प्रधानमन्त्री ओलीको डिजाइनको यो ‘पोलिटिकल क्राइम सिन’मा मूलतः तीन मुख्य पात्र देखिए । उनीनिकट मानिएका नेकपाका नेता तथा भक्तपुरका सांसद महेश बस्नेत, तनहुँका सांसद किसान श्रेष्ठ र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल । 

अहिले यी तीन पात्रलाई सामाजिक सन्जाल र सन्चारमाध्यममा आफ्ना आफ्ना डायलग बोल्न र कथाको प्लटलाई रिडिफाइन गर्न भ्याइनभ्याइ छ । त्यसैले उनीहरु बुधबार र बिहिबार विहानसम्म नेपाली राजनीतिमा र विशेष गरि समाजवादी पार्टीबारे जे जे भएका छन्, त्यसलाई आआफ्नो अर्थमा परिभाषित गरिरहेका छन् ।

यी तीनै पात्रसँग जोडिएका अर्का पात्र हुन्, डा. सुरेन्द्र यादव । समाजवादी पार्टीका यी नेता पेशाले चिकित्सक हुन् । र, उनी अहिले राजनीतिक चिरफारको शिकार भएका छन् ।

प्रधानमन्त्री ओलीको यो राजनीतिक स्टन्टमा यी तीन पात्र काठमाडौंबाट जनकपुरसम्म पुग्छन् । रातिराति त्यहाँबाट डा. यादवलाई अरु केही सहायक पात्रहरुसँगको सम्बन्ध बनाउँदै र कथाहरुमा उपकथाहरु जोड्दै उठाउँछन् र काठमाडौं ल्याउँछन् । उनीहरु तिनै जनाले भनेअनुसार उनीहरुको भूमिका डा. यादवलाई काठमाडौंको आलिसान होटल मेरिएटमा पु¥याएपछि सकिन्छ । तर, अब उनीहरु काठमाडौंबाट जनकपुरसम्म पुगेको र त्यहाँबाट काठमाडौंसम्म फर्किएको यात्रालाई ग्लोरिफाइ गरिरहेका छन्, यो यात्रा अर्थात् कथामा उपकथाहरु जोडिरहेका छन् । 

उनीहरु त्यही बाटो जनकपुर पुगेका हुन्, जहाँ केही दिनदेखि मजदूरहरु आफ्नो गन्तव्य पुग्न पैताला खियाइरहेका छन् ।

पूर्ण कथाको सार थियो, समाजवादी पार्टीलाई फुटाउने । त्यसका लागि नै प्रधानमन्त्री केपी शर्मा ओलीले केहीअघि देखि एउटा चाल चालेका थिए । उनले बनाएका थिए एउटा ड्राफ्ट । तर, यो कथाको इन्डिङ प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेको जस्तो हुन सकेको छैन ।

उनको कथाको अन्त्य कस्तो हुने भन्ने उनी आफैंले निर्धारण गर्ने वा स्केच गर्ने कुरा थियो । यसपटक प्रधानमन्त्री ओली आफ्नो ड्राफ्टमा चुकेका छन् । 

प्रधानमन्त्री आफ्नो ड्राफ्टमा जसरी चुकेका छन्, त्यसले नेपाली समाजमा चाहिँ एउटा गम्भीर प्रश्न उठाइदिएको छ । के प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा यस्तै राजनीतिक स्टन्टहरु देखाउन विराजमान भएका हुन् ? 

महाकालीपारि आफ्नो देश आउन नपाएका नेपालीहरुले प्रधानमन्त्री ओलीको यो कदमबारे के सोच्नु पर्ने हो ? कोरोनाभाइरसविरुद्ध लड्न फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीले के सोच्नु पर्ने हो ? र, कोरोनाभाइरसबाट बच्न घरघरमा बसिरहेका नेपालीले के सोच्ने ? 

के यो नाटक मन्चनमा पर्दा खसिसकेको छ ? कि प्रधानमन्त्री ओलीले अब अर्को सिनको तयारी गरिरहेका छन् ?

जसले नेपाली राजनीतिमा नाटकीय मन्चनको अन्त्य गर्ने, देशलाई समृद्ध बनाउने सपना देखाएका थिए, तिनै व्यत्ति एउटा ठूलो ग्रान्ड डिजाइनको रचयिता भएर अहिले प्रकट भएका छन् । र, ती रचियताले ३ करोडभन्दा धेरै नेपालीले आशासाथ हेरिरहेको बालुवाटारलाई पोलिटिकल क्राइमको इपिसेन्टर बनाएका छन् ।

अनि के यो इपिसेन्टरबाट थप यस्तै घातक मुभ नहोला भन्न सकिने केही आधार छन् ? 

  • प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार २२:४५:२०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया