चीनमा देखिँदा फ्रान्समा पनि देखिइसकिएकाे थियाे कोरोनाभाइरस !

फ्रेन्च राजधानी पेरिसमा गत वर्षको २७ डिसेम्बरमा नै एक मानिसमा कोरोनाभाइरस संक्रमण भएको आशंका गरिएको छ । उनलाई त्यति बेला निमोनिया भएको थियो र उनको उपचार गरिएको थियो । तर, अब उनको उपचारमा संलग्न चिकित्सकले उनलाई कोरोनाभाइरस (कोभिड १९) पुष्टि भएको पाइएको बताएका छन् । 

पेरिसको एविेन तथा जीन वर्डियर अस्पतालका डाक्टर इभेन्स कोहेनले फ्रेन्च मिडियालाई यो जानकारी दिएका हुन् । उनले ती व्यक्तिको त्यति बेला लिइएको स्वाब अहिले परीक्षण गर्दा त्यसमा कोरोनाभाइरस देखिएको बताएका छन् । रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको उनले बताएका छन् ।

५० वर्षभन्दा बढी उमेरका यी व्यक्ति अब पूरै ठिक भइसकेका छन् । तर, उनमा कसरी कोरोनाभाइरस देखियो भन्ने अचम्मको विषय भएको चिकित्सकले जनाएका छन् । उनी त्यसअघि कोरोनाभाइरस संक्रमण देखिएको चीनको वुहानमा नगएको पनि पत्ता लागेको छ । 

अहिलेसम्म कोरोनाभाइरस सबैभन्दा पहिले चीनको वुहान सहरमा मानिसमा देखिएको मनिन्छ ।

अहिलेसम्म फ्रान्समा कोरोनाभाइरस संक्रमण चीनमा संक्रमण देखिएको एक महिनापछि पुगेको मान्दै आइएको छ । २४ जनवरीमा पहिलो पटक फ्रान्सले आफ्नो देशमा कोरोनाभाइरस संक्रमित भेटिएको जनाउँदै आएको थियो । यी व्यक्ति चाहिँ चीनको वुहानबाट फर्किएका थिए । 

डाक्टर कोहनले चाहिँ डिसेम्बरमा आफूले केही मानिसहरुमा फ्लू देखेको र त्यसको जाँच त्यति बेला पनि गरेको बताएका छन् । उनले यसबारे फ्रान्सको स्वास्थ्य विभागमा र अन्य विशेषज्ञहरुलाई पनि बताएको बताएका छन् ।



उनले यसबारे पूरै रिपोर्ट यो साताको अन्त्यमा एक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरिने पनि बताएका छन् ।



  • प्रकाशित मिति : वैशाख २३, २०७७ मंगलबार १२:३३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया