कोरोनासँग सम्बन्धित नेपालमा 'पहिलो मृत्यु'

धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएकी महिलामा कोरोनाभाइरस संक्रमण भएसँगै नेपालमा कोरोनाभाइरस सम्बन्धित पहिलो मृत्यु दर्ज भएको छ । विश्वभर कहर बनेको यो महामारीका कारण अहिलेसम्म नेपालमा कसैको पनि ज्यान गएको थिएन । 

तर, धुलिखेल अस्पताल र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला दुवैमा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै धुलिखेल अस्पतालमा मृत्यु भएकी महिला नेपालमा कोरोनाभाइरससँग मृत्यु हुने पहिलो व्यक्ति बनेकी छिन् । यसबारे केही समयमा स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गर्ने बताइएको छ ।

‘तर, उनको मृत्यु कोरोनाभाइरसकै कारण भएको हो या अरु नै कारणले हो भन्ने पुष्टि भइसकेको छैन,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले फरकधारलाई भनेका छन्, ‘धुलिखेल अस्पताल र यहाँको ल्याबमा उनको परीक्षण पोजेटिभ आएपछि उनमा कोरोनाभाइरस संक्रमण भएको चाहिँ प्रमाणित भइसक्यो ।’

योसँगै धुलिखेल अस्पतालमा उच्च सतकर्ता अपनाउनुका साथै महिलाको सम्पर्कमा आएका सबैलाई ट्रेसिङ गर्ने र परीक्षण गर्ने तयारी सुरु गरिएको छ ।

नेपालमा अहिलेसम्म २३ हजार ९ सय ३२ जनाको पिसिआर परीक्षण भइसकेको छ । यीमध्ये २ सय ७६ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । अनि अहिलेसम्म नेपालमा ३६ जनाले कोरोनाभाइरस संक्रमणलाई जितेका छन् ।

नेपालमा पहिलाे पटक काेराेनाभाइरस संक्रमण गत जनवरीमा देखिएकाे थियाे । पछिल्लाे समय उदयपुर र कपिलवस्तु नेपालमा सबैभन्दा बढी प्रभावित जिल्लाका रुपमा देखिएका छन् । 



अब प्रदेश २ का सबै जिल्लामा काेराेना संक्रमित भेटिएका छन् । कर्णाली प्रदेशमा अहिलेसम्म काेराेनाभाइरस संक्रमित भेटिएका छैनन् ।

 



  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार १६:१४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया