कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौं– गत डिसेम्बरमा सुरुमा चीनको वुहान सहरमा मानिसमा देखिएको कोरोनाभाइरस (कोभिड १९) अब विश्वका लागि चुनौति भएको छ । विश्वभरका २ सयभन्दा धेरै देशमा कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

अनि कोरोनाभाइरसका कारण पनि विश्वभर अब २ लाख भन्दा बढीले ज्यान गुमाएका छन् । फ्रान्समा एकै दिन ३ सय ६९ जनाको मृत्यु भएको तथ्यांक आएसँगै अब विश्वमा मृत्यु हुनेको संख्या २ लाख नाघेको हो ।

जोन्स हप्किङ्स विश्वविद्यालयको अनुसार पाँच देशमा अब कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या २० हजारभन्दा बढी भएको छ । शनिबार बेलायत पनि पाँच देशको यो सूचीमा समेटिएको छ । अमेरिका, इटाली, स्पेन र फ्रान्सपछि बेलायतमा पनि २० हजारभन्दा बढीको मृत्यु कोरोनाभाइरसका कारण भएको हो ।
 

 

फर्केर हेर्दा काेराेनाभाइरस

चीनको वुहानबाट गत डिसेम्बरमा देखिएको यो भाइरसबाट अहिले सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । भाइरसका कारण अमेरिकामा नै सबैभन्दा धेरै ५२ हजारले ज्यान गुमाएका छन् । कोरोना भाइरसका कारण हुने कोभिड १९ रोग तीन महिनाअघि पहिलो पटक चीनमा देखिएको थियो । 



जोन्स विश्वविद्यालयले २९ लाखभन्दा बढीमा संक्रमण भएको पुष्टि गरे पनि विश्वभर यसका संक्रमितको संख्या योभन्दा निकै धेरै हुने अनुमान गरिएको छ । 

यो खासमा पहिलो पटक गत डिसेम्बरको अन्त्यतिर चिकित्सकहरुले पहिचान गरेको भाइरस हो । त्यति बेला ३४ वर्षका सरुवा रोग विशेषज्ञ डा ली वेनलियाङले यसबारे आफ्ना सहकर्मी तथा विश्वका चिकित्सकहरुलाई यसबारे सन्देश पठाउन चाहेका थिए । 



तर, प्रहरीले उनलाई भेटेर अफवाह फैलाएको भन्दै चेतावनी दिएको थियो । 

३ जनवरीमा उनले यसबारे पहिलो रिपोर्ट लेखेका थिए । ‘मिस्ट्री भाइरस’ वुहानमा देखिएको उनले निष्कर्ष निकालेका थिए । त्यति बेला वुहानमा ४४ जनामा यो संक्रमण देखिएको थियो । यीमध्ये ११ जनाको अवस्था गम्भीर थियो । तर, कसैको पनि मृत्यु भएको थिएन ।

तर, यो भाइरसको प्रकृतिका कारण त्यहाँ सन् २००३ मा भएको सार्स प्रकोपको जस्तै अवस्था आउने अनुमान गरिएको थियो । सार्सका कारण ७७४ जनाले ज्यान गुमाएका थिए । 

१८ जनवरीसम्म वुहानमा मात्र कम्तिमा पनि ६० जनामा यो भाइरस संक्रमण देखिएको थियो । तर, विज्ञहरुले यसलाई १७ सय जनामा भाइरस देखिएको बताउँदै आएका थिए ।

त्यसको दुई दिनपछि मात्र जब मानिसहरु चिनियाँ नयाँ वर्ष मनाउन तयारी गर्दै थिए, यो भाइरस २ सयभन्दा बढीमा देखिइसकेको थियो । अनि वुहानबाट भाइरस बेइजिङ, शाङ्घाइ र शेन्जेनमा समेत देखिएको थियो ।

२३ जनवरीमा चिनियाँ सरकारले वुहानलाई लकडाउन गर्ने घोषणा गर्यो । त्यति बेलासम्म हुबेई प्रान्तमा मात्र १८ जनाको यो भाइरस संक्रमणका कारण मृत्यु भएको थियो । अनि भाइरस चीनबाहिर ताइवान, जापान, थाइल्यान्ड, दक्षिण कोरिया र अमेरिकामा पनि देखिइसकेको थियो ।

यसको दश दिनपछि फिलिपिन्समा ४४ वर्षका एक व्यक्तिको निधन भयो । चीनबाहिर भएको यो पहिलो मृत्यु थियो । 

६ फ्रेबुअरीमा सुरुमा यो भाइरसबारे पत्ता लगाउने चिकित्सक डा. ली नै भाइरससामु आत्मसमर्पण गर्नु पर्यो, उनको मृत्यु भयो । 

त्यसको एक सातापछि ८० वर्षका एक पर्यटकको फ्रान्समा मृत्यु भयो । यो नै युरोपमा भाइरसका कारण भएको पहिलो मृत्यु थियो ।

त्यसको पाँच दिनपछि इरानमा भाइरस संक्रमण देखियो । दुई घन्टामा नै त्यहाँ दुई जनाको मृत्यु भएको समाचार आयो । त्यसपछि यो भाइरसको हटस्पटका रुपमा इरानलाई लिन थालियो ।

२३ फ्रेबुअरीसम्म आइपुग्दा युरोपेली मुलुक इटालीमा यो भाइरसका कारण निकै धेरै संक्रमित भेटिए । त्यहाँका १० सहरहरुलाई लकडाउन गरियो । १० मार्चमा इटालीमा यो लकडाउन देशभर जारी गरियो । 

२३ मार्चमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले समेत बेलायतभर लकडाउनको घोषणा गरे । 

२६ मार्चमा आइपुग्दा अमेरिकामा सबैभन्दा धेरै भाइरस संक्रमित भेटिए । त्यो दिन त्यहाँ ८६ हजारभन्दा बढीमा भाइरस संक्रमण भएको पुष्टि भयो ।

यसबीच नेपालमा पनि ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यीमध्ये १९ जनाले त अब काेराेनाभाइरसलाई जितिसकेका छन् । नेपालले पनि भाइरस संक्रमण रोक्नका लागि लकडाउन आह्वान गरेको एक महिनाभन्दा बढी भइसकेकाे छ ।

कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्रमा पनि निकै ठूलो समस्या देखिएको छ । यसका कारण विभिन्न देशले आर्थिक प्याकेजहरु ल्याएका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा गर्ने वाचा गरेका छन् । 

 

के बन्दैछ भ्याक्सिन ? कहिलेसम्म उपलब्ध हाेला ?

कोरोनाभाइरस अहिले विश्वभर फैलिएको छ । तर, अहिलेसम्म कोभिड १९ का कारण हुने रोगबाट बच्नका लागि कुनै भ्याक्सिन बन्न सकेको छैन । 

 

यसको अर्थ के होइन भने यसबारे काम नै भएको छैन । मेडिकल रिसर्चरहरु यसबारे काम गरिरहेका छन् ।

तर, अहिले यो भ्याक्सिन निकै महत्वपूर्ण भइसकेको छ । किनकि विश्वमा यो भाइरस सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण भइरहेको छ र अहिले पनि विश्वको पूरै जनसंख्या भाइरसबाट प्रभावित हुने सम्भावना छँदै छ ।

भ्याक्सिन बन्यो भने मात्र विश्वमा भइरहेका लकडाउनहरु सहजै हट्न सक्ने थिए, मानिसहरु फेरि पुरानै जीवनशैलीमा आउन सक्ने थिए ।

अहिले भ्याक्सिन बनाउनका लागि विश्वभरका रिसर्चरहरु निकै तीव्र गतिमा काम गरिरहेका छन् । विश्वभर ८० समूहले यो भ्याक्सिनबारे रिसर्च गरिरहेका छन् । कतिपय ठाउँमा अब भ्याक्सिन मानिसमा पनि परीक्षण गर्ने कुरा भइरहेको छ । 

सबैभन्दा पहिले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन गत महिना सिएटलमा वैज्ञानिकहरुले मानिसमा प्रयोग गरेका थिए । तर, यसको अध्ययन अझै सकिएको छैन । बेलायत र जर्मनीमा पनि अब भ्याक्सिन मानिसमा परीक्षण गर्ने कुरा भइरहेको छ ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले सेप्टेम्बरको अन्त्यसम्ममा १० लाख भ्याक्सिन बनाउने लक्ष्य लिएर काम गरिरहेका छन् । तर, अहिलेसम्म कसैलाई पनि यो भ्याक्सिनको प्रभावकारिता के होला भन्ने थाहा भइसकेको छैन । त्यहाँ बिहिबार मात्र याे भ्याक्सिन मानिसमा परीक्षण गरिएकाे छ ।

तर, कहिलेसम्म बनिसक्ला त भ्याक्सिन ? 

यसका लागि त वर्षौं वा एक दशक पनि लाग्न सक्छ । तर, अहिले रिसर्चरहरु केही महिनामा नै यो काममा सफलता पाउने उद्देश्यका साथ काम गरिरहेका छन् । 

जे होस्, विभिन्न विज्ञहरुले अब भ्याक्सिन २०२१ को बीचसम्ममा आइसक्ने अनुमान पनि गरेका छन् । यो एउटा ठूलो वैज्ञानिक उपलब्धि हुनेछ । तर, यसले पनि काम गर्छ भन्ने कुनै ग्यारेन्टी छैन ।

अहिले भ्याक्सिनमा काम गरिरहेका समूहहरुले ट्रायल गर्न खोजिरहेका छन् । तर, अहिलेसम्म यो कति प्रभावकारी हुन्छ भन्ने कसैले पनि भन्न सकेका छैनन् । त्यसपछि पनि निकै ठूलो प्रक्रियाबाट यो गुज्रनु पर्ने हुन्छ । अनि अहिले भइरहेको लकडाउनका कारण पनि भ्याक्सिन बनिहालेको खण्डमा विश्वका विभिन्न देशमा पुग्न केही समय पक्कै लाग्ने छ ।

अर्कोतिर, अहिले कति मानिसमा यो भ्याक्सिन दिनुपर्छ भन्ने पनि थाहा हुनसकेको छैन । भाइरस संक्रमण पुष्टि भइसकेका कम्तिमा पनि ७० प्रतिशत मानिसलाई भ्याक्सिन आवश्यक हुने विश्वका रिसर्चरहरुले बताइरहेका छन् । 

 

 

  • प्रकाशित मिति : वैशाख १४, २०७७ आइतबार ०:२३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया