जसले लकडाउनमा गरिबलाई खाना खुवाउन ४० लाखको जग्गा बेचे

‘हामीले धर्म हेरेर मानिसहरुलाई खाना दिऔँ भने ईश्वरले हामीलाई हेर्न छोडिदिनेछन् ।’

यो भनाई हो, दुई भाइको । मुजम्मिल र तजम्मुलको । 

र, यी दुई भाइ हुन्, भारतका । भारतको राज्य कर्नाटकमा यी दुई भाइले लकडाउनको समयमा गरिबलाई खाना खुवाउनका लागि भारतीय रुपैयाँमा २५ लाख बराबरको आफ्नो सम्पत्ति बेचिदिएका छन् । 

यी दुई भाइमा कान्छन् हुन्, मुजम्मिल । 

३७ वर्षका मुजम्मिले बिबिसीको हिन्दी संस्करणका लागि भनेका छन्, ‘हामीलाई थाहा भयो कि निकै धेरै मानिसहरु गरिब छन्, उनीहरुसँग खानका लागि केही पनि छैन । एउटा समय थियो, हामी पनि निकै गरिब थियौँ । त्यति बेला कसैले पनि हामीलाई भेदभाव गरेन, समान रुपमा सहयोग गरे ।’

यी दुई भाइलाई लकडाउनका कारण आफ्नो क्षेत्रमा गरिब मानिसहरु निकै मुश्किल समय कटाइरहेको महसुस भयो । त्यसपछि उनीहरुले फैसला गरे, आफ्नो जग्गा बेचिदिने र उनीहरुलाई खाना खुवाउने ।



उनीहरुले भनेका छन्, ‘हामीले हाम्रो त्यो जमिनको टुक्रा आफ्नो साथीलाई बेचिदिएका हौँ । ऊ अत्यन्त राम्रो मान्छे हो । उसले जमिनका लागि हामीलाई २५ लाख रुपैया दियो । अरु साथीहरुले पनि हामीलाई सहयोग गरेका छन् । कसैले ५० हजार दिएका छन्, कसैले एक लाख नै दिएका छन् ।’

उनीहरुले आफूहरुले अहिलेसम्म कति खर्च गरियो भन्ने कुनै हिसाबकिताब नराखेको पनि बताएका छन् । ‘त्यो ईश्वरले राख्नेछन्,’ उनीहरुले भनेका छन् ।



उनीहरुले भनेका छन्, ‘हामीले गरिबहरुलाई खाना दिन सुरु गर्यौँ । हामीलाई कसैलाई समस्या भएको थाहा भयो भने हामी १० किलो चामल, २ किलो आटा, एक किलो दाल, एक किलो चिनी, सय ग्राम धनिया, रातो खुर्सानी, बेसार र नुन तथा साबुन दिन्छौँ ।’

अहिले रमजान सुरु भएको दुई दिन भइसकेको छ । अब यी दुई भाइले साढेँ दुई हजारदेखि तीन हजार मानिसहरुलाई खानाको प्याकेट दिएका छन् । उनीहरुका लागि आवश्यक कुराहरु दिएका छन् । 

खासमा यी दुई भाइले सानै हुँदा आफ्नो पिता गुमाएका थिए । पिताको मृत्यु हुँदा यी दुईमध्ये जेठो चार वर्षका थिए, कान्छो तीन वर्षका ।

बाबु गुमाएको चालिस दिनमा नै यी दुईले आमा पनि गुमाएका थिए । अनि उनीहरुले घर छेउको एउटा मस्जिदमा बस्न थाले । त्यहाँ एउटा मन्डी थियो, दुवै भाइले त्यसमा काम गर्न थाले ।

‘हामीले खासै पढेका छैनौँ,’ उनीहरुले भनेका छन्, ‘पहिले त हामी दैनिक १५ रुपैयाँ ज्यालादारी काम गथ्र्यौँ । पछि दुई जना मिलेर मन्डी सुरु गर्यौँ, अहिले केराको व्यापार गर्छौँ ।’ 

अहिले लकडाउनमा समस्यामा परेका गरिबहरुलाई खाना खुवाउन चाहिँ उनीहरुले आफ्नी हजुरआमाबाट सिकेको बताएका छन् ।

अनि उनीहरुले भनेका छन्, ‘धर्म त यो धरतीमा मात्र छ, ईश्वरसँग छैन ।’
 

  • प्रकाशित मिति : वैशाख १५, २०७७ साेमबार १:१९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया