अझै पत्ता लाग्न सकेन किमकाे अवस्था !

काठमाडौँ — उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जङ उनको स्वास्थ्य अवस्थाबारे विभिन्न हल्ला फैलिइरहेका बेला उनले प्रयोग गर्ने रेलको स्याटेलाइट तस्बिर सार्वजनिक भएको छ । 

उत्तर कोरियाली मामिलामा विशेष अध्ययन गर्दै आएको वेबसाइट थर्टीएटनर्थडटओआरजीले किमले प्रयोग गर्ने रेलको स्याटेलाइट तस्बिर सार्वजनिक गरेको हो। उत्तर कोरियाको पूवी किनारमा गत हप्तादेखि रेल पार्किङ गरेर राखिएको उसले दाबी गरेको छ।

थर्टी एट नर्थले रेलको तस्बिर सार्वजनिक गरे पनि किमको स्वास्थ्य अवस्थाका बारेमा भने केही खुलाएको छैन। उसले पनि दक्षिण कोरियाली सरकारले यसअघि दाबी गरेजस्तै नेता किम प्योङयाङभन्दा बाहिर रहेको संकेत गरेको छ।

गत १५ अप्रिलमा आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका सबैभन्दा ठूला नेता मानिने किम इल सुङको जन्मजयन्ती समारोहमा सरिक नभएपछि उनको स्वास्थ्य अवस्थाका बारेमा विभिन्न अड्कलबाजी गरिएको छ। त्यस्तै गत शनिबार उत्तर कोरियाली सेनाको स्थापना दिवसमा पनि उनी सहभागी नभएको समाचार सार्वजनिक भएको छ ।

त्यस्तै दक्षिण कोरियाको राजधानीबाट सञ्चालिच डेली एनकेको एक रिपोर्टमा किम प्योङयाङको उत्तरी क्षेत्रको रिसोर्ट काउन्टी अफ् ह्याङसनमा उपचाररत रहेको बताएको थियो ।

अप्रिल १२ मा किमको मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उनको अवस्था बिग्रेको अपुष्ट समाचार डेली एनएकेले प्रकाशित गरेको थियो। त्यस्तै केही समाचार संस्थाले कोरोना भाइरसको संक्रमणबाट बच्न किम जोङ उन वोनसान गएको पनि बताएका छन्। अहिलेसम्म किम जोङ उनले अप्रिल १५ को समारोह नछुटाएको र त्यसमा अनुपस्थित भएको भन्दै उनको स्वास्थ्य अवस्था बिग्रिएको आशंका गरे पनि अहिलेसम्म आधिकारिक रुपमा कसैले पुष्टि गर्न सकेका छैनन्।



उत्तर कोरियाली नागरिकले ‘भगवान’ सरह मान्ने नेता किमको स्वास्थ्य अवस्था बिग्रिएको वा केही भवितव्य आइलागेको भए उत्तर कोरियाली नागरिकमात्रै होइन, मुलुककै भविष्यमाथि गम्भीर संकट आइलाग्ने आकलन गरिएको छ । उनी उत्तर कोरियामा शासन गर्ने उनको परिवारका तेस्रो पुस्ता हुन्। सन् २०११ मा बुवा किम जोङ इलको निधनपछि उनले उत्तर कोरियाली सत्ता सम्हालेका थिए ।

उनको जन्ममिति आधिकारिक रुपमा सार्वजनिक नगरिए पनि उनी सन् १९८४ मा जन्मिएको आकलन गरिएको छ। जनवरी ८ मा उत्तर कोरियामा उनको जन्मदिन भव्यताका साथ मनाइने गरिएको छ ।



उत्तर कोरियाले आफ्ना नेतृत्वको बारेमा पहिलेदेखि नै एकदमै न्यून मात्रामा सूचना सार्वजनिक गर्ने गरेको छ। त्यसैले पनि किमको वास्तविक अवस्था के हो भन्नेबारे यसै भन्न सकिने अवस्था छैन ।

उत्तर कोरियामाथि जासुसी गर्ने दक्षिण कोरियाली खुफिया एजेन्सीले समेत मिश्रित प्रकारको सूचना प्राप्त गर्ने गरेको छ । सन् २०११ मा किम जोङ इलको मृत्यु हुँदा पनि दुई दिनसम्म उत्तर कोरियाबाहिर कमैलाई मात्र थाहा थियो। उत्तर कोरियाली सञ्चारमाध्यमले दुई दिनपछि सार्वजनिक गरेको समाचारपछि मात्रै उनको मृत्युबारे बाहिरी दुनियाँले थाहा पाएको थियो ।

  • प्रकाशित मिति : वैशाख १४, २०७७ आइतबार १५:३१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया