लकडाउन खुकुलो, अब के खुल्छ, सर्वसाधरणका लागि पनि केही फरक पारिएको छ ?
फाइल तस्वीर ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउन ५ जेठसम्मका लागि लम्ब्याइने भएको छ । तर, यहीबीच विकास निर्माणका कारण र उद्योगहरु खुल्न दिइने निर्णय पनि भएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेका बैठकले लकडाउनलाई ५ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि आह्वान गरिएको लकडाउन २५ वैशाखमा सकिँदै थियो । 

तर, अलिक खुकुलो भएको भनिएको अबको लकडाउनले सर्वसाधरणमा के फरक पर्छ त ? भन्ने प्रश्न उब्जिएको छ । सन्चारमाध्यमहरुमा अब लकडाउन खुकुलो हुने भन्दै समाचार आएपछि सामाजिक सन्जालमा अधिकांश व्यक्तिहरुले अब के फरक पर्छ भन्ने प्रश्न गरिरहेका छन् । 

खासमा यो लकडाउन खुकुलो हुँदा पनि सर्वसाधरणमा चाहिँ केही फरक पर्दैन । यसअघिको जस्तै अहिले पनि लकडाउन पूर्ण रुपमा चलिरहेको हुनेछ । 

तर, राष्ट्रिय गौरवका आयोजना, सिंचाई, जलविद्युत्, खानेपानी, विमानस्थल, सडक, पुल र सरकारी भवन निर्माणका काम चाहिँ अब सुचारु हुनेछन् । यस्तो हुँदा पनि एक ठाउँमा एकै पटकमा १० जनाभन्दा बढी मानिसहरु भेला हुन पाउने छैनन् । 

सरकारका प्रवक्ता एवं अर्थ तथा सन्चारमन्त्री डा. युवराज खतिवडाले दिएको जानकारीअनुसार यसरी काम गराउँदा कामदारको दैनिक जाँच गराउनु पर्नेछ । श्रमिकलाई खाजा र खानाको व्यवस्था पनि काम गर्ने ठाउँमा नै गर्नु पर्ने हुन्छ ।



अबको लकडाउनमा गिट्टी बालुवालगायतका निर्माण सामाग्री पनि ढुवानी गर्न दिइने भएको छ ।

अब काठमाडौं र बाहिरका पुस्तक पसलहरु पनि खुल्न पाउने छन् । तर, उनीहरुले जनक शिक्षा सामाग्री केन्द्रबाट पाठ्यपुस्तक बिक्रीको अनुमति लिनु पर्ने हुन्छ ।



विद्यालयका पुस्तक, कृषि उत्पादनका सामाग्री, विकास आयोजनाका निर्माण सामाग्री पनि अब खुल्न पाउने छन् । तर, बाहिरबाट आउने मालवाहक गाडीले यात्रुहरुलाई बोक्न पाउने छैनन् । मालवाहक गाडीमा भएका चालक र सहचालकलाई चाहिँ स्वास्थ्य जाँच गरेर मात्र काठमाडौंमा आउन दिइने छ ।

अब राजमार्गका होटलहरु पनि खुल्न पाउने भएका छन् । तर, ढुवानीका चालक र सहचालकलाई लक्षित गरेर खोलिन यस्ता होटलले खानाको प्याकेटमात्र बेच्न पाउने छन् । अनि यस्ता होटलहरु राजमार्गमा ५० किलोमिटरको दूरीमा मात्र खुल्न पाउने छन् ।

बैंक तथा वित्तिय संस्थाहरुले पनि अब एक तिहाई कर्मचारीलाई बोलाएर आफ्नो सेवा सुचारु गर्न पाउने छन् । 

यसअघि खाद्यान्न पसलहरु चाहिँ खोल्न दिने निर्णय भइसकेको छ । अब पनि शैक्षिक संस्था, तालिम तथा प्रशिक्षक केन्द्र, गैरखाद्य बिक्री गर्ने स्टोर र सपिङ मल, धार्मिक स्थलहरुमा भेला, रंगशाला, फुटसल, जिमखाना, शैलुन, होटल बार, यात्रुबाहेक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

  • प्रकाशित मिति : वैशाख २४, २०७७ बुधबार २१:३१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया