Mon, 01 Jun, 2020


[संस्मरण] आँखै अगाडि गान्धी, नेहरु र राजेन्द्र प्रसादलाई देख्दा...
नरनाथ घिमिरे
फरकधार / बैशाख १६, २०७७

नरनाथ घिमिरे



 

एउटा भनाई छ, बर्मामा सुन छ, कान मेरो बुच्चै !

आराकानको ‘नेफ’ नदीमा मानिसहरू बालुवा छानेर सुन खोजिरहेका देखिन्थे । बर्मेलीहरुको मुख्य पेशा नै सुन संकलन थियो । सोझा नेपालीहरु चाहिँ ब्रिटिसका गुलाम बनेर उनीहरुका लागि युद्धमा होमिए ।

त्यति बेला नेपालमा श्री ३ जुद्धशम्शेरको शासन गर्थे । म सानै थिएँ । तर, गरिबीका कारण विदेशिन बाध्य भएँ । यो यस्तो समय थियो जतिबेला आम नेपालीलाई देशको शासन व्यवस्थाबारे कुनै चासो थिएन । न उनीहरु शिक्षाको पहुँचमा थिए, न कुनै अवसर नै पाएका थिए । नेपालीहरु त हाडछाला घोटेर खान बाध्य थिए । 

देश ९० सालको भूकम्पले थलिएको थियो । म १३ वर्षको थिएँ । घरमा चुल्हो बल्न गाह्रो थियो । यो अवस्थाका कारण मेरा आँखा रसाउँथे । अनि एकदिन म कसैलाई नसोधी घरबाट हिँडे । विदेश हिँडे । त्यति बेला विदेश भनेकै भारत थियो !

भोजपुर दिङ्ला पायखाको घरबाट निस्किएर म युवाहरुको जत्थामा मिसिएँ । उकाली ओराली गर्दै धरानसम्म झरेँ । त्यसताका धरान जंगला मुलकु थियो । धरानबाट लेटाङको बाटो हुँदै सिलगुढी पुगेँ ।

अनि दार्जिलिङ गुल्ममा भर्ती भएँ म, ब्वाईको रुपमा । 

मेरो उमेर पुगेको थिएन । सुरुमा त ब्रिटिस अफिसरले मलाई भर्ती गर्न मानेन । एक ब्रिटिस अफिसरले म ‘नज्दिक’ आएर भने, ‘बाबु तिमी घर फर्केर जाउ, तिम्रो ओठ कलिलो छ । जवान भएपछि आउनू ।’

अर्को अफिसरले फेरि मलाई भने, ‘हेर, यहाँ त लडाईं लड्नु पर्छ, अहिले दोस्रो विश्वयुद्ध चलिरहेको छ । भर्ती हुने वित्तिकै खटिनुपर्छ, बर्माको लडाईंमा । बर्माको जंगलमा बसेर जापानीहरुसँग लड्नु पर्छ, लाशमाथि सुत्नुपर्छ, बन्दुक छडी चलाउनु पर्छ ।’

उनीहरुका कुरा सुनेपछि पनि मैले निर्धक्क भएर भनेँ– म सक्छु ।

अलि पर उभिएको ब्रिटिस मेजर ब्रुट छक्क परे । उनले मलाई सोधे, ‘के तिमी यो चामलको बोरा उठाएर दौडिँदै पर पोलसम्म पुगेर आउन सक्छौ ?’

फेरि मैले सक्छु भनेँ । चामलको बोरा उठाएँ । अर्का एक सिपाहीले मलाई काँधमा बोरा राख्न सहयोग गरे । काँधमा बोरा अड्याएपछि म छाती उठाएर दौडिएँ, त्यो चउरको एक फन्को लगाएँ र स्याँस्याँ हुँदै फर्किएर मेजर ब्रुटको खुट्टा नजिकै बोरा फालेँ ।

त्यसपछि बल्ल उनले आदेश दिए– यो फुच्चेलाई ब्वाईमा भर्ती गरेर बर्माको आराकान लानू र अस्पतालको ड्युटीमा खटाउनू !’

मेजर ब्रुट मलाई भगवानको अवतार झैँ लाग्यो !

मलाई पत्तै थिएन, दोस्रो विश्वयुद्ध भीषण चलिरहेको थियो । भर्ती भएका अरु थुप्रै नेपाली सिपाहीहरुसँगै मलाई थ्रिटन गाडीमा राखेर बर्माको आराकन जंगलमा लगियो । यो घना जंगल थियो । त्यसको बीचमा आर्मीका क्याम्प थिए । आकाशबाट जापानी फौजले हमला गर्न नसकोस् भनेर आर्मी क्याम्प घना जंगलको बीचमा बनाइएको रहेछ । त्यहीबीच सानो अस्पताल पनि रहेछ । त्यहाँ नै मेरो ड्युटी थियो ।

त्यो अस्पतालमा म डाक्टरको पछाडि पछाडि दौडिन्थे, दबाई र पानीको झोला बोकेर । अकासमा फाइटर उडेको देखिन्थ्यो, बमवर्षक विमान जुधेको देखिन्थ्यो । जंगलमा लासहरु लडिरहेका हुन्थे । मलाई लाग्थ्यो– जीवित र अर्धमृत मानिसको संघारमा म उभिएको छु, उनीहरुको जीवन रक्षाका लागि देवदूत बनेर ।

नेपाली लडाकूहरु देख्दा अक्सर मेरो मन खिन्न हुन्थ्यो । तर, अर्को मनले फेरि चैनको सास फेथ्र्यो । 

सन् १९३९ देखि जापानसँग युद्ध सुरु भएको थियो– दोस्रो विश्वयुद्ध । यो युद्धमा ब्रिटिस, अमेरिकी, फ्रेन्च, चाइनिज, अष्ट्रेलियन र युरोपेली देशका आर्मीहरु जापानविरुद्ध बर्मामा लडिरहेका थिए । जापानी सेना निकै एग्रेसिभ देखिन्थ्यो । उनीहरुले त ससाना बच्चादेखि वृद्धवृद्धासम्म कसैलाई बाँकी राखेनन् । लडाईंमा जापान एकातिर थियो, सारा विकसित देशहरु एक ढिक्का भएर जापानविरुद्ध बर्मामा लडिरहेका थिए । त्यो युद्धलाई मैले देखेँ, म अचम्मित भएँ । सारा संसार एकातिर भए पनि जापानले कसरी १९३९ देखि एक्लै विश्वसँग लड्न सकेको होला भन्ने सोच्न थालेँ । म सोच्थेँ– कति शक्तिशाली रहेछ जापान, के कारणले जापान यस्तो शक्तिशाली हुन सकेको होला ?

एकपटक त मैले जापानी सेनाले गरेको आक्रमण मेरै आँखाले देखेँ । जापान पूर्वबाट उग्ररुपमा अगाडि आउँदै थियो । बर्माको एरोवती नदीतर्फ जापानी सेना उग्र भएर आउँदै थियो । एरावती बर्माको सबैभन्दा ठूलो नदी । त्यसमा झोलुङ्गे पुल थियो । जब मैले जापानी सेना ऐरावतीतिर आउँदै गरेको देखेँ, मेरो सातोपुत्लो उड्यो । अब यहाँ नै हामी सबै एक चिहान हुन्छाँै भन्ने सोचेँ ।

तर, त्यस्तो भएन !

निमेषभरमै ब्रिटिस सेनाले ऐरावती नदीमा बनेको त्यो पुल विस्फोट गराएर भत्कायो । ऐरावती नदीको वरपर थुप्रै बर्मिज नेपालीहरुको वस्ती थियो । त्यो दिन त्यो वस्तीका थुप्रै जना जापानी सेनाबाट घोचिएर वा गोली खाएर मर्नुभन्दा ऐरावतीमा हाम्फाल्नु ठिक भनेर नदीमा हाम्फालिरहेका थिए । कति त ऐरावती नदीको पुल तर्दातर्दै विस्फोटमा परेर मरे । ऐरावतीमा सयौँ शव नदीमा माछा मरे झैँ तैरिए । दुश्मनबाट रगत बगाएर मर्नुभन्दा पानीमा डुबेर मर्नु ठिक होला भन्ने ठानेर उनीहरुले सुसाइड गरे । आत्मरक्षाका लागि गरिएको त्यो सुसाइड मेरो जीवनमा महत्वपूर्ण दस्तावेजका रुपमा रहेको छ ।

सन् १९४५ मा विश्वयुद्ध सकियो । यता, भारतमा बेलायती शासनको विरोध चर्कियो ।

सन् १९४७ मा त भारत स्वतन्त्र भयो । भारत स्वतन्त्र भएपछि मललगायत धेरै नेपालीहरुलाई भारतीय सेनामा समायोजन गरियो । भारतीय सेनामा समायोजनमा परेपछि सबैभन्दा पहिले मेरो पोस्टिङ पुरानो दिल्लीमा भयो ।

सन् १९४७ को सेप्टेम्बरको एक दिन ।

कुतुब मिनारछेउको ठूलो चउरमा विहानैदेखि मानिसहरु भेला भएका थिए । भीड निकै ठूलो थियो । मैले थाहा पाएँ, त्यो दिन त्यहाँ ठूला नेता भाषण गर्न आउँदै रहेछन् । १५ अगस्टमा भारत स्वतन्त्र भएपछि शीर्ष नेताहरु भारतका विभिन्न ठाउँमा कार्यक्रमहरुमा पुगेर भारत स्वतन्त्रताको भाषण गर्थे । 

त्यो दिन कुतुब मिनारमा महात्मा गान्धीको भाषण रहेछ । गान्धीले दिल्लीवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेछ । उनको नाम मैले पहिले नै सुनेको थिएँ । त्यसताका तीन जनाको नाम सडकदेखि सदनसम्म सुनिन्थ्यो– महात्मा गान्धी, जवहारलाल नेहरु र डा. राजेन्द्र प्रसाद । त्यो दिन यी तीनै व्यक्तिले त्यहाँ सम्बोधन गर्ने कार्यक्रम रहेछ । मेरो कौतूहल झन् बढ्यो ।

घाम मध्यम हुँदै जाँदा मानिसहरुको भीड झन् बाक्लियो । चउरमा धुलो उड्न थाल्यो । मसँग त्यति बेला घडी थिएन । त्यति बेला मैले अनुमान गरेको थिएँ– सायद २ बज्यो होला । अब आकाशमा हेलिकोप्टर उड्न सुरु ग¥यो । मानिसहरु सबै आकाशमा हेरेर कराउन थाले । त्यो भीडमा महिलाहरु कम थिए । पुरुषहरु धोती, कुर्ता र सुरुवालमा आएका थिए । 

हेलिकोप्टरले आकाशमा फन्का लगाएर बस्ने ठाउँ खोजिरहेको थियो । केहीबेरमा त निकै पर गएर हेलिकोप्टर ल्यान्ड भयो । त्यो चउरलाई त्यस दिन चारैतिरबाट आर्मीले घेरा हालेको थियो । म नेताजीहरुको रक्षान्तका लागि तैनाथ थिएँ । सैन्य पोशाकमा सुसज्जित थिएँ म, हातमा बन्दुक थियो । तर, मेरो आँखा पनि त्यहाँ भेला भएकाहरुको जस्तै नेताजीहरुतिर केन्द्रीत भइरहेको थियो । म पनि आतुर थिएँ, उनीहरुलाई हेर्न र उनीहरुको भाषण सुन्न ।

म बर्मामा छँदा एकजना ब्रिटिस अफिसरले भनेका थिए, ‘मलाई जीवनमा एउटै शोख छ, गान्धीलाई भेट्ने । हि इज रियल्ली क्यारिसम्याटिक लिडर । मैले उनीबाट नै पेट्रियोटिजमको पाठ सिक्ने अवसर पाएँ ।’

त्यो दिन कुतुब मिनारमा मसँगै उभिएका थिए, सरदारजी सुरजित सिंह । हामी सबै उनकै कमान्डमा त्यहाँ ड्युटीमा थियौँ । हेलिकोप्टर ल्यान्ड हुने बेला चउरमा रहेका मानिसहरुको भागाभाग सुरु भयो । धुलो निकै उडेको थियो, चउर नै कुइरीमण्डल भयो ।

केहीबेरमै हेलिकोप्टरबाट तीनै जना निक्लिए । सुरुमा डा. राजेन्द्र प्रसाद, त्यसपछि नेहरु र गान्धी । तालीको वर्षा र चर्को ध्वनीले पूरै कुतुब मिनार गुन्जायमान भयो । नेताहरु फूल र अबिरले पुरिए । आकाश खुला थियो, घाम लागिरहेको थियो ।

कार्यक्रममा पहिलो वक्ता थिए, डा. राजेन्द्र प्रसाद । हुन पनि उनी जीवनमा सधैं पहिलो नै भए । सन् १९५० मा उनी स्वतन्त्र भारतको पहिलो राष्ट्रपति भए । त्यसपछि नेहरुले भाषण गरे । उनी त्यही वर्ष भारतका प्रधानमन्त्री भए । सन् १९५२ मा भारतमा भएको पहिलो आमनिर्वाचनमा भारतीय राष्ट्रिय काङ्ग्रेसले विजयी भयो । उनी फेरि प्रधानमन्त्री भए ।

त्यो दिन अन्तिममा भाषण गरे महात्मा गान्धीले । लौरोको सहाराले उभिएर हिन्दीमा मन्द स्वरमा उनले भाषण गरे । उनको भाषण मलाई शान्त तलाउ झैं लाग्यो ।

त्यति बेला भारतमा भौगोलिक विखण्डीकरणको विषयमा हिन्दु र मुसलमानबीच तनाव बढेको थियो । धार्मिक साम्प्रादायिक दंगा र झडपहरु दिल्लीमा मात्र होइन, भारतका विभिन्न ठाउँमा भएका समाचार आउँथे । धार्मिक सहिष्णुता अपनाएर देशमा अमनचयन कायम राख्नु भारत सरकारका लागि प्रमुख चुनौति भएको थियो । गान्धीको भाषण पनि त्यही सेरोफेरोमा केन्द्रित थियो ।

गान्धी त्यो दिन गान्धी वस्त्रमा थिए । आँखामा गान्धी चश्मा थियो । तालुमात्र देखिने निकै बुढा र ख्याउटे देखिन्थे उनी । तैपनि लड्दालड्दा कहिल्यै नथाकेका जस्ता देखिने गान्धीलाई त्यस दिन मैले मनबाट सुनेँ । त्यसको लगभग ४ महिनापछि त नाथुराम गोड्सेले उनलाई सधैंका लागि विश्राम दिए, ३० जनवरी १९४८ मा ।

म त्यो दिनलाई कालो दिन भन्छु । गान्धी भन्ने गर्थे, अहिंसा र शान्ति नै मुलुको शक्तिशाली तरबार हो । त्यो दिन कुतुब मिनारमा पनि उनले यही भनेका थिए । जय हिन्द र बन्देमातरमको नारा गुन्जिएको थियो त्यो कार्यक्रममा । 

त्यो दिन महात्मा गान्धीले भनेका वाक्यहरु अहिले पनि सम्झिन्छु । उनले भनेका थिए, ‘तिमीहरु आफ्नै देशका लागि केही गर र मर देशका लागि । यदि विदेशमा छौ भने तिम्रो प्रथम कर्तव्य हुन्छ, देशका लागि केही गर्ने । तबमात्र तिमीहरु कसैको गुलाम हुनेछैनौँ । हिंसा र नाराले गुलामी निम्त्याउँछ । शान्ति, विश्वास, अहिंसासहितको देशप्रतिको कर्तव्यले नै सबै खाले खेलहरु जित्न सकिन्छ ।’

म भारतीय सेनामा थिएँ । एकपटक सरदार वल्लभभाइ पटेलले भनेका थिए, ‘कुनै पनि व्यक्ति देशको नागरिक तब हुन्छ, जब उसले देशका लागि सेवा गर्छ ।’ यो वाक्य सुन्दा मलाई लाज लाग्यो । म नेपाली युवा भएर विदेशी सैनिक भएको छु भन्ने लाग्यो । विदेशका लागि सेवा गरेको छु, विदेशीका लागि आफ्नो रगत, पसिना र जीवन अर्पण गर्दैछु, म कस्तो देशवासी हुँ भन्ने लाग्यो ।

तैपनि म भारतीय सेनामा थिएँ । अवसरहरु पाउँदै गएँ ।

गान्धीका विश्वास पात्र थिए नेहरु । उनी सन् १९४७ देखि सन् १९६४ सम्म भारतका प्रधानमन्त्री भए । मेरो सौभाग्य, सन् १९५५ देखि सन् १९५७ सम्म दुई वर्ष मैले प्रधानमन्त्री नेहरुको नीजि निवासमा सुरक्षाकर्मी भएर काम गर्ने मौका पाएँ । मेरो ड्युटी नेहरु निवासको मुख्य ढोकामा थियो । त्यहाँ म बन्दुकसाथ ड्युटीमा हुन्थेँ । मैले त्यति बेला सुनेको थिएँ– नेहरु विहान शौचालयमा धेरै समय बिताउँछन्, त्यहाँ नै दिनभरका योजना बुन्छन्, राति अबेरसम्म बस्छन्, काम गर्छन् ।

उनी काम गर्ने मान्छेलाई खुब माया गर्थे । 

एकदिन नेहरुले मलाई भने, ‘तिमी छुट्टीमा घर जानू, विवाह गर्नू र परिवारसहित फर्किनू । म तिम्रो परिवारलाई बस्ने निवासको व्यवस्था गर्नेछु ।’

भारतका प्रधानमन्त्री मसँग त्यो दिन खुलेर कुरा गरे । मलाई अन्य सैन्य साथीहरुले नेहरुको विश्वास पात्र भन्थे । म अचम्ममा पर्थे, उनी जतिबेलै काम गरिरहेका हुन्थे । उनको लेट नाइट लाइफ थियो । अनि विहान ८ बजे कोठाबाट बाहिर निस्कनु पर्ने बाध्यता पनि । उनको यो दैनिकी मैले नजिकबाट महसुस गर्न पाएँ । जब म उनलाई देख्थेँ, उनी अक्सर मानिसहरुलाई केही न केही निर्देशन दिइरहेका हुन्थे ।

मलाई मन परेको उनको सबैभन्दा राम्रो गुण भनेको उनी देशप्रति सतप्रतिशत बफादारी थिए, जिम्मेवार थिए । 

एउटा देशको इतिहासमा यस्ता राजनेताको भूमिका कतै न कतै हुनुपर्छ भन्ने लाग्छ मलाई । सही नेतृत्व राष्ट्रले अक्सर माग्ने गर्छ तर पाउन सक्दैन । त्यति बेला देश अल्मलिन्छ, देशमा हजार तन्त्र आउँछन्, बाद आउँछन्, लहर आउँछन् । अनि जनता वाक्क हुन्छन् । हो, सपना नदेखी पनि सुख हुँदैन, उनीहरु सपना देखाउन पनि छाड्दैनन् ।

000

फेरि लडाईंका ती दिनमा फर्किन्छु । यो भारत र चीनबीच सीमा क्षेत्रमा भएको लडाईंको कुरा हो । मैले लडाईंमा सुनको विस्कुटहरु जताततै छरेको देखेको थिएँ । चिनियाँहरु यस्तो गर्थे । उनीहरु सैनिकलाई लोभ्याउन सुनको विस्कुट छर्थे अनि टिप्न खोज्नेलाई गोली ठोक्थे ।

ती दिन मेरा एकजना साथी थिए, कुमाउका । म उनी पनि त नेपाली नै हुन् भनेर दंग पर्थेँ, खुसी हुन्थेँ । उनको नाम थियो– भीमसेन विष्ट । 

एक दिन उनले छाती फुकाएर भनेँ– म भारतीय हुँ । म खङ्रङ्ग भएँ । उनी भारतीय भएकोमा गर्व गर्थे । म गोर्खाली भएकोमा गर्व गर्थेँ । फरक हामीबीच भूगोलको पहिचानको थियो । 

समानता हामीबीच थियो– एउटा लडाईंका सिपाही । सन् १९६२ मा भारत–चीनबीचको लडाईंमा हामी दुवै जना नेफामा थियौँ । भारत–चीन सीमा क्षेत्र नेफामा करिब १३ दिन घमासान लडाईं भयो । कोही नेपाली गोर्खाली हुँ भनेर मरे त कोही नेपाली भारतीय हुँ भनेर मरे ।

नेपालीभाषी भए पनि फरक भूगोलको पहिचान बोकेका विवस पात्रमध्ये एक थिएँ म । किन्चित नडराई लडेँ । किनकि विदेशी भूमिका लागि लडे पनि म आफ्नै जमिनमा मर्नुछ भन्ने सोच्थेँ, यस्तो आँट कताकताबाट आउँथ्यो । लडाईंको १३ औं दिन दुवै पक्षबाट घमासान फायरिङ भएको थियो । वातावरण तनावपूर्ण थियो । त्यो दिन पनि मैले सुनका बिस्कुटहरु यत्रतत्र छरिएका देखेको थिएँ  ।

त्यही युद्धमा मेरो साथी भीमसेन विष्ट मारिए । 

उनी मारिएको केही दिनमा नै युद्ध सकियो । अनि बल्ल थाहा भयो, चिनियाँहरुले फालेको सुनको बिस्कुट त खासमा पित्तल रहेछ ! पित्तलको माथि हलुका जलप लगाइएको रहेछ ! चिनियाँहरुले भारतीय सिपाहीलाई उल्लू बनाएका रहेछन् !

यो अलिक पछिको कुरा हो । तिब्बतीहरुले मलाई सुनको बिस्कुट बक्सिसको रुपमा दिन खोजे । मैले एउटा पनि लिइनँ । अहिले सम्झँदा पनि मलाई त्यो घटना अचम्म लाग्छ । फेरि अहिले त यहाँ सरकार पूरै सुनको बिस्कुटमा फनफनी घुमिरहेको छ । इज्जतको रोटी खानुको मज्जा सायद कमैले महसुस गर्छन् । तर, त्यसैले त दिँदो रहेछ बुढेसकालमा भिन्न खुसी र आत्मसन्तुष्टि !

यो सन् १९५९ को प्रसंग हो । चीनको लगातार हस्तक्षेपछि दलाई लामा आफ्ना चेलाहरुसहित भागेर भारतीय भूमिमा छिरे । 

उनी शरणार्थीका रुपमा आएका थिए । उनीहरुलाई सुरक्षित रुपमा आसामको तेजपुरसम्म लैजाने जिम्मेवारी मेरो काँधमा आयो । एक लस्कर तिब्बतीहरु घोडा, खच्चरमा थिए । भोक र प्यासले रन्थनिएका थिए । ज्ञास र चिन्तमा आक्रान्त थिए ।

अनि त्यही बेला उनीहरुले बोराबाट सुनका बिस्कुट निकाल्दै हामीलाई हातमा राखिदिन्थे र भन्थे– हामीलाई खानेकुरा देउ । उनीहरु सुनको बिस्कुट चामलसँग, खानेकुरा सँग साट्न खोजेका थिए । ओहो, कस्तो विनिमय प्रणाली थियो त्यो !

तर, वफादार सैनिक, त्यसमाथि गोर्खाली कहाँ यस्ता कुरामा डग्थे, लोभिन्थे र ? उनीहरुले बाहिर निकालेका सुनका बिस्कुट हामीले पुनः बोराभित्र कोच्न लगायौँ । अनि टिनमा प्याक भएको हाम्रो ग्लुकोज बिस्कुट उनीहरुको हातमा राखिदियौँ । 

बिस्कुट खान पाएर उनीहरु खुब रमाए । हामीले दिएको बिस्कुट खान पाउने ती तिब्बती भाग्यमानी थिए, भारतीय भूमिमा पाइला टेकिसकेका थिए । कतिले त भारतीय भूमिमा पाइला नटेक्दै ज्यान गुमाइसकेका थिए । 

 

000
भारतीय नेताहरु भेट्न पाएको प्रसंग सम्झिँदा म भारतीय प्रधानमन्त्री इन्धिरा गान्धीलाई भेट्न पाएको क्षण पनि कहिल्यै बिर्सिन्नँ ।

यो सन् १९८० को कुरा हो । आसाम नागाल्याण्डस्थित ‘चाम्पाङ’ पोस्टमा कमान्डका रुपमा मेरो पोस्टिङ भयो । अनि त्यही बेला भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको नागाल्यान्८को ‘नगनीमारा’स्थित हेडक्वार्टर र चाम्पाङ पोस्ट भ्रमण गर्ने योजना बनेछ । यो सूचना मकहाँ आयो । 

यो मेरालागि ठूलो अवसर थियो । सँगसँगै ठूलो चुनौति पनि । देशकै प्रधानमन्त्रीको भ्रमण चाम्पाङ जस्तो सानो पोस्टमा व्यवस्थापन गर्नु चानचुने कुरो थिएन । मलाई अहिले पनि सम्झना छ, त्यति बेला मैले प्रधानमन्त्रीको भ्रमण व्यवस्थापन कसरी गर्ने होला भनेर लामो समय सोचेको थिएँ । मनमा डर पनि थियो– कतै केही भयो भने मेरो नाम र करिअर सबै खत्तम हुने त होइन ? 

समय थियो । एक महिनाअघि देखि नै म तयारीमा जुटेँ । त्यो भ्रमण सफल बनाउन योजनाहरु बनाएँ । कहिले रातभर निदाइनँ, सोचेरै रात कटाएँ । कार्यप्रगति तथा समस्या कसरी प्रस्तुति गर्ने होला, स्रोतसाधनको परिचालन कसरी गर्ने होला जस्ता विषय सोच्थेँ । 

१६ अगस्ट १९८० । भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी चाम्पाङ पोस्ट छिरिन् । 

अनि मलाई पहिलो प्रश्न गरिन्– जवानहरुलाई खानपिनको व्यवस्था कस्तो छ ? 

मैले जवाफ दिनै पाएको थिइनँ, उनी सरासर मेसतिर लागिन् र जवानको खाना चाख्न थालिन् । मैले त्यसमा उनलाई सहजीकरण गरेँ, प्रबन्ध मिलाएँ ।

उनले खाना चाखेपछि भनिन्– ए साहेब खाना अच्छा है, यिनको सप्ताहमे दोबार मिट जरुर खिलाइए । 

मलाई लाग्यो, उनी हरेक कुरामा माइक्रो लेभलसम्म पुग्ने रहिछिन् ।

त्यहाँ उनीसँग मैले चिया पिउन पाएँ । त्यति बेला एउटा फोटो खिचाउन पनि पाएँ । त्यो फोटो अहिले पनि मेरो एल्बममा सुरक्षित छ । हिजोआज जब म त्यो फोटो हेर्छु, म त्यही दिनमा पुग्छु, त्यही पुरानो दृश्य स्मरण गर्छु । एक भिन्न खुसी र आत्मसन्तुष्टी मिल्छ ।

 

000
जीवनको बाध्यता, भोगाइ र सिकाइबाट ममाथि देशप्रतिको दायित्वमा प्रश्नचिह्न खडा भइरह्यो । मलाई आत्मबोध भयो– युवाको जोश र रगतपसिना आफ्नै मुलुकमा बग्न जरुरी छ । म त ‘मजबुरी’मा विदेशिएको मान्छे, अहिले त धेरै युवाहरु रहरमा विदेशिएका छन् ।

त्यति बेला भारतीय सेनामा सेवा गर्नु परेको बाध्यतामा मैले कसम खाएको थिएँ– म आफ्ना छोराछोरीलाई असल शिक्षादिक्षा दिन्छु, नेपालकै सेवक बनाउँछु । उनीहरु सानै हुँदादेखि मैले भन्थेँ– बरु तिमीहरु आफ्नै देशमा भरिया बन, पढेर ठूलो मान्छे बन, देशको सेवा गर, असल नागरिक भएर ।

मलाई गर्व लाग्छ, त्यति बेला मैले गरेको तपस्या पूरा भएको छ । अहिले त म मेरा नातिनातिनालाई पनि देशकै सेवा गर्नुपर्छ है भन्दै सम्झाइरहेको छु । मलाई थाहा छु, जब युवा विदेशतिर पलायन हुन्छ, त्यो देश नराम्रोसँग बिग्रिएर जान्छ । यो त म अहिले पनि मेरै देशमा देखिइरहेको छु ।

आफ्ना डाँडापाखा, खेतघडेरी बाँझो छाडेर दुई मुठ्ठी सासका लागि विदेश पुगेका सम्पूर्ण युवालाई म भन्न चाहन्छु– तिमीहरु विदेशमा छौ भने त्यहाँबाट प्रचुर ज्ञान, सिप र अनुभव लिएर फर्क, आफ्नै देशका लागि केही गर, तिम्रो मृत्यु सार्थक हुन्छ ।
 

(२८ चैतबाट ९३ वर्ष लागेका घिमिरेले ३२ वर्ष भारतीय सेनामा काम गरे । याे संस्मरण उनले छाेरा अशाेकलाई सुनाएका हुन् ।)

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्